कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

द्रुत परीक्षण नै सुस्त

पीसीआरमा दुई जनाको नतिजा ‘शंकास्पद’
कलेन्द्र सेजुवाल

काठमाडौँ — सरकारले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको परीक्षण थाले पनि कर्णालीमा यसको गति निकै सुस्त छ । संघीय सरकारले करिब एक साताअघि कर्णालीका लागि ५ हजार आरडीटी किट पठाएको थियो । तीमध्ये ३ हजार ७ सय ६० किट जिल्ला स्वास्थ्य कार्यालयमा पुगेका छन् । डोल्पाका लागि पठाइएका किट भने अझैसम्म पुग्न सकेको छैन ।

द्रुत परीक्षण नै सुस्त

बुधबार दिउँसोसम्म ७ सय ८७ जनाको मात्र परीक्षण भएको छ । तीमध्ये ४ सय ६२ सुर्खेतका छन् । सुर्खेत जिल्ला स्वास्थ्यलाई सबैभन्दा बढी एक हजार किट दिइएको छ । प्रदेश स्वास्थ्य निर्देशक रीता भण्डारीले परीक्षण भएका सबै रिपोर्टमा कोरोना ‘नेगेटिभ’ देखिएको बताइन् ।

आरडीटीबाट परीक्षण सुस्त हुनुमा कर्णालीको भौगोलिक अवस्था प्रमुख कारक हो । हुम्ला, मुगु, डोल्पाका गाउँ पुग्न सदरमुकामबाट करिब ४–५ दिनसम्म लाग्ने गर्छ । हुम्लाका जिल्ला स्वास्थ्य प्रमुख डा. टासी लामाले सोमबारदेखि चारवटा टोली गाउँ पठाए पनि ८० जनाको मात्र परीक्षण भएको बताए । ‘उत्तरी क्षेत्रमा गएका दुईवटा टोलीसँग त सम्पर्कै हुन सकेको छैन,’ उनले भने, ‘हामीले जहाँबाट फोन सम्पर्क हुन्छ, त्यहीँ पुगेर रिपोर्ट टिपाउनु भनेका छौं ।’

डोल्पाका जिल्ला स्वास्थ्य प्रमुख डा. सिजन रावलले दुई दिनअघि सुर्खेतबाट किट पठाइएको जानकारी आए पनि हालसम्म जिल्लामा आइनपुगेको बताए । ‘अहिलेसम्म आएकै छैन, आइहाले पनि गाउँमा पठाएर कहिले रिपोर्ट आउने हो थाहा छैन,’ उनले भने, ‘भौगोलिक विकटताका कारण परीक्षणमा निकै समस्या हुनेवाला छ ।’ जिल्ला सदरमुकाम दुनैबाट उपल्लो डोल्पाका बस्तीमा जान करिब ५–६ दिनसम्म लाग्ने गर्छ । त्यहाँका बस्ती पातलो भएकाले आरटीडी परीक्षण र स्वाब संकलनमा समेत निकै सास्ती हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

मुगुमा १ सय ४० किट पठाइएकामा ८ जनाको मात्र परीक्षण भएको छ । प्रदेश राजधानीसँग नजिक पर्ने दैलेखमा पनि २१ जनाको मात्र परीक्षण भएको छ । त्यहाँ ४ सय २० किट पुगेका छन् । सुर्खेतपछि सबैभन्दा बढी ६ सय किट सल्यानमा पठाइएका छन् । दुई दिनअघि किट पुगे पनि २३ जनाको मात्र परीक्षण भएको जिल्ला स्वास्थ्य प्रमुख डा. अर्जुन बुढामगरले बताए । कालीकोटमा ४ सय किट पठाइएकामा ६०, जुम्लामा २ सय किट पठाइएकामा ५०, जाजरकोटमा ३ सय किट पठाइएकामा ७० र रुकुम पश्चिममा ३ सय किट पठाइएकामा १३ जनाको मात्र परीक्षण भएको छ ।

प्रदेश सरकारले भारतलगायत संक्रमित मुलुकबाट आएका व्यक्तिलाई घरदैलोमै पुगेर आरडीटी गर्ने योजना बनाएको छ । प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले भौगोलिक विकटता भए पनि जनशक्तिको व्यवस्थापन राम्रोसँग गरिएकाले अब काम तीव्र हुने बताए ।

पीसीआर गर्न बाहिरको भर

चैत २० गतेदेखि पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण थालिए पनि क्षमता कम हुँदा संकलन भएका स्वाब काठमाडौं र धनगढी पठाउनुपर्ने बाध्यता रहेको छ । बुधबारसम्म प्रदेशका विभिन्न जिल्लामा ८ सय ६८ स्वाब संकलन भएकामा सुर्खेतमा १ सय ४३ को मात्र परीक्षण भएको छ । ६ सय १७ नमुना काठमाडौं र ९९ नमुना धनगढी पठाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले बताए । उनका अनुसार काठमाडौं पठाइएका सबै स्वाबको नतिजा ‘नेगेटिभ’ आएको छ । धनगढी पठाइएका ५५ नमुनाको रिपोर्ट आउन बाँकी छ । आएकामध्ये दुई जनाको स्वाबको नमुना शंकास्पद देखिएकाले थप परीक्षणका लागि काठमाडौं पठाइएको सामाजिक विकासमन्त्री रावलले बताए ।

कर्णालीमा स्वास्थ्य सेवाको दृष्टिले सबैभन्दा मजबुत रहेको जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पीसीआर मेसिन माग गरेको छ । मेसिन आएमा जुम्लाका साथै कालीकोट र मुगुको स्वाब परीक्षणमा तीव्रता दिन सकिने प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्ले बताउँछन् । ‘हामीसँग पर्याप्त पूर्वाधार र जनशक्ति रहेको छ, तर मेसिन नहुँदा कोरोनाविरुद्ध अभियानमा सोचेजसरी काम गर्न सकिएको छैन,’ उनले भने, ‘मेसिन नहुँदा स्वाब संकलन गरेर काठमाडौं वा सुर्खेत पठाउनुपर्ने बाध्यता छ ।’

कर्णाली प्रदेश सरकारले पनि थप दुईवटा पीसीआर मेसिन माग गरेको छ । सामाजिक विकासमन्त्री रावलले कम्तीमा दिनमा एक हजार जनाको स्वाबको नमुना परीक्षण गर्न सक्ने क्षमता महसुस भएको बताए । हालको मेसिनले दैनिक १२ वटा नमुना मात्र परीक्षण गर्न सक्छ । संघीय स्वास्थ्य मन्त्रालय र त्रिभुवन विश्वविद्यालयसँग मेसिन उपलब्ध गराउन अनुरोध गरिएको उनले बताए ।

दुई जनाको स्वाब ‘शंकास्पद’

कर्णाली प्रदेशमा दुई जनाको ‘पीसीआर’ परीक्षणमा नतिजा शंकास्पद देखिएको छ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले रुकुम पश्चिमका ती व्यक्तिको स्वाबको नमुना पुन: परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको बताए । उनका अनुसार ३६ वर्षीय ती व्यक्ति भारतबाट आएका हुन् । उनीहरूको स्वाबको नमुना चैत ३० गते संकलन गरी धनगढीस्थित पीसीआर परीक्षण प्रयोगशालामा पठाइएको थियो । ‘नमुनामा नतिजा शंस्कास्पद देखिएको छ,’ उनले भने, ‘थप परीक्षणका लागि काठमाडौं पठाइसकिएको छ ।’

मकवानपुरमा पनि परीक्षण सुस्त

मकवानपुरमा पनि आरडीटी किटबाट कोरोना भाइरस संक्रमणको परीक्षणमा ढिलासुस्ती भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले वाग्मती प्रदेश सरकारबाट प्राप्त आरडीटी किटबाट परीक्षण सुरु गरेको तेस्रो दिनसम्मा जम्मा २८ जनाको मात्र परीक्षण गरिएको छ । हालसम्म सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख प्रणय उपाध्यायले बताए ।

उनका अनुसार स्रोत साधन र दक्ष जनशक्तिको अभावमा आरडीटी परीक्षणमा ढिलाइ भएको हो । ‘हामीसँग जम्मा दुई जना मात्र छन् । उहाँहरूले मात्र परीक्षण गरिरहनुभएको छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीईको पनि कमी छ । हामीले चाहेर पनि छिट्टो गर्न सकेका छैनौं ।’ उनका अनुसार पहिलो चरणमा क्वारेन्टाइनमा रहेका र विदेशबाट फर्किएर आएकाहरूको मात्र परीक्षण गर्ने तयारी गरे पनि आरडीटी किट अपुग हुन्छ । मकवानपुरका १० स्थानीय तहमध्ये तीनवटामा मात्र परीक्षण सुरु भएको छ ।

प्रदेश सरकारबाट जिल्लामा तीन सय आरडीटी किट उपलब्ध भएको थियो । विदेशबाट फर्किएका, क्वारेन्टाइन र आइसोलेसनमा बसेकाको मात्र परीक्षण गर्न पनि पाँच सयभन्दा बढी किट आवश्यक पर्ने कार्यालयले जनाएको छ । हालसम्म विदेशबाट फर्किएका ४ सय ९७ जनालाई उच्च निगरानीमा राखिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए । प्रदेश सरकारले १३ वटै जिल्लामा यसै साता आरडीटी किटबाट परीक्षण सक्ने घोषणा गरे पनि जिल्लाहरूको तयारीअनुसार ढिला हुने देखिन्छ ।

प्रकाशित : वैशाख ४, २०७७ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?