कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भएकै प्रयोगशाला उपयोग गरिएन

‘भेटेरिनरीअन्तर्गत ६ वटा रियल टाइम पीसीआर र ८ वटा कन्भेन्सनल पीसीआर छन् भने देशभर ११ वटा जैव सुरक्षा स्तर–२ को प्रयोगशाला, पीसीआर गर्न सक्ने तालिमप्राप्त १९ जना जनशक्ति छन्’
अतुल मिश्र

काठमाडौँ — सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण परीक्षणका लागि मुलुकमा तयारी अवस्थामा रहेका जैविक सुरक्षा स्तर–२ (बायो सेफ्टी लेभल–२) को प्रयोगशाला र पोलिमर चेन रियाक्सन (पीसीआर) मेसिन पूर्ण उपयोग गर्न सकेको छैन ।

मुलुकमा भएका पीसीआर परीक्षण गर्न सकिने जैविक सुरक्षा स्तर–२ को भेटेरिनरी प्रयोगशाला र त्यहाँ भएको पीसीआर मेसिनको अधिकतम प्रयोग गर्न सकिने भए पनि सरकारीस्तरमा निर्णय नभएको विज्ञहरूले जनाएका छन् । ‘राजधानीसहित विभिन्न ठाउँमा जैविक सुरक्षा स्तर–२ को भेटेरिनरी ल्याब र केहीमा रहेको पीसीआर मेसिनलाई कोरोना परीक्षणका लागि उपयोग गर्न सकिने भए पनि हामीले अधिकतम फाइदा उठाउन सकेका छेनौं,’ नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा.शीतलकाजी श्रेष्ठले भने ।


पशु सेवा विभागका महानिर्देशक एवं मोलिक्युलर बायोलजिस्ट डा.वंशी शर्माले अहिलेकै जनशक्तिले कोभिड–१९ परीक्षण गर्न सकिने बताए । ‘हामी सन् २००९ (बर्ड फ्‍लुको समय) देखि आरएनए भाइरसमा काम गरिरहेका छौं’, उनले भने, ‘स्वास्थ्य मन्त्रालयको प्रत्यक्ष निगरानीमा हाम्रो जनशक्तिले कोभिड–१९ को प्रयोगशाला परीक्षण गर्न सक्छ ।’


स्वास्थ्य मन्त्रालयलाइ केही दिनअघि पत्र लेखेर डा.शर्माले कोभिड–१९ महामारीविरुद्घको लडाइँमा भेटेरिनरीबाट कस्तो सहयोग चाहिन्छ र आफूहरूसँग भएको क्षमताअनुसार सबै सहयोग गर्न तयार रहेको जनाएका थिए । उनका अनुसार केन्द्रीय पशुपक्षी अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा २, चितवन र धनगढीको प्रयोगशालामा एक–एक गरी ४ ठाउँमा रियल टाइम पीसीआर मेसिन छ । केन्द्रीय पशुपक्षी अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरलाई जुनसुकै समय ‘जैव सुरक्षा स्तर–३’ को प्रयोगशालामा समेत परिणत गर्न सकिने त्यहाँ कार्यरत केही कर्मचारी बताउँछन् । ‘जैव सुरक्षा स्तर–३ को प्रयोगशालामा परिणत गर्न ‘हेपा फिल्टर’ जोड्नेलगायतका सामान्य काम मात्रै बाँकी छ,’ ती कर्मचारीले भने ।


यस्तै पोखरा, सुर्खेत, विराटनगर गरी तीन ठाउँको प्रयोगशालामा कन्भेन्सनल पीसीआर छ । जनकपुरको प्रयोगशालामा पीसीआर नभए पनि त्यो जैव सुरक्षा स्तर–१ को प्रयोगशाला हो र यसलाई आवश्यक भए तुरुन्त जैव सुरक्षा स्तर–२ को प्रयोगशालामा परिणत गर्न सकिन्छ । डा.श्रेष्ठका अनुसार त्रिपुरेश्वरको केन्द्रीय प्रयोगशालालाई २४ सै घण्टा सञ्चालन गर्दा दिनहुँ ८ सय २८ वटा नमुना परीक्षण गर्न सकिन्छ । भेटेरिनरीमा भएका सबै पीसीआर र जनशक्ति प्रयोग गर्दा २४ घण्टामा दुई हजारसम्म नमुना परीक्षण गर्न सकिने उनले बताए ।


राजधानीकै बूढानीलकण्ठ र खुमलटारमा समेत जैव सुरक्षा स्तर–२ को प्रयोगशाला छ । भेटेरिनरीको चितवनमै दुईवटा प्रयोगशाला गरी मुलुकभरि भएको ११ वटा प्रयोगशालाको अधिकतम उपयोग गर्न सकिने औंल्याउँदै डा.श्रेष्ठ भन्छन्, ‘भेटेरिनरीमा पीसीआर गर्न सक्ने तालिमप्राप्त १९ जना जनशक्ति छन्, यसको समेत हाल कोभिड–१९ को नमुना परीक्षणमा उपयोग गर्न सकिन्छ ।’

प्रकाशित : चैत्र २८, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?