कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

क्वारेन्टाइनको दुर्दशा : सुत्ने कोठामै शौच गर्नुपर्ने बाध्यता

तृप्ति शाही

बैतडी — बैतडी सदरमुकामको जगन्नाथ बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनमा बसेकाहरू सुत्ने कोठामै शौच गर्नुपर्ने बाध्यतामा छन् । दुर्गन्धले उनीहरू राम्ररी निदाउनसम्म सक्दैनन् ।

क्वारेन्टाइनको दुर्दशा : सुत्ने कोठामै शौच गर्नुपर्ने बाध्यता

कर्मचारीहरू बेलुकी ८ बजेतिर बाहिरबाट ताला लगाएर जाने गरेकाले कोठामै दिसापिसाब गर्न बाध्य भएको दशरथचन्द नगरपालिका–६ सुकुटीका योगेशराम लुहारले बताए । ‘सबै कोठामा ताला लाग्छ । राति एक जनाले भित्रै ट्वाइलेट गर्दिनुभयो । दुर्गन्धले नाक थुनेर बस्दा निदाउनै पाइएन,’ उनले भने । कर्मचारीहरूले बोतलमा पिसाब गर्नू भन्ने गरेको उनले सुनाए ।

उनीहरू एकै कोठामा आठ जनासम्म कोचिएर बसेका छन् । सबै जनालाई एउटै ट्वाइलेट र बाथरुम छ । त्यो पनि दिउँसो मात्र प्रयोग गर्न पाइन्छ । सबैले एकै शौचालय प्रयोग गर्नुपर्ने अवस्था रहेको दशरथचन्द–७ का केशवदत्त बडूले बताए । उनका अनुसार भारतबाट आएका र महेन्द्रनगरबाट फर्केका विद्यार्थीलाई एकै ठाउँ राखिएको छ । ‘आफ्नै वडाको क्वारेन्टाइनमा बस्छौं भनेर आएका थियौं,’ बडूले भने, ‘६ दिन वडामा राखेर सदरमुकाम ल्याइएको हो ।’ सदरमुकाममा ल्याएपछि आफूहरूले झन् असुरक्षा महसुस गरेको उनले गुनासो गरे ।

क्वारेन्टाइनमा तीन कोठा छन् । ३ महिला र १३ पुरुष भौतिक दुरी कायम नगरी बसिरहेका छन् । साबुन र तौलियाको पनि राम्रो व्यवस्था नरहेको नक्तडीका मनोज पन्तले बताए । ७ दिनदेखि त्यहाँ बसिरहेका उनले राति शौचालय जान नपाएको गुनासो गरे । ‘भित्रै बाल्टिनमा गर्नू भन्ने गरेका छन्,’ उनले भने, ‘त्यसैले त्यहीँ गर्ने गरेका छौं ।’ दुर्गन्धले रातभरि सुत्नै नसकिने अवस्था रहेको पन्तले सुनाए ।

बाहिरबाट ताला लगाइदिँदा क्वारेन्टाइनमा बस्नेहरूले बाल्टिनमा शौच गर्नुपरेको गुनासो गरेको अनुगमनमा खटिएकी दशरथचन्द नगरपालिकाकी उपप्रमुख मीना चन्दले बताइन् । उनका अनुसार अन्यत्रका क्वारेन्टाइनमा राति भागेर जाने समस्या देखिएको भन्दै त्यहाँ पनि कर्मचारीहरूले बाहिरबाट ताला लगाइदिने गरेको पाइएको छ । ‘आइन्दा त्यस्तो नगर्न भनिएको छ,’ उनले भनिन्, ‘नगरपालिकाले क्वारेन्टाइनको व्यवस्थापन गरेको छ, कमीकमजोरी सच्याउँदै जानेछौं ।’

सुरक्षा र स्वास्थ्यका हिसाबले फरकफरक स्थानमा राख्दा गाह्रो भएकाले सरकारको निर्णयअनुसारै वडामा रहेकाहरूलाई पनि सदरमुकामकै क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । क्वारेन्टाइनमा बसेकाहरूले भित्रै दिसापिसाब गर्नुपरेको विषयमा आफूले बुझ्ने उनको भनाइ छ ।

प्रकाशित : वैशाख ११, २०७७ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?