कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वआईजीपी खनालले सांसद यादवको अपहरण गरेका हुन् ?

सांसद यादवसँगै काठमाडौं आएको हुँ, यसलाई अपहरण भन्न मिल्दैन : खनाल
मातृका दाहाल

काठमाडौँ — सामाजिक सञ्जाल दुरुपयोगको अभियोगमा पूर्वसचिव भीम उपाध्याय बुधबार साँझ ललितपुरबाट पक्राउ परे । उनीमाथि विद्युतीय कारोबार ऐनले बर्जित गरेका सामग्री फेसबुक र ट्विटरमार्फत सार्वजनिक गरेको अभियोग लगाइएको छ । उपाध्याय अहिले प्रहरी हिरासतमै छन् ।

पूर्वआईजीपी खनालले सांसद यादवको अपहरण गरेका हुन् ?

बिहीबार नै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल प्रहरीका एक पूर्व आईजीपीमाथि आफ्ना सांसद डा. सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको आरोप लगाएका छन् । पार्टी विभाजनको सम्भावित हल्ला चलेपछि यादवलाई प्रहरी लगाएर जबर्जस्ती काठमाडौं ल्याइएको आरोप लगाइएको छ । त्यही मेसोमा बिहीबार पूर्वप्रधानमन्त्री भट्टराईले एक पूर्व आईजीपी भनेर उल्लेख गर्दै अपहरणकारीको संज्ञा दिएका छन् । उनले संकेत गरेका ती प्रहरी अधिकारी निवर्तमान आईजीपी सर्वेन्द्र खनाल भएको भट्टराईनिकट स्रोतले बतायो । भट्टराईकै स्वकीय सचिवसमेत रहेका समाजवादी पार्टीका प्रचार विभाग उप–प्रमुख विश्वदीप पाण्डेले पनि पूर्व आईजीपी खनाल सांसद यादवको अपहरणमा संलग्न भएको आरोप लगाएका छन् ।

पूर्वआईजीपी खनालले नेकपा सांसदद्वय बस्नेत र श्रेष्ठसँग महोत्तरी गएको, समाजवादीका सांसद यादवको घरमा गएर खाना खाएको बताए । ‘समाजवादीका सांसद यादव, अर्का सांसद उमाशंकर अरगरीया तथा नेकपाका २ सांसदसँगै म काठमाडौं आएको हो । काठमाडौं आउनुअघि सांसद यादवकै घरमा खाना पनि खाएका हौं,’ खनालले भने, ‘तर यसलाई पूर्वप्रधानमन्त्री भट्टराईले अपहरणको रुपमा चित्रण गर्नु अशोभनीय हो ।’ समाजवादी पार्टीका थुप्रै नेता कार्यकर्तासँग आफ्नो पुरानो चिनजान रहेको तथा आफ्ना हितैषीको रुपमा नेकपा सांसद किसान श्रेष्ठ र महेश बस्नेतसँग लकडाउनमा अलपत्र परेकालाई केही सहयोग गर्न सकिन्छ कि भनेर आफू तराई मधेसतिर गएको उनले बताए ।

खनालसँगै बिहीबार बिहान काठमाडौं आइपुगेका समाजवादी पार्टीका सांसद यादव र अरगरीया नक्सालस्थित मेरियट होटेलमा केहीबेर बसेका थिए । निवेदन दर्ता हुनुअघि समाजवादीबाट अलग्गिएर छुट्टै दल दर्ता गर्ने तयारीका साथ उनीहरु काठमाडौं आएका थिए । यही प्रकरणमा सांसद यादवसहितको टोलीलाई ल्याउन सरकारकै निर्देशनमा पूर्वआईजीपी खनाललाई प्रयोग गरिएको आरोप लागेको छ ।

भट्टराई र पाण्डेले लगाएको आरोपलाई बल पुग्ने गरी जिल्ला प्रहरी कार्यालय महोत्तरी स्रोतले पनि सांसद यादवलाई लकडाउनका बेला काठमाडौं ल्याउन पूर्वआईजीपी खनाल बर्दिबास पुगेको बतायो । खनालसँगै नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ पनि महोत्तरी पुगेका थिए । यही प्रकरण अहिले ‘अपहरण’ सँग जोडिएको विषय बनेको छ । के अब प्रहरीले यस प्रकरणमा सासंद यादवलाई जबर्जस्ती ल्याउनेमाथि अनुुसन्धान गर्छ त ? प्रधानमन्त्रीको ओहदामा समाजवादी पार्टीका सांसद भट्टराईले लगाएको अपहरणको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ ? नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले साइबर अपराधसम्बन्धी अनुसन्धान गर्ने निकायसँगै बुझ्न आग्रह गरे । एसएसपी जोशीले भने, ‘साइबर ब्युरोसँग यस विषयमा बुझ्नुहोला । मलाई यस विषयमा तलबाट केही रिपोर्ट आएको छैन ।’

तर साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्याल यो विषय आफ्नो नोटिसमा नरहेको र थप विषय केन्द्रीय प्रवक्तासँगै बुझ्न भन्दै पन्छिए । ‘पूर्वसचिव उपाध्यायविरुद्ध उजुरी परेपछि पक्राउ गरिएको हो तर तपाईंले भनेको विषय हामीलाई जानकारीमा आएको छैन ।’

एकले अर्कालाई देखाएर प्रहरी अधिकृतहरु पन्छिन खोजे पनि यो मामिला जटिल देखिन्छ। पूर्वआईजीपी खनालको भूमिका र पूर्वप्रधानमन्त्री भट्टराईले लगाएको आरोप दुवैमाथि अनुसन्धान हुनुपर्छ। यदि खनालको अपराध र त्यसमा संलग्नता नदेखिएको खण्डमा पूर्वप्रधानमन्त्री भट्टराईमाथि पनि छानबिन हुनुपर्ने एक पूर्व प्रहरी अधिकृत बताउँछन्। उनी सांसद यादवलाई जबर्जस्ती ल्याउन खटिएका भनिएका सांसद श्रेष्ठ र बस्नेतमाथि पनि छानबिन हुनुपर्ने बताउँछन्।

प्रकाशित : वैशाख ११, २०७७ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?