अपांग आवास गृहमा सरसफाइ सामग्रीको अभाव

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई लिखित ध्यानाकर्षण गराइए पनि बेवास्ता
विद्या राई

काठमाडौँ — लकडाउनका कारण आवासीय रुपमा बसोबास गर्ने अपांगता भएका व्यक्तिहरुलाई सरसफाइ सामग्रीको अभाव हुन थालेको छ। राष्ट्रिय अपांग महासंघका महासचिव राजु बस्नेतका अनुसार उनीहरुलाई डाइपर, सीआईसी (प्लेन) क्याथेटर, फोली क्याथेटर, कण्डम क्याथेटर,  युरिन ब्याग, जाइलोकोन जेली, सेनेटरी प्याड, ह्यान्ड ग्लोब्स, डिटोल, मास्क, सेनिटाइजरको अभाव भएको हो। 

अपांगता भएका व्यक्तिलाई सामान्य मानिसको भन्दा विशेष हेरचाह गर्नुपर्ने हुँदा सरसफाइका सामग्री उति नै बढी लाग्ने जोरपाटीस्थित खगेन्द्र नवजीवनकी सूर्यकुमारी गुरुङले बताइन् ।


'लकडाउनले गर्दा बाहिर किन्न जान पाइएको छैन, केहीकेही स्टक छन्, दुईतीन दिनपछि ठप्पै हुने अवस्था छ,' उनले भनिन्। यहाँ बच्चादेखि ८५ वर्षसम्मका अपांगता भएका व्यक्ति बस्छन्।


खगेन्द्र नवजीवन केन्द्रसहित नेपाल अपांग महिला संघ होस्टल, निर्मल बालविकास स्कुल, आदर्श सोल विद्यालय, बिआईए फाउन्डेसन र समानता आवासगृहमा पनि सरसफाइ सामग्री अभाव भएको छ।


समस्या समाधानका लागि अपांग महासंघले शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र आइतबार स्वास्थ्य मन्त्रालयलाई लिखित ध्यानाकर्षण गराएको थियो। ‘सुरुमा महिला मन्त्रालय गयौं, स्वास्थ्यमार्फत जुटाउनु भनेपछि उता गयौं,' महासचिव बस्नेतले भने,' स्वास्थ्यका प्रवक्ताले व्यवस्था गर्छु भन्नुभएको थियो, आजसम्म भएको छैन।’ महासंघ आफैले खरिद गरेर अभाव हुनै लागेका आवासगृहमा सरसफाइ सामग्री बाँड्न चाहे पनि यातायात पाससमेत पाउन नसकेको उनले बताए।


देशभर ४२ वटा अपांगता पुनर्स्थापना केन्द्र, छात्राजास, निजी छात्रावास, स्रोत कक्षा, व्यावसायिक तालिम केन्द्रहरुमा आठ सयभन्दा धेरै अपांगता भएका व्यक्ति आवासीय रुपमा बसोबास गर्दै आएका छन्।

प्रकाशित : चैत्र १८, २०७६ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?