कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेटौंडामा पनि कोरोना भाइरस परीक्षण हुँदै 

प्रताप विष्ट

हेटौंडा — किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा बुुधबार अपरान्हदेखि कोरोना भाइरस(कोभिड—१९) परीक्षण हुने भएको छ । संघीय सरकारले चीनबाट ल्याएको परीक्षणका लागि किट, औषधि, स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने पीपीई मंगलबार राति यहाँ आइपुगेको छ ।

हेटौंडामा पनि कोरोना भाइरस परीक्षण हुँदै 

‘अब कोरोना भाइरसको परीक्षण बुधबार २–३ बजेदेखि हेटौंडामा नै हुन्छ’ सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले भने, ‘परीक्षणका लागि किटमात्र होइन, आवश्यकपर्ने जनशक्ति पनि आइपुगिसकेका छन् ।’


भाइरस, ब्याक्टेरिया, प्यारासाइटहरूको प्रजाति अध्ययन गर्न र भाइरसको स्वरूप परिवर्तनबारे बुझ्न हेटौंडामा पाँच वर्षअघि आधुनिक पोलिमेयर चेन रियाक्सन ल्याब (पीसीआर) स्थापना गरिएको थियो । उक्त ल्याब सञ्चालन गर्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयको विज्ञ टोली शनिबार आएर पीसीआरको अध्ययन एवं अवोलकन गरेका थिए ।


राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान काठमाडाैंका सरुवा रोग विशेषज्ञ डा.विष्णुप्रसाद उपाध्याय र वाग्मती प्रदेशका सामाजिक विकासण्मन्त्री युवराज दुलाल र मन्त्रालयका विशेषज्ञहरुको टोलीले पीसीआरको अध्ययन गरेका थिए । उक्त पीसीआर छिटै नै सञ्चालन गर्ने बताएका थिए ।


विज्ञको अभावमा भाइरसको अध्ययन गर्न र स्वरूप परिवर्तनबारे जानकारी दिन उक्त ल्याब हेटौंडामा प्रयोगमा आउन सकेको थिएन । ‘यो मेसिनको काम नै भाइरसका प्रकार र स्वरूप परिवर्तनबारे अध्ययन गर्ने हो । तर यो विगत ५ वर्षदेखि जनशक्तिको अभावमा उपयोगविहिन अवस्थामा रहेको थियो,’ प्रवक्ता सुवेदीले भने, ‘अब ल्याब प्रयोगमा आएपछि बुधबारदेखि यो समस्या हटछ ।’ आवश्यक उपकरण हेटौंडामै भएर पनि उपयोगमा नआउँदा कोरोना आशंका भएमा परीक्षणका लागि नमुना काठमाडौं नै पठाउनुपर्ने बाध्यता रहेको थियो ।


२०७१ सालमा दाताको सहयोगमा स्थापना गरिएको यो ल्याबमा अहिले ल्याब टेक्निसियन निरीक्षक र ल्याब असिस्टेन्ट गरी दुई जनामात्र प्राविधिक कर्मचारी कार्यरत छन् । संघीय सरकार मातहत रहेको यो ल्याबमा जनशक्ति अभावले गर्दा सञ्चालनमा आउन नसकेको हो ।


‘अधिकांश समय बन्द हुने यो ल्याबलाई नियमित सञ्चालन गर्ने हो भने वाग्मती प्रदेशको राजधानी हेटौंडामा भाइरस, ब्याक्टेरिया र प्यारासाइटहरूको अध्ययन गरी उपचारलाई सहज बनाउन सकिनेछ’, सामाजिक मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा.पुरुषोत्तम सेढाईले बताए । यो ल्याब सञ्चालन भए मानव शरीरमा न्यून घनत्वमा रहने भाइरसको परीक्षण र संक्रमण फैलिँदा फरक ठाउँमा भाइरसमा देखिने परिवर्तनको अध्ययन गरी रोग पहिचान गर्न सकिने चिकित्सकहरू बताउँछन् ।


हेटौंडा उपमहानगरपालिका—१० मा २०३५ सालमा स्थापना भएको उक्त केन्द्रमा २१ जना दरबन्दी रहेकोमा प्राविधिकसहित १६ जना कार्यरत छन् । कार्यालय प्रमुख डा. यदुचन्द्र घिमीरे दुई साताअघि सरुवा भएर अन्यत्र गएपछि केन्द्र प्रमुखविहीन रहेको छ ।

प्रकाशित : चैत्र १९, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?