कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना प्रभाव : चन्द्रभैरवको जात्रा स्थगित

रासस

ललितपुर — कोरोना भाइरस (कोेभिड–१९) को सम्भावित जोखिम फैलिन नदिन लकडाउन भएपछि यस वर्ष बुलुगाउँको प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगन गरिएको छ ।

प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म तीन दिन चन्द्रभैरवको जात्रा मनाउने चलन गोदावरी नगरपालिका–११ स्थित चापागाउँको बुलुमा रहेको थियो । यस वर्ष जात्रा गर्न नसकिने भएपछि सम्बन्धित पुजारीबाट आफ्नो परम्परा बचाउने गरी पूजाआजा मात्र चलाउन अनुरोध गरिएको वडाध्यक्ष नीलबहादुर देशारले जानकारी दिए ।


यो जात्रा वर्षको एकपटक मनाउने गरिन्थ्यो । चैतको एकादशीको दिन बुलुको मुख्य चोकमा भैरवलाई खट बनाई राखेर पूजा गरिन्थ्यो । पूजाआजा सम्पन्न भएपछि गुठीयारले भोज गर्थे । चैत द्वादशीको दिन यी देवतालाई बुलुका श्रेष्ठहरुको आँगनघरमा खटमा राखी पूजा गर्ने चलन रहेको थियो । चैत त्रयोदशीका दिन बुलुगाउँको टोलटोलमा चन्द्रभैरव र गणेशलाई राखी पूजा गरिन्थ्यो । पूजापछि दिउँसो ४ बजेबाट रथजात्रा गर्ने चलन रहेको चापागाउँका स्थानीय ७४ वर्षीय वासुदेव कर्माचार्यले बताए ।


चापागाउँ पहिले बुलुगाउँ रहेको प्रसंग कर्माचार्यले यसरी सुनाए, 'चापागाउँ स्थापना हुनुअघि बुलुगाउँ रहेको थियो । बुलुगाउँलाई शिवपुरी पनि भनिन्थ्यो । महामञ्जुश्रीले सन्तानेश्वर महादेवको सिमाना, बाडेगाउँबीचको पहाड र चोभारको पहाडलाई तान्त्रिक तरबारले छेड्ने गरी काटेर दहको पानी निकालेको भन्ने किंवदन्ती यहाँ रहेको छ । यस तालको पानी सुक्नुभन्दा पहिले एक स्थानमा नागराजलाई राख्नुपर्छ भन्ने हेतुले नागलाई राखेकाले त्यस स्थानको नाम नागदह भयो । यो धापाखेलमा पर्छ । जब पानी सुक्यो, दक्षिण भेगमा एउटा गाउँ चाहिन्छ भनी यस गाउँको नाम शिवपुर भयो । पानी सुकेपछि यस स्थानमा पशुपति महादेव उत्पत्ति भएको किंवदन्ती पनि छ । बुलुगाउँका पूर्वतिर महादेव रहेका छन् ।'


बुलुगाउँमा एक व्यक्तिले बदमासी गरेकाले त्यसको मुख नहेर्ने भनी अरु सबै व्यक्ति छाडेर गएकाले महादेव पनि यहाँबाट पशुपतिमा गएको किंवदन्ती रहेको कर्मचारीले जानकारी दिए ।

प्रकाशित : चैत्र २३, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?