खाली दिमाग १ : अमलेटबाट अण्डा बन्ला ? 

श्रीश भण्डारी

काठमाडौँ — लकडाउनका बेला घरमै बस्नुपर्दा धरैलाई लाग्न थालेको छ, उफ् समय कसरी काट्ने ? सबैका आ–आफ्नै मेलो छन्— फिल्म हेर्ने । योग गर्ने । संगीत सिक्ने । नयाँ किताब पढ्ने ।

खाना पकाउन सिक्ने । यस्तै–यस्तै । चौबीसै घण्टा व्यस्त हुनुपर्दा त अनेक उपद्रो भ्याउने मान्छेको दिमागले यति फुर्सदिलो हुँदा झन् के मात्रै सोच्दैन र !


कोभिड–१९ सम्बन्धी छिनछिनका समाचारले तनाव बढाइरहेका बेला लकडाउनमा खटिएका प्रहरीलाई निःशुल्क खाना खुवाउने मनकारीदेखि फुर्सदमा आफ्नै गुप्तांगमा चित्र बनाउँदै बस्ने मनमौजीसम्मका जानकारी र अफवाहले दिमागलाई थप बिथोलिरहेका हुन्छन् ।

एउटी दिदीसँग हिजो कुरा हुँदैथ्यो । दिउँसोको त्यस्तै २ बजेको हुँदो हो ।


मैले सोधेँ, खाजा खानुभयो त ?

दिदीले भन्नुभयो, ‘हामीले त भर्खर खाना खाएको ।’

‘अनि किन यति ढिलो त ?’

‘अलिक टाइम बिताउन सजिलो हुन्छ कि भनेर !’


दिदीको जवाफले महसुस भयो, व्यस्त हुनुभन्दा फुर्सदिलो हुनु कता हो कता गाह्रो रहेछ ।

यस्तो बेला मेरो मनमा चाहिँ प्रायः तिनै प्रश्नहरू आउँछन्, जुन सानो छँदादेखि नै आउँथे । बाल्यकालमा हामीले सोच्ने र सोध्ने गरेका प्रश्नको के अहिले ठूलो भएपछि चित्तबुझ्दो उत्तर पायौं ? तपाईंहरूले पाउनुभयो भने ठीक छ । मेरालागि अहिले पनि ती उस्तै छन्, जुन १०–१५ वर्षको छँदा थिए । जस्तो कि, म किन सानो छु ? बुबा किन अग्लो ? ढुंगा किन साह्रो ? पानी किन गिलो ? भाइ किन जन्मेको ? हजुरआमा किन स्वर्गे हुनुभ’को ? पृथ्वी कसरी बन्यो ? आकाशमा किन त्यति धेरै तारा ?


फुर्सदका बेला आकाश खुलेको रात अक्सर म तारामण्डल नियालिरहेको हुन्छु । किनकि हाम्रो आँखाले पर्गेल्न सक्ने ब्रह्माण्डको सबैभन्दा विस्तृत रूप त्यही हो । लकडाउनका कारण यातायात र कलकारखाना बन्द रहेकाले आकाश अघिपछिभन्दा अझ छ्याङ्ग छ । सिंगो आकाश मलाई एउटा विशाल घडीझैं लाग्छ । अनि चमचमाइरहेका ताराहरू घडीका अंकजस्तै ।


आकाश नियालिरहेका बेला पाँच कक्षाको परीक्षा हतारहतार सकेर घरमै बसिरहेको छोराले सोध्छ, ‘ड्याडी, ड्याडी आकाशमा किन त्यति धेरै ताराहरू ? सबै ताराहरू कसरी अड्किएका ?’

‘खै बाबु यो त मलाई पनि थाहा छैन ।’


म उसलाई जेसुकै अल्मल्याउने उत्तर दिन चाहन्नँ किनभने म अहिले आएर बुझ्दै छु कि उसको उमेरमा मैले ठूलाहरूबाट कैयन् अलमल्याउने उत्तरहरू पाएको रहेछु ।

तर छोरो पत्याउँदैन ।


‘ह्या... ड्याडीलाई यत्ति पनि थाहा छैन... !’

ऊ आमा भएतिर दगुर्छ ।

‘ममी ममी ...’ त्यही प्रश्न दोहोर्‍याउँछ ।


‘गुरुत्व बलले गर्दा ताराहरू एकअर्कामा तानिएर अडिन्छन्’, ममी बुझाउन खोज्छिन् । उनी विज्ञानकी विद्यार्थी । किताबमा लेखिएका कुरा हुबहु पत्याउँछिन् । मलाई भने आफ्नो अनुभवबाहिरका कुरामा हम्मेसी पत्यार लाग्दैन । ती कुनै वैज्ञानिकले भनुन् वा धर्मग्रन्थमा लेखिएका हुन् । के गुरुत्व ? कस्तो गुरुत्व ? किन गुरुत्व ? म हरेक प्रश्नलाई किन भन्ने एउटा मूल प्रश्नले जहिल्यै लेखेटिरहेको पाउँछु ।


मलाई पटक्कै विश्वास हुन्न ‘किन’ को उत्तर मानव मस्तिष्कले सहजै पत्ता लगाउन सक्नेछ । पत्ता लगायो भने म ठोकुवा गर्छु— त्यो दिनदेखि संसारमा थप आविष्कारको सम्भावना बाँकी रहने छैन ।


सापेक्षतावादको साधारण सिद्धान्त अनुसरण गर्दै विज्ञान भन्छ— ब्रह्माण्डको रचना १३.७ बिलियन वर्षअघि ठूलो विस्फोट (बिग ब्याङ्ग) बाट भयो । विस्फोटअघि सबै पदार्थ अत्यन्तै साना धूलीकणहरूको विशाल शक्तिशाली थुप्रोका रूपमा थियो । विस्फोटबाट उछिट्टिएका टुक्राहरूबाट अनेकौं तारापुञ्ज, सूर्य र ग्रहहरू बने ।


बिग ब्याङ्गअघि समय र स्पेस दुवै थिएन । ब्रह्माण्डको विनाशपछि पनि सबै पदार्थ त्यसरी नै धूलिसात हुनेछन् । त्यसपछि पनि समय र स्पेस दुवै हुने छैन । संसारको उत्पत्तिबारे अहिलेसम्म अधिकांश वैज्ञानिकले दिने तर्क यही हो । म भने यसैलाई पनि आँखा चिम्लिएर पत्याइहाल्ने पक्षमा छैन । किनभने ती धूलीकण कहाँबाट आए ? किन एउटै पोकामा गुजुल्टिए ? अन्त्यमा किन अचानक पड्कियो ? सबै अनुत्तरित नै छन् ।


छोरो चुलबुल गर्दै हजुरबाकहाँ पुग्छ । सोध्छ, ‘बाबा, बाबा, आकाशमा किन त्यति धेरै तारा ? ती सबै कसरी अडिएका ?’ शास्त्रीय ज्ञान र पूर्वीय दर्शनका अनेकन ठेली कण्ठ पारिसक्नुभएका हजुरबाको उत्तर हुन्छ, ‘यो ईश्वरको लीला हो बाबु ! हामी सबै उसैका सिर्जना !’


हजुरबाको उत्तरले बालमस्तिष्कमा कस्तो असर पार्‍यो, भन्न सक्दिनँ । मलाई भने यो उत्तर पनि पूर्ण लाग्दैन । कुन ईश्वर ? कस्तो ईश्वर ? किन ईश्वर ? किन सिर्जना ? केका लागि सिर्जना ? के यी सबैलाई आफ्नै अनुभवबाट बुझ्न सकिन्न ? भनेर मात्रै हुने भए जे–जे भने पनि भयो । तर बुझाइ शून्य, अनुभूति शून्य छ भने ती सबको के अर्थ ?


मेरा बालाई वेदमाथि औधी विश्वास छ । हुन त वेद अहिलेसम्मकै सर्वप्राचीन ग्रन्थ पनि हो । इसापूर्व १८०० देखि १५०० सम्मका ऋग्वेदका केही पाण्डुलिपि युनेस्कोको सांस्कृतिक धरोहर सूचीमा छन् । ईश्वरीय अस्तित्वको पूरापूर वकालत गर्ने हिन्दु धर्मशास्त्रको मुख्य स्रोतका रूपमा रहेको त्यही वेदको १२९ औं सूक्तको ७ औं श्लोक भन्छ, ‘यो सृष्टिको रचना कहाँबाट भयो, कसले गरेको हो र कसले गरेको होइन, यी सबै कुरा एकमात्र परमेश्वरले जान्दछन् । परमधाममा रहने उनी सृष्टिका एक मात्र अध्यक्ष हुन् । हुन सक्छ, उनले पनि पूरा जानेका छैनन् कि ?’


भनेपछि वेद पनि संसार कसरी बन्यो भन्नेमा अलमलमै रहेछ । बाइबल र कुरानका कुरा पनि खासै भिन्न छैनन् । एउटा प्रधान नायक (सुपर–क्यारेक्टर) सिर्जना गरेर कथावस्तुलाई त्यसैको वरिपरि घुमाइरहेजस्तो !


यस्तो लाग्छ, हामीले संसारका तमाम रहस्यलाई जहिल्यै अनुमानका भरमा मात्रै जान्नुपर्ने रहेछ ! मलाई शंका छ, सायद तिनलाई अनुभूतिकै तहमा पुगेर बुझ्नमा योग र ध्यान सहायक हुन सक्छन् कि !


सुन्नेहरूलाई अजिब र अल्छीलाग्दा यस्ता सोच मेरो मनमा स्कुल पढ्दादेखि नै पलाउन थालेका हुन् । ३० कटेपछि यिनले झन् नराम्ररी गाँजे । हुँदाहुँदा औपचारिक शिक्षाका सवालमा पनि मलाई यस्तै लाग्न थायो । संसारमा यति धेरै पढ्ने विषय छन्, एउटा व्यक्तिको जीवनकालमा त ती सबैको नाम र परिचय पढ्न मात्रै ठिक्क होला । तीमध्ये जुनै विषय पढे पनि बाँकी सारा त छुट्ने नै भए । लाखौं विषय छोडेर एउटै मात्र पढे पनि त्यसको सबै जरोमुठो जानिने हैन । खाली छेउ–कुनाको पत्तो पाउने मात्रै हो । सांसारिक ज्ञानका लागि गरिएको त्यो लगानी आखिर कतिन्जेलका लागि ? मरेपछि त सँगै जाँदैन । जाबो ४०/५० वर्ष पनि काम नलाग्ने कुराको पछाडि किन मरिहत्ते गरेर लाग्ने ?


मलाई थाहा छ, मेरो यो सोच व्यावहारिक जीवनका लागि उपयुक्त छैन । सबैले यस्तै सोच्ने हो भने संसारका महानतम् आविष्कार हुने थिएनन् । हामीले अहिले जुन हदसम्म सहज जीवनयापन गर्न पाइरहेका छौं, त्यो सम्भव हुने थिएन । अहिलेको विश्वव्यापी महामारी कोभिड–१९ को औषधि बनाउन पनि सायद कसैले पहल गरिरहेको हुने थिएन । तैपनि मेरो स्वभाव यस्तै बन्यो । यसमा सायद कुनै न कुनै पृष्ठभूमिले काम गरिरहेको होला ।


आखिर कोही किन ऊजस्तो छ, त्यस्तै बन्छ ? अर्थात्, व्यक्तिको व्यक्तित्व विकास कसरी हुन्छ ?

यो प्रश्नमा समाजशास्त्रीहरू लामो सयमदेखि अल्झेका (नेचर–नचर विवादमा) छन् । नेचरवादी भन्छन्, ‘मानिसको व्यक्तित्व विकास र सामाजिकीकरणको प्रक्रियामा वंशाणुगत गुण वा जिनको प्रभाव पर्छ ।’ नेचरवादी यसमा शिशु हुर्कने वातावरण, समाज र संस्कृतिको मात्रै प्रभाव रहने ठान्छन् ।


मलाईचाहिँ कुनै व्यक्ति कस्तो बन्छ भन्ने कुरामा वंशाणुगत गुण र बढ्ने वातावरण दुवैको भूमिका हुन्छ भन्ने लाग्छ ।


अध्यात्मवादीहरू यसभन्दा अझ पर पुग्छन् । उनीहरू दाबी गर्छन्— विज्ञानले जहाँनेर पुगेर हार खान्छ, त्यहाँदेखि अझै पर पुग्न सक्छ मनोविज्ञान । मनोविज्ञानले हल गर्न नसकेका समस्याको समाधान परामनोविज्ञानले दिन्छ । र, परामनोविज्ञानले पनि दिन नसकेको समाधान अध्यात्म विज्ञानले दिन्छ ।


यसरी परपर सर्दै जाँदा अध्यात्मवादीहरू प्रारब्धसम्मै पुग्छन् । उनीहरूका अनुसार हाम्रो अहिलेको जीवन अनेकौं पूर्वजन्म र पुनर्जन्महरूको निरन्तरता हो । यसले हाम्रो समयरेखालाई विगत र भविष्य दुवैतर्फ अनन्तसम्म लम्ब्याउँछ । अनि स्वाभाविक जिज्ञासा पैदा हुन्छ— एक/दुई साता घरमा बस्न त यत्रो पट्यार लाग्ने हामी कसरी यति धेरै जीवनहरू बाँच्दै र भोग्दै आइरहेका हौंला ?

यसको सोझो जवाफ हो— हामीमा भएको बिर्सिन सक्ने क्षमता ।


जर्मन मनोवैज्ञानिक हेरर्म्यान इब्बिइनगाउज (१८५०–१९०९) ले हाम्रो दिमागको बिर्सने क्षमताबारे पहिलोपटक वैज्ञानिक अध्ययन गरेका थिए । विस्मृतिको बक्ररेखा (फर्गेटिङ कर्भ) नामले चिनिने उनको अध्ययनले समय र बिर्सिने बानीबीचको सम्बन्ध पत्ता लाग्यो ।


हामी या त भर्खरै सिकेका कुरा चाँडै बिर्सन्छौं या धेरै पहिले सिकेका । भर्खरै सिकेको जानकारी बिर्सने भएकैले हामी एउटै फर्मुलालाई पटकपटक रट्छौं । धेरै पहिलेका कुरा बिर्सने भएकाले एक महिनाअघि आजकै दिन यति नै बेला म के गरिरहेको थिएँ भन्ने ख्याल हुन्न । एक महिनाअघिको कुरा त सम्झन नसक्ने हामीले एक वा अनेकौं जन्मअघिका कुरा सम्झन सक्ने कुरै भएन ।


समयप्रतिको हाम्रो बोध वास्तवमै कमजोर छ । मेरो हजुरबाका बाले के खानुभयो, के लाउनुभयो, कति दुःख पाउनुभयो, त्यो मलाई कुनै मतलब भएन । मेरो नातिको नातिले के खाला, कसरी यो दुनियाँसँग संघर्ष गर्ला, त्यो पनि मलाई चासो छैन । तर मलाई मेरो बुबाआमा र छोराछोरीको भने औधी चासो छ । हामी विगत र भविष्यको चिन्ता त गर्छौं तर सुदूरसम्मको होइन । हाम्रो जीवन जस्तो छोटो छ, सोच पनि त्यत्तिमै सीमित ।


‘समय’ भन्नेबित्तिकै तपाईंको दिमागमा के आउँछ ? सम्भवतः धेरैजसोको दिमागमा ‘घडी’ आउला । किनभने हामीमध्ये अधिकांशले समयका स–साना एकाइलाई नै समय ठान्ने गरेका छौं । समयलाई हामीले सेकेन्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, वर्ष, दशक, शताब्दी र सहस्राब्दीजस्ता एकाइमा मापन गर्दै आएका छौं । तर मापनले कुनै पनि एकाइले मापन गरिएको वस्तुलाई बुझाउन सक्दैन । जसरी कि, कसैले ‘एक केजी’ मात्रै भन्यो भने जसरी त्यो आलु हो कि चिनी भन्ने थाहा हुन्न ।


१४ औं शताब्दीमा घडीको आविष्कार नभएसम्म मानिसहरू आफू र वरिपरिका गतिविधिमा भइरहेको परिवर्तनलाई नियालेर समयको अनुमान लगाउँथे । दिन, रात, साँझ र बिहानलाई हेरेर बेला पत्ता लगाउँथे । बिस्तारै छाया घडी, पानी घडी आदिको विकास भयो ।


ज्योतिषशास्त्री र खगोलविद् अझै पनि ब्रह्माण्डीय पिण्डहरूको गति अध्ययन गरेर समयको लेखाजोखा गरिरहेछन् । पश्चिमेली वैज्ञानिकहरूले रिलेटिभिटी, बिगब्याङ् र क्वान्टमलगायत सिद्धान्तहरूका आधारमा पदार्थदेखि लिएर प्रकाशसम्मको गति मापन गरेर समयलाई पर्गेल्ने कोसिस गरे । यी सबै प्रयत्नको आजसम्मको सार के भने संसारका सारा पदार्थ र गैरपदार्थहरू बदलिइरहन्छन् । नबदलिने एउटै कुरा हो— परिवर्तनको निरन्तरता । निरन्तर परिवर्तनको यही शृंखला नै समय हो । त्यसैले समयलाई सकेन्ड, मिनेट, घण्टाका रूपमा भन्दा पनि हामी र हाम्रो परिवेशमा पलपलमा भइरहेको परिवर्तनका रूपमा बुझ्नु ठीक होला ।


‘मिनेट–घण्टा’ भनेर बुझ्नु र ‘परिवर्तन’ भनेर बुझ्नुबीच फरक के छ ? फरक के भने, हामी समय सकियो भन्छौं तर समय सकिन्न, हामी सकिन्छौं । वर्ष बित्दैन, हामी बितिरहेका हुन्छौं । संसार बदलिन्छ तर समय बदलिँदैन किनभने समय भनेकै बदलिइरहने प्रक्रिया हो ।


‘समय बित्यो’ भनिरहँदा हामीले आफूमा भइरहेको परिवर्तन आत्मसात् गर्नै सक्दैनौं । बितेको त समय हो, हामी होइनौं नि जस्तो लाग्छ । जब हामी समय बदलिँदैन, हामी आफू बदलिन्छौं भनेर बुझ्छौं, बल्ल हामीलाई बदलिनुको अर्थ अझ राम्ररी अनुभव हुन्छ । यसले हामीलाई जीवन र जगत्प्रति झनै बढी संवेदनशील र सचेत तुल्याउँछ ।


‘समय’ परिवर्तन हो भने ‘परिवर्तन’ चाहिँ के त ?

मलाई लाग्छ— परिवर्तन भनेको द्वन्द्व हो । जस्तो कि रूखबाट पात खस्नु । टेबुलबाट गिलास खस्नु । अण्डाबाट अमलेट बन्नु । पातले रूखसँग विद्रोह गरेर झरेको छ । उसले रूखसँग टाँस्सिएर बसिरहन चाहेको छैन । झरेलगत्तै ऊ भुइँमा टाँस्सिइरहेको छ । तर त्यहाँ पनि त्यो पात सधैंका लागि रहिरहन पाउने छैन । त्यसपछि कुहिनेछ । माटोमा मिल्नेछ । पानीमा बग्नेछ । अनि के–के भइरहनेछ । जे भए पनि त्यसले सधैंका लागि एउटै अवस्थामा बस्न पाउने छैन ।


संसारमा कसैलाई पनि कसैसँग सधैंका लागि टाँस्सिइरहने सुविधा छैन । हामीले अनुभूत गर्ने सबैभन्दा प्रिय सम्बन्ध वा प्रेमको चरमोत्कर्ष पनि एकैछिनका लागि मात्रै हो । त्यसपछि त्यो छुट्छ । जुट्नु र छुट्नु अनिवार्य छ । निरन्तर छ । जीवनको सिर्जना नै केही कुरा छुटेर, केही कुरा जुटेर भएको छ । एक पल मात्रै पनि द्वन्द्वहीन अवस्था सम्भव छैन । जीवन भनेकै जुट्नु र छुट्नुको निरन्तरता हो— घर गयो, अफिस छुट्छ, अफिस गयो, घर छुट्छ । तपाईंसँग कुरा गरेर बस्यो अर्को साथी छुट्छ । अर्कोसँग बसे तपाईं छुट्नुहुन्छ । एउटा किताब पढ्न बस्यो, अरू सारा छुट्छन् । मेन्युमा छानेर आफूले एउटा स्वादिष्ट परिकार खाइरहँदा बाँकी सबैको स्वादमा अरूले नै मुख मिठ्याइरहेका हुन्छन् ।

यो जुट्ने–छुट्ने प्रक्रिया जसरी विगतबाट भविष्यतर्फ अघि बढिरहेको छ त्यसरी नै यसलाई विगततर्फ पनि लैजान सकिएला ? टेबुलबाट झरेर फुटेको सिसाको गिलास फेरि आफैं टेबुलमथि गएर जस्ताको त्यस्तै जोडिएला ? अमलेट फेरि अण्डा बन्न सक्ला ? आख्यानकारहरूले विज्ञान–कथाहरूमा यस्तो अवधारणा (टाइम–ट्राभलर) को प्रयोग गरेको भए पनि अधिकांश वैज्ञानिकहरू त्यस्तो सम्भावना देख्दैनन् । सम्भव भए मानव जाति र सृष्टिकै लागि त्यो घातक हुने कतिको ठम्याइ छ ।


कोभिड–१९ ले अहिले तपाईं हामीलाई धेरै कुराहरूबाट अलग्याएको छ । सँगसँगै घरपरिवारसित नजिकिने मौका पनि दिलाएको छ । एकातिरबाट अलग्याएकैले हामीले अर्कोतिर नजिकिने मौका पाएका छौं । यो परिस्थितिले हामीलाई ‘नजिकिनु मात्र सधैं माया नहुँदो रहेछ’ भन्ने पाठ पनि सिकाएको छ ।


संसारमा कुनै त्यस्तो घाउ छैन, जुन समयक्रममा खाटा नबनोस् । र, त्यस्तो व्यक्ति छैन, जसलाई कुनै समयमा रोग नलागेको होस् । यो विषम परिस्थितिमा सकिन्छ, सक्दो सुधारका प्रयत्न गरौं । सकिन्न, जे जस्तो परिस्थिति आइलागेको छ, त्यसैलाई स्वीकार गरौं । चिन्ता नगरौं । मात्रै सजग रहौं । सचेत बनौं । प्रकाशित : चैत्र १६, २०७६ २०:२०

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

भौतिक दूरी कायम गर्दै यसरी बस्यो आजको मन्त्रिपरिषद् बैठक 

कान्तिपुर संवाददाता

काठमाडौँ — आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । आइतबारको बैठक प्रधानमन्त्री निवास परिसरमा रहेको सचिवालय हलमा निर्धारित भौतिक दूरी कायम गरी बसको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य मन्त्रीहरु मास्क लगाएर एक मिटरभन्दा बढीको दूरीमा बसेका थिए ।

पछिल्लो समय धेरैजसो बैठक प्रधानमन्त्री निवास रहेको भवनको बैठक कक्षमा बस्ने गरे पनि ठाउँ साँघुरो भएका कारण आजको बैठक सचिवालयको हलमा बसेको छ ।


विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सामाजिक र व्यक्तिगत दूरी कायम राख्न सुझाव दिएको छ । कम्तीमा दुई जनाबीच एक मिटर दूरी कायम राखेमा कोरोना भाइरसको संक्रमणको सम्भावना कम हुने चिकित्सकहरुको सुझाव छ ।

आजको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सिफारिस गरेअनुसार लकडाउनको अवधि लम्ब्याउनेलगायतका महत्वपूर्ण निर्णय गर्ने सम्भावना रहेको छ ।

तस्बिरहरु : राजन काफ्ले/प्रधानमन्त्रीको सचिवालय

प्रकाशित : चैत्र १६, २०७६ २०:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×