कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैतनिक दूत : सामाजिक हैसियत बढाउने कूटनीतिक काइदा 

अवैतनिक दूत र अवैतनिक महावाणिज्य दूतको रुपमा कूटनीतिक सुविधा लिनेमा अधिकांश व्यापारिक घरानाका छन् ।
जगदीश्वर पाण्डे

काठमाडौँ — किर्गिस्तानका अवैतनिक दूत तथा शंकर समूहका सञ्चालक सुलभ अग्रवाल मंगलबार कालोबजारी गर्दैगर्दा पक्राउ परेपछि कागजमा केही नभएको ‘कुटनीतिक सुविधा र विशेषाधिकार’को प्रयोग गर्दै आएका यस्ता दूतहरुबारे सार्वजनिक चासो बढेको छ । 

अवैतनिक दूत : सामाजिक हैसियत बढाउने कूटनीतिक काइदा 

अग्रवाललाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बुधबार सात दिनका लागि हिरासतमा पठाएको छ भने सरकारले बुधबार साँझ नै अवैतनिक दूतहरुले आफ्नो गाडीमा कूटनीतिक नम्बर प्लेट र झण्डा राख्न पाउने व्यवस्था हाललाई हटाउने निर्णय गरेको छ ।

नेपालका थुप्रै व्यवसायी, व्यापारी र उद्योगपतिहरु आफ्नो सामाजिक हैसियत बढाउन र कुटनीतिक सुविधा उपभोग गर्न विभिन्न देशको अवैतनिक दूत एवम् अवैतनिक वाणिज्यदूत बन्ने क्रम पछिल्लो समय बढेको छ । ‘यो मानका खातिर मानको उपाधिमात्रै हो,’ एक पूर्वशिष्टाचार महापालले कान्तिपुरसँग भने, ‘यो उपाधि दिएकै भरमा अवैतनिक दूतलाई कुनै पनि प्रकारको प्रशासनिक, कूटनीतिक वा कानुनी उन्मुक्ति हुँदैन ।’

तर, निलो रंगको कूटनीतिक नम्बर प्लेट भएको गाडीमा विदेशी झण्डा हल्लाउँदै हिड्न पाएपछि व्यवहारिक रुपमा उनीहरुले धेरै कुरामा छुट पाउँथे । व्यापारी सुलभ अग्रवाललाई २०९–एचसीसी–१ नम्बरको यस्तै मोटरमा ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गर्दागर्दै नक्सालबाट प्रहरीले पक्राउ गरेको थियो । कोरोना भाइरसको प्रकोपले गर्दा यस्ता थर्मोमिटरको अहिले उच्च माग छ ।

नेपालमा हाल विभिन्न देशका लागि ५२ जना अवैतनिक दूत र अवैतनिक महावाणिज्य दूतहरु छन् । दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि त्यहाँ सम्बन्ध स्थापना गर्न वा आफ्ना नागरिक आउजाउ गर्नका लागि भिसालगायतका कामको सहजीकरण गर्न अवैतनिक दूत वा अवैतनिक महावाणिज्य दूत नियुक्त गर्ने गरिन्छ । नेपालसँग द्विपक्षीय सम्बन्ध स्थापित गरेका तर काठमाडौंमा राजदूतावास नभएका ५२ मुलुकले आफ्नो दूतका रुपमा नेपाली नागरिकलाई नियुक्त गरेका छन् ।

सम्बन्धित मुलुकले सम्बन्धित व्यक्तिलाई नियुक्तिका लागि सिफारिस गरेर पठाएपछि परराष्ट्र मन्त्रालयले उक्त व्यक्तिलाई हेरेर नियुक्ति स्वीकृत गर्ने चलन छ । ‘यसमा धेरै केरकार गरिन्न,’ परराष्ट्रका एक अधिकारीले भने, ‘त्यसैले विदेशी मुलुकको दूत बनेर आफ्नो सामाजिक हैसियत बढाउन खोज्नेले यस्तो कूटनीतिक परिचय लिने गर्छन् ।’

अवैतनिक दूतले सामान्यतया निलो प्लेटको कूटनीतिक गाडी नम्बर सुविधासरह पाउँदै आएका थिए । यसबाहेक नियमानुसार अन्य कुनै प्रकारको सुविधा दिने व्यवस्था छैन । ‘तर कतिपय बेला भन्सारमा समेत कुटनीतिक सुविधाको कुरा गरेर बिनाशुल्क सामान आयात गर्ने गरेको पाइएको छ,’ परराष्ट्र प्रशासनका एक अधिकारीले भने ।

पूर्वशिष्टाचार महापाल गोपालबहादुर थापाका अनुसार, निलो प्लेटको गाडी सुुविधा पाउनका लागि काठमाडौंस्थित व्यापार–व्यवसायमा जोडिएका अवैतनिक दूतहरुले दबाब दिएपछि सन् २००८ पछि यस प्रकारको सुविधा दिइएको हो । ‘यो मेरै पालामा भएको निर्णय हो । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निर्देशन र परराष्ट्रमन्त्री सहाना प्रधानको सहमतिमा मेरै पालामा यो निर्णय गरिएको थियो,’ थापाले कान्तिपुरसँग भने, ‘तर पाएको सुविधाको उपयोगभन्दा दुरुपयोग बढी भएको छ ।’

उनका अनुसार, निलो प्लेट नम्बर भएको गाडी लिएर काठमाडौंबाहिर जानुपरेमा परराष्ट्र मन्त्रालयको अनुमति लिएर मात्रै जान सकिने प्रबन्ध भएकोमा यसमा कहींकतै पनि अनुगमन र परराष्ट्रको कडाइ रहेको छैन ।


‘अवैतनिक दूत वा अवैतनिक महावाणिज्य दूतले कूटनीतिज्ञको रुपमा पाउने सुविधा र विशेषाधिकार भनेको आफ्नो व्यक्तिगत काम वा आफ्नो व्यवसाय गर्दा होइन । कुटनीतिक सम्बन्धि काम गर्दा मात्र त्यस्ता सुविधा र विशेषाधिकारको उपयोग गर्न पाउँछन्,’ कूटनीतिज्ञ तथा पूर्वराजदूत दिनेश भट्टराईले कान्तिपुरसँग भने, ‘तर यहाँ गलत रुपमा व्यवसायीले फाइदा उठाइरहेका छन् ।’ भट्टराईले यसका लागि अनुगमन गर्ने एउटा विशेष संयन्त्र बनाउनु पर्ने सल्लाह पनि दिए ।

व्यापारिक घरानाको ‘कूटनीति’

विदेशी मुलुकको अवैतनिक दूत र अवैतनिक महावाणिज्य दूत बनेजति सबैले कुटनीतिक सुविधाको दुरुपयोग गरेका छन् भन्ने होइन । तर, यस्तो नियुक्ती लिनेमा अधिकांश व्यापारिक घरानाका हुने गरेकोचाहिं तथ्य हो, जसमा देशका प्रख्यात चौधरी ग्रुप, अग्रवाल घराना, वैद्य समूह, खेतान समूहदेखि विवादास्पद व्यापारीसम्मको नाम भेटिन्छ ।

चौधरी ग्रुपका प्रमुख विनोद चौधरीको परिवारका दुई भाई र तीन छोरासहित पाँचजना अवैतनिक दूत र अवैतनिक महावाणिज्य दूत छन् । उनका भाई बसन्तकुमार चौधरी नेपालस्थित मोरक्कोका अवैतानिक महावाणिज्य दूत हुन् भने कान्छा भाइ अरुणकुमार चौधरी हंगेरीका अवैतनिक दूत हुन् ।

यस्तै, विनोदका छोरा बरुण चौधरी नेपालका लागि कजाकस्तानको, अर्का छोरा राहुल माल्दिभ्सको र निर्वाण सर्बियाका अवैतनिक दूत हुन् ।

यस्तै, होटल मरिअटका सञ्चालक तथा चिनी उद्योग उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल नेपालका लागि इक्वेडरका अवैतनिक दूत हुन् । यस्तै, साहिल अग्रवाल बोस्निया एन्ड हर्जगोभिना, अशोककुमार अग्रवाल गुयना र सुमितकुमार अग्रवाल पेरुका अवैतनिक दूत हुन् ।

यसैगरी वैद्य समूहका प्रमुख सुरज वैद्य नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्य दूत हुन् । उनी नेपाल उद्योग–वाणिज्य महासंघका पूर्वअध्यक्ष पनि हुन् । यस्तै, करन वैद्य लात्भिया र किरण वैद्य युक्रेनको अवैतानिक महावाणिज्य दूत हुन् । उद्योगपति राजेन्द्र खेतान पोर्चुगलको, प्रेमप्रकाश खेतान टर्कीको र व्यापारी अजेयराज सुमार्गी बेलारुसका अवैतनिक दूत हुन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ भियतनाम र शोभाकर न्यौपाने लिथुवानियाका अवैतनिक दूत हुन् । देउराली जनता फर्मासुटिकल्सका अध्यक्ष तथा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा स्लोभेनियाका अवैतनिक दूत हुन् ।

यस्तै, पञ्चकन्या गु्रपका सञ्चालक एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठ दक्षिण अफ्रिकाको, व्यापारी दिनेश श्रेष्ठ माल्टाको, आईएमई ग्रुपका चन्द्र ढकाल इन्डोनेसियाको, मनकामना केबुलकारका सञ्चालक राजेशवावु श्रेष्ठ अस्ट्रियाको, लोकमान्य गोल्छा पोल्यान्डको, पर्यटन व्यवसायी बसन्तराज मिश्र चिलीको, गोल्डस्टार जुत्ताका लगानीकर्ता अमीरप्रताप राणा क्रोएसियाको, ज्योति ग्रुपका सञ्चालक पद्म ज्योति साइप्रसको र दुगड समूहका नरेश दुगड मेक्सिकोका अवैतनिक दूत हुन् ।

यस्तै, पर्यटन व्यवसायी विक्रम पाण्डे ग्रीसको अवैतनिक महावाणिज्य दूत हुन् । नेपालका लागि बेल्जियमका अवैतनिक दूत भने पर्यटन व्यवसायी आङछिरिङ शेर्पा रहेका छन् ।

प्रकाशित : चैत्र २७, २०७६ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?