कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनमा बलात्कारका घटना ४०

सामाजिक अपराध, कर्तव्य ज्यानसम्बन्धी अपराध र संगठित अपराधका घटनामा उल्लेख्य कमी
जनकराज सापकोटा

काठमाडौँ — मुलुकमा लकडाउन सुरु भएपछिका १६ दिनमा बलात्कारका ४० वटा घटना प्रहरीमा दर्ता भएका छन् । दर्ता भएका जबर्जस्ती करणीका घटना ११ वटा छन् । सामाजिक अपराध, कर्तव्य ज्यानसम्बन्धी अपराध र संगठित अपराधका घटनामा भने उल्लेख्य कमी आएको छ ।

लकडाउनमा बलात्कारका घटना ४०

प्रहरी प्रधान कार्यालयका अनुसार यी १६ दिनमा डकैती र संगठित अपराधका घटना शून्य देखिन्छ । कर्तव्य ज्यानसम्बन्धी अपराध र अन्य सामाजिक अपराधका घटना अघिल्लो महिनाको तुलनामा लकडाउनपछि नगन्य भएका छन् ।


चालु आर्थिक वर्षका आठ महिनामा बलात्कारका १४ सय २९ र जर्बजस्ती करणी उद्योगका ४ सय ५९ घटना प्रहरीमा दर्ता भएका थिए । यो संख्यालाई आधार मान्दा औसतमा प्रत्येक दिन बलात्कारका ६ र जर्बजस्ती करणी उद्योगका २ घटना हुने गरेको देखिन्छ । यस आधारमा भने लकडाउनका १६ दिनमा बलात्कारका घटना कम भएका छन् ।

प्रहरीको व्यापक निगरानी र अधिकतर मानिस घरभित्रै हुनाले पनि अपराधका घटनामा उल्लेख्य कमी आएको छ । –उमेशराज जोशी, प्रहरी प्रवक्ता

प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले लकडाउनका बेला बलात्कारका घटना सहरी क्षेत्रमा शून्यप्राय: रहेको तर दूरदराजका गाउँमा भएको बताए । उनले भने, ‘धेरैजसो मानिस परिवारका सबै सदस्यसँगै बसेकाले पनि यस्ता घटनामा कमी आएको छ,’ उनले भने ।


लकडाउनका १६ दिनमा २४ जनाले विष खाएर र १ सय ६८ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । यसअघि फागुन महिनामा मात्रै ९६ जनाले विष खाएर र ३ सय ९ जनाले झुन्डिएर आत्महत्या गरेका थिए ।


चालु आर्थिक वर्षका ८ महिनामा विष सेवन गरेर ६ सय ९० र झुन्डिएर २ हजार ७ सय ८५ ले आफ्नो जीवन समाप्त पारे । यसलाई आधार मान्दा नेपालमा दिनमा औसत ३ जनाले विष सेवन गरेर र १२ जनाले झुन्डिएर प्राण त्याग्ने गर्छन् । लकडाउनमा भने विष सेवन र आत्महत्याको दरमा उल्लेख्य कमी देखिएको छ ।


लागूऔषध किनबेच र ओसारपसारका घटनामा पनि यो अवधिमा उल्लेख्य कमी आएको छ । फागुनमा लागूऔषध किनबेचका ३ सय २५ घटना भएका थिए भने लकडाउनका १६ दिनमा यो संख्या ३८ मा सीमित भएको छ । जबकि चालु आर्थिक वर्षका ८ महिनामा लागूऔषध किनबेच र ओसारपसारका २ हजार ३ सय ५४ घटना भएका थिए । यस्ता घटना औसतमा दिनमा १० वटा हुने गरेको थियो । लकडाउन नभएको भए यी १६ दिनमा एक सय ६० वटा लागूऔषध किनबेचका घटना भइसकेका हुन्थे ।


चालु आर्थिक वर्षका आठ महिनामा साधारण चोरीका १ हजार ६ सय ७१ घटना भएका थिए । अर्थात् औसतमा दैनिक ७ वटा साधारण खालका चोरी हुने गर्छन् । फागुनमा मात्रै यस्तो चोरीका घटना एक सय ८८ वटा भएका थिए । लकडाउनका १६ दिनमा यस्ता घटना स्वाट्टै घटेर १४ मा सीमित भएको छ । अघिल्लो महिना मात्रै काठमाडौं उपत्यकाका तीन जिल्लामा साधारण चोरीका घटना ५४ वटा भएका थिए । लकडाउनका बेला उपत्यकामा साधारण चोरीको घटना एउटा मात्रै भएको छ ।


आकस्मिक घटनाबाट व्यक्तिको ज्यानै जाने परिस्थिति हाम्रा निम्ति नियमित जस्तै देखिन्छ । चालु आर्थिक वर्षका ८ महिनामा दिनमा औसत ११ जना व्यक्तिको ज्यान भवितव्यले गएको देखिन्छ । फागुनमा मात्रै २ सय ९७ जनाको ज्यान भवितव्यबाट गएको थियो । लकडाउनले मानवीय गतिविधि कम भएपछि यस्ता घटनामा उल्लेख्य कमी आएको छ । १६ दिनमा ८८ जनाको ज्यान भवितव्यका कारण गएको छ । सामान्य अवस्था हुन्थ्यो भने यतिका दिनमा करिब एक सय ७६ जनाको ज्यान गइसकेको हुन्थ्यो ।


लकडाउनमा सरकारले आकस्मिक बाहेकका सबै सवारी साधन बन्द गराएको छ । तर अत्यावश्यक कारण देखाउँदै निजी सवारीमा हुइँकिने क्रम जारी छ । आइतबार अपराह्नसम्म मात्रै लकडाउन उल्लंघन गर्दै हिँडेका २ सय ३५ मोटरसाइकल र १३ चार पाङ्ग्रे गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लियो ।


लकडाउनका १६ दिनमा सवारी दुर्घटनाका कारण ३२ जनाले ज्यान गुमाए । चालु आर्थिक वर्षका ८ महिनामा मात्रै यसरी ज्यान गुमाउनेको संख्या १३ सय ६८ थियो । सामान्य अवस्थामा दिनमा औसत ६ जनाको सवारी दुर्घटनामा ज्यान जाने गरेको देखिन्छ । सामान्य अवस्था हुन्थ्यो भने १६ दिनमा करिब ९६ जनाले ज्यान गुमाइसकेका हुन्थे ।


प्रहरी प्रवक्ता एसएसपी जोशीले प्रहरीको व्यापक परिचालन र विषम परिस्थितिका कारण पनि अपराधका घटनामा उल्लेख्य कमी आएको बताए । उनले सामान्य अवस्थामा भन्दा पनि कडासँग अपराधका घटनामाथि निगरानी भइरहेको जानकारी दिए । ‘प्रहरीको व्यापक निगरानी र अधिकतर मानिस घरभित्रै हुनाले पनि अपराधका घटनामा उल्लेख्य कमी आएको छ,’ उनले भने ।

प्रकाशित : वैशाख १, २०७७ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?