कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमित युवतीको स्वास्थ्यमा सुधार, दोस्रोपटक स्वाब परीक्षणमा पठाइयो

प्रकाश बराल

बागलुङ — कोरोना भाइरस पोजिटिभ देखिएपछि उपचारमा रहेकी युवतीको स्वास्थ्यमा सुधार आएको छ । ७२ घण्टायता उनलाई ज्वरो नआएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।

गत शनिबार कोरोना पोजिटिभ देखिएपछि बागलुङ नगरपालिका-४ की १९ वर्षीया ती युवती अस्पताल भर्ना भएकी हुन् । अघिल्लो बुधबार ज्वरो र रुघाखोकी लागेपछि अस्पताल आएकी उनको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो । परिक्षणपछि रिपोर्टमा पोजिटिभ आउँदाताका उनी सञ्चो भइसकेकी थिइन् ।


पोजिटिभ रिर्पोट देखिएको ७२ घण्टासम्म ज्वरो नआएको र खोकी निको हुँदै गएपछि उनको दोस्रोपटक स्वाब परीक्षणका लागि पठाइएको हो । 'लक्षण हट्दै गएकाले नेगेटिभ पनि आउन सक्छ,' डा. पोखरेलले भने, 'नेगेटिभ देखियो भने फेरि २४ घण्टापछिको अर्को स्वाब पठाइन्छ, त्यसबाट पनि नेगेटिभ आएमा उनी स्वस्थ भएको थाहा लाग्छ ।' संक्रमित युवतीको घरपरिवारका सात जनाको पनि स्वाब परीक्षणका लागि पठाइएको छ । घरका सबै स्वस्थ छन् । संक्रमितलाई मनोविज्ञ डा. धिरेन्द्र पौडेलले निरन्तर मनोसामाजिक परामर्शसमेत गराएका छन् ।


संक्रमित युवती मानसिक रुपमा पनि स्वस्थ बन्दै गएको पोखरेलले जानकारी दिए । अस्पतालमा आएर कसैलाइ भेट्न दिइएको छैन । उनी परिवारका सदस्य र मनोविज्ञसँग मात्र नियमित सम्पर्कमा छिन् ।


उनको सम्पर्कमा आएका दुईजना र विदेशबाटै आएका अर्का एकजना समेतमा लक्षण देखिएको छैन । उनीहरुको पनि परीक्षणका लागि स्वाब पठाएपछि होम क्वारेन्टाइनमा छन् । शनिबार त्रास फैलिए पनि घरपरिवारमा लक्षण नदेखिएपछि बागलुङको वातावरण शान्त छ । बागलुङ नगरपालिकाले मुख्य बजार, अस्पताल र संक्रमण देखिएकी युवतीको गाउँमा समेत भाइरस नासक औषधि छर्केको छ ।


पीपीई थोरै

भाइरस अवरोधक स्वास्थ्यकर्मीले लगाउने पोशाक पीपीई धौलागिरी अञ्चल अस्पतालमा सीमित संख्यामा छन् । प्रदेशबाट पाएको २५ र संघीय सरकारबाट आएको ५० थानले अहिलेसम्म काम चलेको छ। 'अहिलेसम्म काम चलाएका छौं, तर थप संक्रमित देखिए भने समस्या हुन्छ,' डा. पोखरेलले भने, 'केही व्यक्ति र संस्थाले दिन खोजे पनि गुणस्तरको ग्यारेन्टी नभइ लिन सकिएको छैन ।' विभिन्न संस्थाले एक सयभन्दा बढी पीपई सहयोग गर्न खोजेका छन् । उनीहरुलाई केन्द्रीय प्रयोगशालामा परीक्षण गरेर मात्र सहयोग दिन पनि आग्रह गरिएको छ ।


कोरोनाको त्रास बढ्दै जाँदा भारत र अन्य देशबाट घर आएकाहरु बागलुङमा धेरै जना छन् । होम क्वारेन्टाइनमा पनि ८८ जना छन् । उनीहरुमा कुनै पनि बेला लक्षण देखियो भने पीपीई र आइसोलेसन अभाव हुन्छ । अस्पतालले आइसोलेसन वार्ड बढाउने तयारी गरेको अस्पतालका अध्यक्ष केवी राना मगरले बताए । 'अस्पतालमै आइसोलेसन छ भनेपछि स्वास्थ्यकर्मी र बिरामी समेत आउन डराउँछन्,' रानाले भने, 'सुरक्षित आइसोलेसन थपेर इमर्जेन्सीका बिरामी उपचारको व्यवस्थापन बढाउन लागेका छौं ।' केही दिनदेखि प्रेसर, विभिन्न घटनाका घाइते जस्ता बिरामी आए पनि बाहिरबाटै पचार गरेर फर्काएकोमा अब अस्पतालमा भर्ना गर्ने व्यवस्थापन थालिएको हो ।


स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार जिल्लाभरि पहिचान भएकाहरुको तथ्यांक बेलुकी संकलन गरेर अस्पताल र प्रशासनलाई बुझाउने गरिएको छ । अहिलेसम्म ८८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु घरमै सुरक्षित ढंगले बसेका छन् । 'पीपीई र अन्य सामाग्री बढाउन भनेका छौं,' गुरौले भने, 'तत्कालका लागि पीपीई र एन-९५ मास्क बढी चाहिन्छ ।' अस्पतालमा सोमबार ५ हजार थान र्सर्जिकल मास्क र ५० थान पिपीइमात्रै आएको थियो । सामान लिएर आएका डा. झलक गौतमसहितको टोली प्रयोगको विधिबारे जानकारी दिएर फर्किएको छ ।


घरभाडा छुट

लकडाउनको सास्तीलाई ध्यानमा राख्दै घरधनिले भाडेदारलाई भाडामा छुट दिन बागलुङमा सुरू भएको छ । पूर्वराज्यमन्त्री चम्पादेवी खड्काले चैत महिनामा उठ्ने आफ्नो घरभाडा छुट दिएकी छन् । उनले बागलुङ नपा-२ का घरटहरामा भाडा उठाउने गरेको १ लाख ८० हजार रुपैयाँ बराबर रकम छुट दिएको उनका भान्जा अर्जुन घिमिरेले बताए । खड्का हाल अमेरिकामा छिन् ।


बागलुङ नपा-३ का व्यवसायी कुमार खड्काले पनि आफ्नो घरभाडा छुट दिएका छन् । उनले मासिक एक लाखभन्दा बढी रकम भाडा उठाउने गरेका थिए । सोमबार उनले पनि घोषणा गरेर रकम नलिने बताए । यो अभियानपछि बागलुङ उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यसहित केही व्यवसायीले घरभाडा छुट दिन थालेका छन् । उनीहरुले सरकारको कोषमा रकम समेत थपेको संघका महासचिव नरेश कँडेलले बताए ।

प्रकाशित : चैत्र १९, २०७६ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?