कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालमै बसेर खट्दै

टेकुका १६ स्वास्थ्यकर्मी अस्पतालमै बसेर काम गरिरहेका छन्
फातिमा बानु

काठमाडौँ — यतिबेला कोभिड–१९ का कारण प्राय: सबैको दिनचर्या बिथोलिएको छ । लकडाउनले हिँडडुल गर्न नपाएर कोही दिक्क छन् भने कति अस्पतालको बसाइले तनावमा । आइसोलेसनमै रहेकालाई त झन् चिन्ता हुने नै भयो र केही यस्ता पनि छन्, जसमा सबैको भन्दा बढी जोखिम र जिम्मेवारी छ । तिनैमध्येकी एक हुन्– २६ वर्षीया सञ्जिता आचार्य ।

अस्पतालमै बसेर खट्दै

आचार्य शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी नर्सिङ कर्मचारी हुन् । अस्पतालमा कोभिड–१९ संक्रमणका बिरामी भर्ना हुन थालेको खबर फैलिएसँगै घरबेटीले उनलाई निको मानेनन् । दिनहुँ जोखिम मोलेर आउजाउ गर्नुभन्दा बाहिरै बसिदिएहुन्थ्यो जस्तो गरे । त्यसपछि उनले अस्पतालमै बस्ने निणर्य गरिन् । १० दिनदेखि उनी अस्पतालमै बस्न थालेकी छन् ।


अस्पतालको आइसोलेसनमा काम गर्ने आचार्य अचेल अस्पतालबाटै बिरामी हेर्न जान्छिन् । ‘ड्युटी नभएको समयमा मोनोटोनस हुन्छ,’ उनी भन्छिन्, ‘कहिले यो समस्या सकिएला र घर फर्किउँला जस्तो भएको छ ।’

आफू कोठामा जान छाडेसँगै उनले सँगै बस्ने बहिनीलाई दाङको गाउँमा पठाइदिइन् । ‘आफू, परिवार र समुदायकै सुरक्षाका लागि यसरी बस्नुपरेको हो,’ आचार्य भन्छिन्, ‘संक्रमित भर्ना हुने अस्पतालमा काम गर्ने भएकाले परिवारका सदस्यमा केही त्रास छ । तैपनि आजसम्म आफू चाहिँ सुरक्षित नै छु भन्ने लागेको छ ।’


आइसोलेसनमा संक्रमित बिरामी हेर्दा पीपीई लगाउने र अहिलेसम्म वार्डमा भर्ना भएका बिरामी कोभिड–१९ संक्रमित भए पनि गम्भीरखाले नभएकाले आफू पनि संक्रमित होइएला भन्ने डर नलागेको उनी बताउँछिन् । समय काट्न उनी किताब पढ्छिन् । युट्युबमा फिल्म हेर्छिन् । अत्यास लाग्दा आमासँग फोनमा कुरा गर्छिन् । ‘कहिलेकाहीँ त कुरा गर्दागर्दै कहिले घरमै पुगेर भेटौं जस्तो हुन्छ,’ उनी सुनाउँछिन् ।

आचार्य जस्तै १० दिनदेखि अस्पतालमै बस्ने नर्स हुन्– मीरा निरौला । श्रीमान्लाई १२ वर्षदेखि मधुमेह र सासूलाई उच्चरक्तचाप भएकाले आफ्नै रोजाइमा अस्पतालमै बस्ने गरेको उनले बताइन् । उनी पनि आइसोलेसनमै खटिन्छिन् । बेलाबखत घाँटी दुख्ने र ज्वरो आउने भइहरहन्छ । अहिलेसम्म दुईपटक कोरोना परीक्षण गराइसकेको र दुवै रिपोर्ट नेगेटिभ आएको उनले बताइन् । ‘मलाई त रोग लागिसक्यो कि जस्तो लाग्छ । रिपोर्ट मात्रै नेगेटिभ आएको हो कि जस्तो सोच आउँछ,’ निरौला सुनाउँछिन्, ‘वार्डमा छर्किने कडा औषधिको असर हो कि घाँटी मात्रै दुख्छ ।’ अस्पतालमा कोभिडको पहिलो बिरामी हेर्दा आफूहरूले पीपीई प्रयोग नगरेको उनले बताइन् ।


आचार्यका घरमा बस्नका लागि छुट्टै कोठा छ तैपनि अरूलाई कोरोना सर्छ कि जस्तो लाग्ने भएकाले नजाने गरेकी हुन् । ‘हुन त हामीले हेरेका बिरामी अहिलेसम्म गम्भीर छैनन् । बिरामीको धेरै नजिक भएर काम गर्नुपरेको छैन,’ उनले भनिन्, ‘यस्तो अवस्थामा स्वास्थ्यकर्मीलाई सर्ने चान्स एकदम कम छ । तैपनि मान्छेको मन हो, कता कता डर हुन्छ ।’ अस्पतालले ‘सन्चो नभए बिदा लिए हुन्छ’ भने पनि जान मन नलागेको उनले बताइन् किनभने समुदायमा जाँदा एकदुईपटक विभेद महसुस गरिन् । ‘बीचमा एकचोटि कपडा दिन घर गएकी थिएँ, आफ्नै घरको कोठामा बस्ने मान्छे बोलेनन्,’ उनले भनिन्, ‘हुन त डिस्टेन्स मेन्टेन गरेकै राम्रो हो तर टोलका बच्चा पनि मलाई देख्दा परपर भए ।’

त्यसो त अस्पतालमा आचार्य र निरौला मात्र बस्दैनन् । उनीहरू जस्तै स्वास्थ्यकर्मी र चिकित्सक गरी १६ जना छन् । कोभिड–१९ का बिरामीको प्रत्यक्ष उपचार र हेरचाह गर्ने भएकाले उनीहरू एक सातादेखि अस्पतालमै बसेका हुन् ।


कोभिडका बिरामी हेर्ने स्वास्थ्यकर्मी संक्रमित हुने र समुदायमा सार्ने जोखिम रोक्न यस्तो व्यवस्था गरिएको अस्पतालका निर्देशक डा.सागरकुमार राजभण्डारीले बताए । ‘केही स्वास्थ्यकर्मीका घरमा मघुमेह, मिर्गौला जस्ता दीर्घरोगी, बालबच्चा र वृद्धवृद्धा भएकाले नगएका हुन्,’ उनले भने, ‘केही स्वास्थ्यकर्मीलाई घरबेटी र समुदायले राम्रो व्यवहार गरेनन् ।’ कोभिडका बिरामी अस्पतालमा भर्ना भएसम्म ती स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको व्यवस्था गरिने उनले बताए । उनका अनुसार जोखिम नहुने चिकित्सक भने ड्युटी सकेर घरमै फर्किरहेका छन् ।

कोभिड संक्रमित बिरामी उपचार गर्नेलाई अस्पतालमै राखिने अन्तर्राष्ट्रिय अभ्यास हो । ‘आइसोलेसन वार्ड छिर्ने स्वास्थ्यकर्मीलाई सक्दो जोगाएका छांै, अनिवार्य रूपमा पीपीई लगाउँछन्,’ उनले भने, ‘यसो गर्दा बिरामीबाट संक्रमण सर्ने सम्भावना न्यून नै हुन्छ । तैपनि समुदाय त्रासमा नहोस् भनेर अस्पतालमा छुट्टै राखेका छौं ।’


अस्पतालमै बसेर सेवा दिँदै आएकी अर्की नर्स सानुमाया नकर्मी हुन् । उनी सरकारले लकडाउन घोषणा गरेकै दिनदेखि अस्पतालमै बस्दै आएकी छन् । ‘घरमा ८० वर्षकी आमा हुनुहुन्छ । दिदी पनि बिरामी,’ उनले भनिन्, ‘घरमै बस्न छुट्टै कोठा र बाथरुम पनि छैन । त्यसैले यतै बस्नु उचित लाग्यो ।’ ड्युटी सकिएपछि उनलाई समय कटाउन अत्यास लाग्छ । समाचार पढ्छिन्, कहिले फिल्म हेर्छिन् । बिहानको समयमा व्यायाम गर्छिन्, घाम ताप्छिन् । घरको याद आउँदा फोन गर्छिन् । ‘रोगसम्बन्धी भ्रामक समाचार बढी आउँछन्, अस्पतालकै बारेमा पनि के के आइरहन्छ, पढ्नै मन लाग्दैन,’ उनको अनुभव छ, ‘त्यस्ता समाचार हेर्दा आफैँलाई डिप्रेसन होला जस्तो लाग्छ ।’ संक्रमित बिरामी नै हेर्नुपरे पनि सुरक्षात्मक सामग्री लगाएर हेर्ने गरेकाले डर नलाग्ने उनले बताइन् । अस्पतालमा शंस्कास्पद बिरामी भर्ना भइरहन्छन् । बिरामीको स्वाब परीक्षण गर्न प्रयोगशालामा पठाइन्छ । रिपोर्ट नेगेटिभ आएको दिन उनी खुसी हुन्छिन् । थप पोजेटिभ केस नआओस् भनेर प्रार्थना गर्छिन् ।

डा. राजभण्डारीका अनुसार स्वास्थ्यकर्मी बढी जोखिममा हुने भएकाले सकभर सबैलाई आइसोलेसनमा खटाइएको छैन । जो जति खटिएका छन्, उनीहरूका लागि टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा बस्ने व्यवस्था मिलाइएको छ । तालिम लिने सबै कर्मचारी घर गएकाले केन्द्रको भवन अहिले पूरै क्वारेन्टाइन प्रयोजनमा छ ।


अस्पतालमा कोभिड पोजेटिभ बिरामी फेला परेपछि खानाको ठेक्का लिएको होटलवाला भागेको डा. भण्डारीले बताए । ‘स्वास्थ्यकर्मीका लागि खाना खुवाउनै समस्या भयो । स्वास्थ्य मन्त्रालयले खुवाउने वचन दिए पनि पूरा गरेन,’ उनले भने, ‘लकडाउनले गर्दा बाहिरबाट खाना ल्याउन पनि सम्भव भएन । अहिले अस्पतालमै खाना खाजा पकाइरहेका छौं ।’ भोलिका दिनमा सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमै राख्नुपर्ने स्थिति आए अस्पतालमै राख्ने र खानेकुराको बस्दोबस्त गर्ने खर्च नभएको उनले बताए ।

प्रकाशित : चैत्र २३, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?