कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१० दिनमा कोरोना उपचार अस्पताल निर्माण योजनासहित रातदिन काम हुँदै (फोटोसहित)

हरि गौतम

रुकुम पश्चिम — सबैतिर लकडाउन छ । बजार सुनसान छन् । बिहानदेखि दिउँसो तथा बेलुकीपख चहलपहल छैन । रातिमा त यसै पनि सधैं सुनसान नै हुन्छ । तर, रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९, राडी बजारमा २४ सै घण्टा चहलपहल छ ।

१० दिनमा कोरोना उपचार अस्पताल निर्माण योजनासहित रातदिन काम हुँदै (फोटोसहित)

चार दिनयता दिउँसो जति चहलपहल हुन्छ राति पनि त्यसरी नै त्यति नै चहलपहल छ । जनप्रतिनिधि, प्रहरी, कर्मचारी सर्वसाधारण तथा ज्यालामजदुरी गर्ने एकैसाथ छन् । सबैले आ–आफ्नो काम गरिरहेका छन् । धमाधम दिउँसो तथा राति काम भइरहेको छ ।

आठबीसकोट नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमित व्यक्तिको उपचार गर्नका लागि १२ शैयाको आइसोलेसन वार्ड निर्माण गर्दै छ ।

दश दिनमै सुविधा सम्पन्न वार्ड बनाउन थालिएपछि भौतिक दुरी कायम राखेर काम भइरहेको छ । अस्पताल बनाउन लागेदेखि नगर अस्पताल नजिकै मान्छेको चहलपहल बढेको हो । दश दिनमा एक तलाको, सुविधा सम्पन्न अस्पताल बनाउने नगर कार्यपालिकाको निर्णय अनुसार यो ठाउँमा ४ दिनदेखि मान्छेहरू धमाधम दिउँसो र राति काम गर्दै छन् ।

कोरोना फैलन नदिन विभिन्न कार्यक्रम गर्दा गर्दै संक्रमण भइहाल्यो भने उपचार गर्ने ठाउँ नभएपछि अस्पताल बनाउन लागिको नगरप्रमुख गोर्खबहादुर केसीले बताए । ‘रोग नलागोस् भनेर सावधानी स्वरुपका विभिन्न कार्यक्रम त भइरहेका छन् नै,’ केसीले भने, ‘यो गर्दा गर्दै पनि कोही संक्रमित भइहालेमा उपचार त गर्नुपर्यो त्यसको राम्रो व्यवस्थापन होस् भनेर दश दिनमै बन्ने गरी अस्पताल बनाउन लागिएको हो ।’ नगरपालिका, नगरबासी, नगरमा रहेका उद्योगी, व्यापारी, सहकारी, सामुदायिक वन उपभोक्ता समिति सबैको सहयोगमा अस्पताल निर्माण भइरहेको हो ।

भवन मात्रै ६९ लाख ४५ हजारमा बन्ने गरी डिजाइन स्टिमेट बनेको छ । त्यसमा उपकरण खरिद र जडानको खर्च जोडिएको छैन ।

अस्पतालमा सबै सुविधा हुने बताइएको छ । बिरामी भर्ना हुने ६ वटा कोठामा अट्याच बाथरुम, तातोपानीको व्यवस्था, स्वास्थ्यकर्मीको छुट्टै वार्ड, छुट्टै निवास निर्माण हुनेछ । अरु ६ बेडको नर्मल वार्ड पनि हुने छ । यो सँगसँगै अस्पताल छेउमा हेलिप्याड पनि बन्ने नगरपालिकाका स्वास्थ्य संयोजक मणिराज शाहले बताए ।

एउटा अस्पतालमा हुनेपनि न्यूनतम स्ट्यान्डर्ड कायम गरेर अस्पताल बन्ने शाहको भनाइ छ । कोरोना सजिलै फैलने भएकाले पनि यो आइसोलेसन अस्पतालमा रहेका बिरामी र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर अस्पताल निर्माण भइरहेको हो ।

नगरपालिकाले नयाँ अस्पताल भर्ना गर्न लागिएको थियो । उक्त अस्पताल निर्माणमा ढिलाई भएकाले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गरेर नयाँ भवन निर्माण थालिएको हो ।

दश दिनमा अस्पताल भवन निर्माण सक्ने योजनासहित थालिएको काममा नगद रुपैयाँ पनि सहयोग मिलिरहेको निर्माणमा लागेकाहरूले बताएका छन् । केही ज्यलामा श्रम गरिरहेका छन् । अस्पतालका लागि बेड, काठपात, बालुवा लगायतका सामग्री सर्वसाधारणले नै उपलब्ध गराइरहेका छन् । दिउँसो श्रमिकले काम गर्छन् भने बेलुकादेखि रातभर फरक फरक टोलवासी सघाउन आउने गर्दछन् ।

अस्पताल निर्माणमा नगरपालिका, राजनीतिक दल, संघसंस्था, सर्वसाधारणको सहयोग रहेको छ । आइसोलेसन वार्ड बनेपछि ६ जनाका तीन वटा स्वास्थ्यकर्मीको टोली उपचारका लागि तयारी अवस्थामा राखिएको छ ।

निर्माण थालेको चौथो दिनमा नै ५० प्रतिशत काम सकिएको नगरप्रमुख केसीले जानकारी दिए ।

प्रकाशित : चैत्र २९, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?