कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिरीमा यस्तो छ कोरोना निगरानी 

राजेन्द्र मानन्धर

(जिरी) दोलखा — मूल नाकामै भेटिए जिरी नगरपालिकाका कर्मचारी पृथ जिरेल । उनले निधारमा थर्मल गन ताक्दै भने, ‘जिरी आउने जोकोहीलाई ज्वरो नापेर मात्र प्रवेश गराउँछौं ।’
उपकरणले ९६ दशमलव ४ डिग्री देखाएकाले प्रवेश अनुमति मिल्यो । ज्वरो देखिएको भए सिधै जिरी अस्पताल जानुपर्थ्यो । कि त त्यहीँबाट फर्कनुपर्थ्यो ।

जिरीमा यस्तो छ कोरोना निगरानी 

‘अहिलेसम्म जिरी शान्त छ । कोभिड–१९ बाट सुरक्षित पनि छ,’ मेयर टंक जिरेलले भने, ‘बाहिरबाट आउनेलाई होसियारीपूर्वक प्रवेशको व्यवस्था गरिएको छ, नगरभित्र बसिरहेकालाई नियमित निगरानी भइरहेको छ ।’

सदरमुकाम चरिकोटबाट ५५ किमि पूर्वमा पर्ने जिरी सगरमाथाको प्रवेशद्वार मानिन्छ । तर अहिले विदेशी वा स्वदेशी पर्यटक नगरभित्र देखिँदैन । पहिल्यैदेखि काम गरिरहेका केही मजदुर, कर्मचारी र सुरक्षाकर्मी फाट्टफुट्ट छन् ।

कोभिड–१९ विरुद्ध प्रतिकार्यमा खट्नुपर्ने कर्मचारीहरू सामाजिक तथा भौतिक दूरी कायम गरेर काम गरिरहेका हुन्छन् । यहाँको ऐतिहासिक बजार हाटडाँडा शून्य र शान्त देखिन्छ । लाग्छ, लकडाउन परिपालनामा स्थानीय सचेत छन् । लिङ्कन बजारको फराकिला सडकछेउका घरहरूबाट केही मानिस बाहिर चिहाइरहेका देखिन्छन् । कोही छतमा बसेर घाम तापिरहेछन् ।

लिङ्कन बजारका फुटपाथ हरिया बिरुवाले थप सुन्दर बनाएका छन् । कुनै बेला सगरमाथा आरोहीहरू बास बस्ने होटल अहिले बन्द छन् । चौँरीका चिज र छुर्पी बिक्री केन्द्र अनि रेस्टुराँमा ताला ठोकिएका छन् ।

घर नहुने, सडकमै गुजारा गर्नेहरूका लागि नगरपालिकाले तोकिएको होटलमा खानाको व्यवस्था गरिदिएको छ । यसका लागि उनीहरूले नगरमा नाम भने दर्ता गराउनुपर्छ ।

बसपार्कबाट तीन सय मिटरजति दक्षिणतिर ओरालो झर्दा जिरी अस्पतालको मूल ढोका आउँछ । ढोकैमा ज्वरो क्लिनिक खडा गरिएको छ । ज्वरो जाँचपछि मात्रै अस्पतालभित्र प्रवेश गराइन्छ । अस्पतालमा विशेष सुविधाका चार शय्याको आइसोलेसन कक्ष तयार छ । तर हालसम्म त्यहाँ कोही भर्ना गर्नुपरेको छैन ।

जिरी प्राविधिक शिक्षालयको नयाँ सुविधायुक्त भवनमा क्वारेन्टाइन बनाइएको छ । देशभरका प्रशिक्षार्थी अध्ययन गर्ने कक्षा र आवासीय भवन पूरै खाली छन् ।

शिक्षालय हाताभित्र भूकम्पपछि निर्मित नयाँ भवनमा महिला र पुरुषका लागि छुट्टाछुट्टै क्वारेन्टाइन कक्ष छन् । काठका खाटमा नयाँ डस्ना, सिरक, सिरानी र तन्नामाथि रुमाल राखिएको छ । सुरक्षाकर्मी र चिकित्सकका लागि पनि कोठा तयार गरिएका छन् ।

जिल्ला अस्पतालका रूपमा रहेको जिरी अस्पतालमा नियमित जाँचबाहेकका सेवा सञ्चालन भइरहेको डा. राकेश श्रेष्ठ बताउँछन् । उक्त अस्पतालले जिरी आसपासका गाउँबस्तीलाई सेवा दिइरहेको छ । रामेछाप, ओखलढुंगासम्मबाट प्रसूति र अन्य सेवा लिन आउँछन् । लकडाउनपछिका दिनमा प्रसूति सेवा लिन आउनेको चाप बढेको श्रेष्ठले बताए ।

जिरी नगरभित्रका सबै स्वास्थ्य एकाइहरूमा कोभिड–१९ संक्रमण फैलिन नदिन आवश्यक स्वास्थ्य सामग्री व्यवस्थान गरिएको छ । अपुग सामग्री जोहो गर्न नगरपालिका व्यस्त छ ।

‘जिरीभित्र विकास निर्माणका काम रोकिएको छैन । बाहिरबाट आउने श्रमिकलाई प्रवेश दिइँदैन, भएकाहरूले काम गरिरहेका छन्,’ मेयर जिरेल भन्छन्, ‘पहिलादेखि काम गरिरहेकाहरूले भएकै साधनस्रोत प्रयोग गरिरहेका हुन् ।’ उनीहरू छुट्टै बस्ने र स्थानीयसँग घुलमिल नगर्ने हुँदा काम जारी राखिएको उनको भनाइ छ ।

जिरीलाई जिल्ला सदरमुकाम र केन्द्रीय राजधानीसँग जोड्ने सडकको काम पनि आंशिक भइरहेको देखियो । धेरैजसो निर्माण कार्यमा स्थानीय नै छन् । केहीकेही स्थानमा भने बाहिरी जिल्लाबाट आएकाहरू पनि भेटिए ।

बर्दियाबाट आएका कामदारहरूको एक हुलले घर फर्कन चाहेको सुनायो । स्वीकृति नपाएकाले हिँडेरै जान लागिएको कामदारका नाइकेले बताए । खान–बस्न र कामको समस्या नभए पनि घरको सम्झनाले पिरोलेको खावाडाँडादेखि हाटडाँडाका बीचमा भेटिएका कामदारको भनाइ थियो ।

गाउँबस्तीका उपभोक्ताले गर्ने सानातिना काम पनि भइरहेका छन् । सरकारको निर्णयअनुसार सम्भावित जोखिमलाई ध्यान दिँदै पूर्ण सुरक्षा अपनाएर निर्माणका काम भइरहेको नगरपालिकाले जनाएको छ ।

जिरी नगरपालिकामा खाद्य अभाव छैन । सबैजसाेका घरमा पुग्दाे खाने कुरा छ ।अनुगमनबाट खाद्यान्न र ग्यासजस्ता उपभोग्य वस्तु तीन महिनासम्म जिरीवासीलाई पुग्ने देखिएको मेयर जिरेलले बताए ।

प्रकाशित : चैत्र ३०, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?