कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दशगजामै क्‍वारेन्टाइन

नेपाल–भारतका अधिकारीबीचको सहमतिपछि १८१ लाई क्वारेन्टाइन व्यवस्था
रुपा गहतराज

नेपालगन्ज — मुलुक प्रवेश गर्न खोज्ने नेपालीलाई दशगजामै क्वारेन्टाइनस्थल बनाएर आश्रय दिने सहमति भएको छ । यस्तो सहमतिपछि उनीहरूले सन्तोषको सास फेरेका छन् । तीन दिनको थकान भुलेर उनीहरू खुसीले उफ्रिएका छन् । केहीले आँसु थाम्न सकेका छैनन् ।

दशगजामै क्‍वारेन्टाइन

बाँकेका विभिन्न सीमा नाका हुँदै तीन दिनअघि करिब दुई सय जनाले मुलुक प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीले नाकामै रोकेका थिए । उनीहरूलाई भारतीय क्वारेन्टाइनमा राख्न प्रशासनका कर्मचारीले सम्झाइबुझाइ गरे । उनीहरूले मुलुक प्रवेश गर्न पाउनुपर्ने हठ छाडेनन् । उनीहरू सिमाना नजिकै आँपको रुखमुनि ओत लागे । बुधबार रातिदेखि भारतीय क्षेत्रमा क्वारेन्टाइनमा राख्न प्रशासनले गरेको प्रयास पनि विफल भयो । अलपत्र उनीहरूले बरु मर्न तयार रहेको भन्दै भारतीय क्वारेन्टाइनमा नजाने अडान लिए । नाराबाजी सुरु गरे । कुनै सीप नलागेपछि बिहीबार नेपाली र भारतीय प्रशासन अधिकारीले छलफल गरेर उनीहरूलाई दसगजामै क्यारेन्टाइन बनाएर राख्ने सहमति गरेका हुन् ।


‘भोक–प्यासको चिन्ता छैन,’ बर्दियाको राजापुर नगरपालिका–१ का भीम धितालले भने, ‘आफ्नै भूमिमा बस्न पाउँदा बल्ल राहत महसुस भयो ।’ प्रशासनले दशगजामा क्वारेन्टाइन बनाएर राख्ने भएपछि ‘युद्ध’ जितेजस्तो महसुस गरेको उनले बताए । ‘बल्ल ढुक्कसँग सास फेरियो,’ उनले भने, ‘अब मरे पनि चिन्ता छैन ।’ १९ वर्षीय धिताल पाँच दिनदेखि सीमामा अलपत्र थिए । भारतबाट हिँड्ने बेलामा परिवारलाई घर आउँदै छु भनेका थिए । उनी अझै घर पुगेका छैनन् । सरकारले भारतबाट आउनेले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको छ । ‘मरे र बाँचेको परिवारलाई जानकारी छैन,’ उनले भने, ‘परिवारसँग सम्पर्क नभएको पनि १४ दिन भइसक्यो ।’

पछिल्लो पटक सात महिनाअघि काम खोज्दै गुजरात पुगेका उनी कम्पनी बन्द भएपछि घर फर्किएका हुन् ।


‘खाना खाने क्यान्टिन पनि बन्द भएपछि हिँडेका थियौं,’ उनले भने, ‘खाना नपाएपछि भोकभोकै कसरी बाँचिएला भन्ने लाग्यो ।’ १६ वर्षको उमेरदेखि भारतमा काम गर्दै आएको उनीमाथि परिवार निर्भर छ । दुई भाइ र बुबाआमाको जिम्मेवारी काँधमा छ । सरकारले नाका खुकुलो पारेका बेला गत चैत ८ गते उनी भारतबाट आएका थिए । प्रत्येक दिन २५ किलोमिटरको दूरी पार गरेर यहाँसम्म आउन कहिले ट्यांकर त कहिले ट्रकमा बसेर यात्रा पूरा गरेको उनले बताए । ‘आक्कलझुक्कल गाडी चढियो होला,’ उनले भने, ‘धन्न बाँचेर आइयो ।’ लामो यात्रा सहज थिएन । उनीसित यसको विकल्प पनि थिएन ।


गुजरातबाट हिँडेर उनी जयपुरसम्म आए । बसपार्कमा गाडीको आड लिएर रात कटाएको उनले बताए । अर्को दिन जयपुरमा कोठा खोजेर बसे । दिनको तीन सय रुपैयाँ भाडा तिरेर बसेको उनले बताए । ‘खाने कुरै भएन, जसले जे दियो त्यही खाँदै बाटो काटें,’ उनले भने, ‘जयपुरबाट हिँडेर राति भोजपुर आए । त्यसपछि आग्रा आइपुगे ।’ हिँडेर आग्रासम्म आएका उनले गाडीमा लखनउसम्म आएको बताए । लखनउबाट गाडी चढेर बहराइच आए । त्यहाँबाट नानपारासम्म आए । नानपाराबाट १९ किलोमिटर हिँडेरै सोमबार रूपैडिया नाकासम्म आएको उनले बताए । ‘कति किलोमिटर हिँडियो याद छैन,’ उनले भने, ‘बार र गते पनि याद भएन ।’ उनका खुट्टाभरि घाउ छन् ।


नाकामा आइपुगेपछि ढुक्कले सास फेरेका थिए । तर, मुलुक प्रवेश नपाएपछि अर्को पीडा सुरु भयो । ‘नाकासम्म पुगेको खुसी धेरैबेर टिकेन,’ उनले भने, ‘सबैलाई भारतीय प्रहरीले रूपैडिया हुँदै बहराइच पुर्‍याए ।


त्यसपछि फेरि नाकामा ल्याएर छाडे ।’ त्यति बेला पहिलो पटक आफूलाई नेपाली होइनजस्तो अनुभूति भएको उनले बताए । ‘हामी रहरले फिर्ता भएका होइनौं,’ सरकारप्रति आक्रोश पोख्दै उनले भने । भारतीय प्रहरीको गाली र डन्डा खाएका उनले आफ्नै भूमिमा पुग्दा पनि राहत नमिलेको बताए । तीन दिन खुला आकाशमुनि सुते । ‘जब दशगजाको क्वारेन्टाइनमा गाडिएको टेन्टभित्र पसें, आफ्नै घरको आँगनमा पुगेको महसुस भयो,’ उनले भने । त्यहाँ उनीसँगै रुकुम, रोल्पा, सल्यान, डोल्पादेखि इलाम र झापाका गरी १ सय ८१ जनाले आश्रय लिएका छन् । नेपाली सेनाले ४५ टेन्टको व्यवस्था गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले खाना र पानीको व्यवस्थापन गरिरहेको छ । उनीहरूलाई १४ दिनसम्म स्वास्थ्यकर्मीको निगरानीमा राखिने छ ।

प्रकाशित : चैत्र २२, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?