कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

के निको भइसकेका व्यक्तिमा फेरि कोरोना संक्रमण देखिन सक्छ ? 

बुनु थारु

काठमाडौँ — कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या दिनानुदिन बढ्दैछ । संक्रमितसँगै निको हुनेको संख्या पनि बढिरहेको छ । विश्वभर शनिबार बिहानसम्म संक्रमितको संख्या करिब २८ लाख पुगेको छ । जसमा निको हुनेको संख्या झन्डै ८ लाख रहेको छ ।

के निको भइसकेका व्यक्तिमा फेरि कोरोना संक्रमण देखिन सक्छ ? 

नेपाल पनि कोरोना भाइरसको संक्रमणमा अछुतो छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोना संक्रमितको संख्या ४९ रहेको छ जसमा ११ जना निको भएर घर फर्किएका छन् । संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन अवधिको बिहीबार एक महिना पुगेको छ ।

कोरोना भाइरसको संक्रमण विश्वको सबै ठाउँमा पुगिरहँदा यसको रोकथाम तथा नियन्त्रण कसरी होला भन्ने सबैको चासो रहेको छ । विश्वका ठूला राष्ट्रहरुले विभिन्न अनुसन्धान तथा अध्ययन गरिरहेका छन् । अमेरिका, बेलायतलगायतका देशहरुले खोप र औषधिहरु परीक्षण गरिरहेका छन् । यसैले पनि रोगको निदानको लागि आशा बढाएको छ ।

कोरोना संक्रमण भएर निको भइ घर फर्किएका वा हामी आम मानिसलाई कोरोनाको पुन: संक्रमण हुन्छ र? भन्नेमा जिज्ञासा हुन सक्छ ।

निको भइसेकाकालाई कोरोना संक्रमण हुन सक्छ या सक्दैन भन्ने विषयमा विभिन्न अध्ययनहरु भएका छन् तर यथेष्ट प्रमाण भने भेटिएका छैनन् । अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजका निर्देशक एन्थोनी फौसीले एक पत्रिकासँगको अन्तर्वातामा भनेका छन्, ‘जो मानिस कोभिड १९ बाट निको भइसकेका छन् उनीहरुमा सामान्तया केही महिनासम्म रोग प्रतिरोधात्मक क्षमता विकास भएको हुनुपर्छ ।’

अनुसन्धानकर्ता तथा जनस्वास्थ्य अधिकारीहरु अझै पनि सार्स भाइरसविरुद्ध मानिसको रोग प्रतिरोधात्मक क्षमताले कस्तो प्रतिक्रिया दियो र कोभिड–१९ बाट निको हुँदा दिगो रुपमा रोग प्रतिरक्षा प्रणाली विकसित हुन्छ या हुन्न भन्नेमा अनभिज्ञ छन् ।

केही समय पहिले दक्षिण कोरियाली एक रिपोर्टका अनुसार कोरोना संक्रमित भएर निको भएकालाई पनि फेरि पछि कोरोनाकै लक्षणहरु देखा परेको थियो । त्यसैगरी कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको वुहानमा पनि पुन: संक्रमण देखिएको भन्ने खबर आएका थिए । साउथ चाइना मोर्निङ पोस्टका अनुसार १० प्रतिशतसम्म परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएकामा पनि चीनमा पुन: संक्रमण देखिएको थियो । तर वैज्ञानिकहरुका अनुसार भाइरस पुन: देखिनु असम्भाव्य हो ।

फेबु्रअरीको अन्तिमतिर एक ४० वर्षीया महिलामा कोरोनाको उपचार गराएर घर फर्किएको १० दिनमा फेरि पोजिटिभ पाइएको थियो । उनी जापानको ओसाकाको एक हेल्थकेयर सेन्टरमा उपचार गराएर फर्किएकी थिइन् । त्यसैगरी जियांग्सु प्रान्तका एक चिनियाँ व्यक्ति पनि निको भएर घर फर्किएको ३ दिनपछि फेरि संक्रमण देखिएर भर्ना भएका थिए । पुन: संक्रमण देखिए पनि यो संख्या एकदमै न्यून रहेको छ ।

मेडिकल न्‍युज टुडेका अनुसार यिनिहरुलाई किन दोस्रोपटक कोरोना पोजिटिभ देखियो भन्न कठिन छ । जहाँसम्म सम्भावनाको कुरा गर्ने हो भने लक्षणहरु देखिन छाडिसकेपछि पनि शरीरमा डिटेक्टेबल मात्रामा भाइरसहरु रहन सक्छ ।

विश्व स्वास्थय संगठनले अहिलेसम्म निको भइसकेकोलाई पनि किन संक्रमण देखिन सक्छ वा सकिँदैन भन्ने कुनै ठोस प्रमाण नभेटिएको जनाएको छ । छिट्टै पुन: संक्रमण किन भएको भन्ने बारेमा अनुसन्धानकर्ता तथा वैज्ञानिकहरु कोभिड–१९ नयाँ भाइरस भएकाले यसको व्यवहारबारे बुझ्‍न धेरै समय तथा अध्ययन चाहिने बताएका छन् । संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘कोरोना नेगेटिभ पाइएकाहरुले छिट्नै नै पोजिटिभ टेस्ट देखिएको भन्ने यकिन जानकारी छैन, यसका बारेमा अझै धेरै अध्ययन आवश्यक देखिन्छ ।’

परीक्षणको विश्वसनीयता

शुक्रराज ट्रपिकल तथा सरुवा रोगका क्लिनिकल रिसर्च युनिटका संयोजक तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार केही देशमा पुन: संक्रमणका घटना देखिए पनि अहिले नै यसको कारण के हो भनेर यकिनका साथ भन्न नसकिने बताए । उनी भन्छन्, ‘लाखौँ मान्छे निको भएर घर फर्किएका छन्, केहीलाई यस्तो भएको होला तर फेरि भाइरस फर्कियो भनेर कम सुनिएको छ । परीक्षण गर्दा पनि केही फरक पर्न सक्छ होला । अनुसन्धान हुन जरुरी छ ।’

डा. पुनका अनुसार रोग प्रतिरोधात्मक क्षमता व्यक्तिले विकास गर्ने भएकाले त्यो मानिसमा दोस्रो पटक संक्रमण हुनुहुँदैन । त्यसैको आधारमा खोपहरु विकास भइरहेका होलान् ।

माथिका पुन: संक्रमित भएकामा अस्पतालबाट डिस्चार्ज भएपछि फेरि परीक्षण गरिएको हो । साउथ चाइना मोर्निङ पोस्टका अनुसार यसरी पुन: संक्रमित हुनु परीक्षण विश्वसनीय नभएर हुन पनि सक्छ जसले भाइरलाई राम्ररी डिटेक्ट गर्न सकिरहेको छैन ।

फ्रेन्च रिसर्च इन्स्टिच्युटका भाइरोलोजिस्ट ओलिभियर टेरियर भन्छन्, ‘भाइरसको कन्सन्ट्रेसन यी मानिसमा निकै नै कम भएको हुनुपर्छ जसले गर्दा परीक्षणमा डिटेक्ट भएनन् र फेरि देखिन पुग्यो ।’

बर्मिङ्घम युनिभर्सिटीको इन्स्टिच्युट अफ माइक्रोबायोलोजी एन्ड इन्फेक्सनका प्राध्यापक रोबिन मे भने यस विषयमा यस्तो तर्क राख्छन्, ‘भाइरस संक्रमण बेला बिरामीको शरीरमा एन्टिबडी विकास हुन्छ जुन संक्रमण गराएको भाइरससँग सम्बन्धित हुन्छ । उनीहरु जब निको हुन्छन् , एन्टिबडी हराइसकेको हुँदैन ।’ उनी भन्छन्, ‘यी मानिसमा पुन: संक्रमण देखिनु कारण उनीहरुको शरीरमा केही मात्रामा भाइरस छुटेको हुनुपर्छ ।’

रोग प्रतिरोधात्मक क्षमता

पुन: संक्रमण देखिनुको अर्को कारण हुन सक्छ शरीरको रोग प्रतिरोधात्मक क्षमता । भाइरोलोजिस्ट ओलिभियरका अनुसार यसरी पुन: संक्रमित देखिनुमा ती मानिसहरुमा रोग प्रतिरक्षा प्रणालीमा समस्या भएको हुुनुपर्दछ । त्यसैले उनीहरुले सही एन्टिबडी निर्माण गरेनन् । यसमा अझ धेरै अध्ययनको आवश्यकता रहेको उनी बताउँछन् ।

एन्टिबडी भनेको इम्युन सिस्टमले उत्पादन गर्ने प्रोटिन हो । जसले भाइरस, ब्याकटेरिया वा प्याथोजिन( रोग उत्पादन गर्ने जीव)लाई नष्ट गर्छ । यदि भाइरस फिर्ता आयो भने पनि एन्टिबडीहरु सामान्तया संक्रमणपछि रक्तप्रवाहमा सुस्त अवस्थामा रहिरहन्छन् । यदि सो भएको खण्डमा एन्टिबडी तयार र पर्खाइको अवस्थामा रहन्छ अर्थात इम्युन सिस्टमले यति छिटो प्रतिक्रिया जनाउँछ कि दोस्रो संक्रमण हुने सम्भावना एकदम कम हुन सक्छ ।

इम्पेरियल कलेज लण्डनमा भ्याक्सिनोलोजी विषयमा सिनियर क्लीनिकल रिसर्च शोधकर्ता रहेकी कट्रिना पोलक बीबीसीसँगको कुराकानीमा भन्छिन्, ‘यदि तपाईंमा यस प्रकारको संक्रमण देखिएको छैन भने तपाईंको प्रतिरक्षा प्रणालीले पहिलो प्रतिक्रियाका साथ प्रतिक्रिया जनाउँछ । जुन गैरविशिष्ट प्रतिरोधात्मक क्षमता हो, जसले संक्रमण रोक्न सहयोग पुऱ्याउँछ । तपाईंले कस्तो प्रतिरक्षा गर्नुहुन्छ भन्ने कुरा तपाईको आहार, तपाईंको आनुवांशिक पृष्ठभूमि र नयाँ संक्रमणसँग जुध्न सक्ने प्रतिरोधात्मक क्षमतामा निर्भर हुन्छ । यो कुरा हाम्रो स्वास्थ्य तथा उमेरले फरक पार्ने गर्दछ ।’

स्पेनका जैविक प्रविधिसम्बन्धी राष्ट्रिय केन्‍द्रका भाइरोलाजिस्ट लुई इन्वानेसका अनुसार कम्तीमा १४ प्रतिशत बिरामीमा कोरोनाको पुन: संक्रमण देखा परेको छ । उनी भन्छन्, ‘यो फेरि सङ्क्रमण नभई पुरानै भाइरस फेरि बल्झिएको हो कि !’ उनका अनुसार रोग प्रतिरोधी क्षमता घट्दा शरीरमा रहेका भाइरस बल्झिन सक्छ ।

व्यक्तिगत इम्युनिटी मात्र होइन ‘हर्ड इम्युनिटी’ले पनि रोगसँग लड्न सक्ने क्षमता कायम गराउँछ । हर्ड इम्युनिटी भनेको जनसंख्याको निश्चित प्रतिशतमा संक्रामक रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता विकसित हुनु हो । यो इम्युनिटिले रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई मात्र सुरक्षा दिँदैन यसले भाइरसको संक्रमण सुस्त र संक्रामक रोग फैलिन सहयोग गराउँछ ।

अध्ययनकर्ताहरु अझै पनि इम्युन सिस्टमले कोरोना भाइरसँगको विरुद्धमा कसरी प्रतिक्रिया जनाउँछ भनेर थाहा पाइसकेका छैनन् साथै निको भएकालाई पनि पुन: किन देखिन्छ भनेर यकिनका साथ भन्न सकेका छैनन् । विज्ञहरुका अनुसार सावधानी अपनाउन फिजिकल डिस्टेन्सिङ र सेल्फ क्वारेन्टाइन नै उत्तम उपाय हो ।

प्रकाशित : वैशाख १३, २०७७ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?