कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई हजारको राहत लिन पाँचथरी फोटोकपी ! 

नागरिकताको फोटोकपी, घरको नक्सापास, खानेपानी तथा विद्युत् महसुल तिरेको बिल वा घरबहाल सम्झौतापत्रको फोटोकपी बुझाउनुपर्ने
दीपक परियार

पोखरा — लकडाउनबाट प्रभावित अति विपन्न परिवारलाई लक्ष्य गर्दै पोखरा महानगरपालिकाले दुई करोड रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ । जसअन्तर्गत पाँच जनाको एक परिवारले दुई हजार रुपैयाँ बराबरको राहत सामग्री पाउनेछन् । राहत लिने प्रक्रिया भने निकै झन्झटिलो छ । 

दुई हजारको राहत लिन पाँचथरी फोटोकपी ! 

निवेदकले एक पानाको फारम भर्नुपर्छ । निवेदकको फोटो बुझाउनुपर्छ । पाँचथरी फोटोकपी बुझाउनुपर्छ । निवेदनसँगै नागरिकताको फोटोकपी, घरको नक्सापास, खानेपानी तथा विद्युत् महसुल तिरेको बिल वा घरबहाल सम्झौतापत्रको फोटोकपी बुझाउनुपर्ने नियम महानगरले बनाएको छ । जबकि लकडाउनले न फोटो खिच्ने ठाउँ खुला छ न त फोटोकपी गर्ने ।


दैनिक ज्यालादारीबाट गुजारा चलाउँदै आएका न्यूनतम पाँच जनाको परिवारलाई राहत प्याकेज उपलब्ध गराउने निर्णय सोमबार महानगरले गरेको हो । यो योजनाबाट महानगरले भनेजस्तो अतिविपन्न, सुकुम्बासी, श्रमिक लाभान्वित हुने सम्भावना कम भएको सरोकारवाला बताउँछन् ।


राहत माग फाराम । तस्बिरः कान्तिपुर

पोखराको सिर्जनाचोकमा भाडामा बस्दै आएका ट्र्याक्टर चालक रमेश बास्तोला यो योजनाबाट पोखरामा घर भएका मात्रै लाभान्वित हुनसक्ने बताउँछन् । ‘आफ्नै घर भएकाले मात्रै यी कागजपत्र बुझाउन सक्छन्,’ उनले भने, ‘घर भएकालाई भन्दा भाडामा बस्नेलाई राहत चाहिएको छ । दिनभरि बालुवा चालेर बिहान–बेलुकाको छाक टार्नेले कहाँबाट ल्याउने यत्रो कागजपत्र ?’


महानगर प्रमुख मानबहादुर जीसी भने वडामै फोटोकपी गर्ने व्यवस्था भएकाले झन्झटिलो नहुने बताउँछन् । ‘यो योजना महानगरवासीलाई लक्षित गरेर ल्याइएको हो,’ उनले भने, ‘महानगरवासी भन्ने एउटा प्रमाण त चाहियो नि ! भोलि खरिद ऐनले समात्ला ।’ महानगरवासी भोकै नमरुन् भन्ने उद्देश्यले योजना ल्याइएको उनले बताए । ‘अन्यत्रकाले राहत नलिउन् भन्न यस्तो प्रक्रिया अपनाउनुपर्‍यो,’ उनले भने ।


उनका अनुसार त्यस्ता परिवारको लगत संकलन टोल विकास समितिले गर्नेछ । पीडित परिवारले फारम भरेर आवश्यक कागजातसहित समितिलाई बुझाउनुपर्छ । वडाका जनप्रतिनिधिले लगत रुजु गर्नेछन् । प्रमाणित परिवारलाई वडा कार्यालयले टोकन दिनेछ । त्यही टोकनका आधारमा उनीहरूले आफूलाई पायक पर्ने पसलमा गएर सामान लिन सक्नेछन् । पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघसँग महानगरले समन्वय गरेको छ ।


प्योकजमा २५ केजी चामल, दुई केजी दाल, एक केजी नुन, एक लिटर तेल, एक केजी गेडागुडी दिने उल्लेख छ । सोमबार र मंगलबार तथ्यांक संकलन गरी बुधबारबाट राहत वितरण हुनेछ । पाँच जनाको परिवारलाई न्यूनतम १० दिनलाई पुग्ने गरी राहत प्याकेज बनाएको महानगर प्रमुख जीसीले बताए । ‘थोरै भए पनि राहत पुगोस् भन्ने हिसाबले प्याकेज घोषणा गरेका हौं,’ उनले भने, ‘दिनभरि काम गरेर बिहान–बेलुकाको छाक टार्नेलाई यसले सहयोग पुग्छ ।’


महानगरले सोमबार र मंगलबार प्रत्येक टोलमा खाद्यान्न बिक्री केन्द्र तय गर्ने भएको छ । त्यहीँबाट ग्राहकले दैनिक उपभोग्य सामग्री लिन पाउनेछन् ।

प्रकाशित : चैत्र १७, २०७६ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?