कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसईई लकडाउन खुलेलगत्तै

मन्त्रालयले भन्यो- 'परीक्षाको तयारीमै रहनोस्'
गणेश राई

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउन खुलेलगत्तै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने जनाएको छ । त्यसनिम्ति परीक्षार्थीले तनाव नलिई परीक्षा तयारी गर्न भनेको छ । मन्त्रालयले कोभिड–१९ को संत्रासका कारण चैत ६ गतेबाट हुने परीक्षा स्थगित गरेको थियो । 

एसईई लकडाउन खुलेलगत्तै

‘चैत २५ गते लकडाउन सकिएलगत्तै सरकारले गर्ने निर्णयपछि एसईई परीक्षाको नयाँ तालिका सार्वजनिक गरिने छ,’मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले कान्तिपुरसित भने, ‘त्यसैले परीक्षाको तयारीमा रहेका विद्यार्थीले तनाव नलिई आफ्नो पाठ्यपुस्तक रिभिजन गर्नु होस् । अनावश्यक हल्लाको पछाडि नलाग्नोस् । सरकारको आधिकारिक धारणा उपयुक्त समयमा जारी हुनेछ ।’


परीक्षा तयारीमा रहेका विद्यार्थीले घरमै बसेर एसईई परीक्षालाई लक्षित सामग्री हेर्न, पढ्न सक्ने व्यवस्था रहेको प्रवक्ता शर्माले जनाए । ‘मन्त्रालयको वेबसाइट, युटुब र टेलिभिजनमा केही विषयका परीक्षा तयारी सामग्री पढ्न, हेर्न र बुझ्न पाउने व्यवस्था छ,’ शर्माले भने ।

त्यसैगरी शिक्षक महासंघले इन्टरनेट नभएको ठाउँमा विद्यार्थीले आफ्नो समस्या फोनबाट शिक्षकलाई सोध्न सक्ने व्यवस्था गरेको छ । ‘सातै प्रदेशमा पाँच विषयको हेल्प डेस्कको व्यवस्था गरेका छौं,’ महासंघका अध्यक्ष बाबुराम थापाले भने, ‘विद्यार्थीको समस्या हल गर्न ३५ जना विषय शिक्षकलाई सम्पर्क गर्न सक्ने नाम र फोन नम्बर सार्वजनिक गरेका छौं ।’ नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयका समस्याबारे विद्यार्थीले शिक्षकसित जानकारी लिनसक्ने जनाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको रेकर्डअनुसार यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्‍द्र विस्तार गरिएका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् ।

प्रकाशित : चैत्र २१, २०७६ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?