संक्रमित व्यक्ति चढेको विमानमा आएकालाई विशेष सुरक्षा

गिरुप्रसाद भण्डारी

प्यूठान — एयर अरेबियाको जी ९५३७ विमानमा धादिङका संक्रमित व्यक्तिसँगै नेपाल आएका प्यूठानका २ जनालाई घरमै विशेष सुरक्षा दिइएको छ । आइतबार दिउँसो बसेको सुरक्षा समितिको बैठकले उनीहरूलाई गाउँका अन्य व्यक्तिबाट टाढा राख्‍नका लागि सुरक्षा निगरानीमा राखिएको हो ।

दुवै जनाको नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एक जना सुरक्षाकर्मीले संयुक्त रूपमा निगरानी सुरु गरेका छन् । दुवैजनालाई संयुक्त सुरक्षा टोलीको निगरानीमा 'होम क्वारेन्टाइन' मै राख्‍ने निर्णण भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जानकारी दिए ।

उक्त जहाजमा आएका धादिङका एक पुरुषलाई कोरोना संक्रमण भएको बुधबार पुष्टि भएको थियो । गृह मन्त्रालयले उक्त विमानमा आएकामध्ये २ जना प्यूठानका भएको विवरण पठाएपछि जिल्ला प्रशासन कार्यालयले सचेतता अपनाएको हो । उनीहरूलाई आइतबार मात्रै प्रशासनले खोजी गरेर सुरक्षा निगरानीमा राखेको हो ।

संक्रमित भेटिएको व्यक्ति चढेको विमान चैत्र ६ गते दुबईको सारजहाँ एयरपोर्टबाट काठमाडौं आएको थियो । विमानमा १६९ जना यात्रु रहेकोमा प्यूठानका २ जना थिए । उनीहरू दुवै प्यूठान नगरपालिकाका स्थानीय हुन् ।

दुवै जना काठमाडौंबाट अलगअलग रात्रिबसमा प्यूठान आएको पाइएको प्रहरीले जनाएको छ । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्यूठान नगरपालिकाका प्रमुख अजुर्नकुमार कक्षपतीले बताए ।

परिवारको सल्लाहअनुसार उनीहरूलाई घरमै सुरक्षा निकायको विशेष निगरानीमा राख्‍न थालिएको कक्षपतीले बताए ।

प्रकाशित : चैत्र १६, २०७६ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

के यो महामारी युगको पुनरागमन हो ?

जीवन क्षेत्री

काठमाडौँ — अलेक्जेन्डर फ्लेमिङले सन् १९२८ मा संयोगवश पत्ता लगाएको पेनिसिलिन सन् १९४२ मा संक्रमणको उपचारमा उपयोग हुनुअगाडि मानिस र संक्रामक जीवबीचको लडाइँमा दुवै पक्षको हैसियत समानजस्तो थियो । 

मानिसको शरीरले ब्याक्टेरिया, भाइरस, फंगस, आदिविरुद्ध प्रतिरोधी क्षमता बढाउँदै जान्थ्यो, ती जीवले मानिसको प्रतिरोध छिचोल्ने क्षमता विकास गर्दै जान्थे । त्यो होडमा जसले अर्कोलाई उछिन्न सक्यो, ऊ बाँच्थ्यो, अर्को मर्थ्यो ।

कुनै भौगोलिक क्षेत्रमा नयाँ शक्तिशाली संक्रमण प्रवेश गर्‍यो भने त्यहाँका मानिसले प्रतिरोधी क्षमता विकास गर्न नपाउँदै सिंगो जनसंख्या स्वाहा हुन्थ्यो । युरोपेली मानिसहरूले नयाँ संक्रमणहरू भित्र्याएलगत्तै अमेरिकी महादेशका आदिवासी मानिसहरूले त्यो नियति भोगेका थिए ।

दार्शनिक तथा अध्येता टोबी ओर्डले ‘द गार्डियन’ को लामो आलेखमा ‘ब्ल्याक डेथ’ भनिने त्यो समयको एउटा महामारीबारे लेख्छन् ः सन् १३४७ मा युरोपमा मृत्यु आयो ।

अतिक्रमणकारी मंगोल सेनाले क्राइमियाको क्याफा सहरबाट त्यसलाई प्रवेश गरायो । त्यहाँबाट भाग्ने व्यापारीले संक्रमणलाई इटाली पुर्‍याए । त्यहाँबाट त्यो फ्रान्स, स्पेन र इंग्ल्यान्ड पुग्यो । अनि नर्वे र बाँकी युरोप हुँदै मस्कोसम्म ।

छ वर्षमा महामारीले सिंगो महादेश छिचोल्यो । करोडौं बिरामी परे । तिनका घाँटी, काखी र तिघ्रामा पिलाहरू आए, रगत बगेका कारण छाला कालो भएर आयो, अरूले खोकीमा रगत बगाए । सबैलाई ज्वरो र थकान देखियो अनि शरीरबाट असह्य दुर्गन्ध फैलियो ।

त्यो महामारीका छ वर्षमा युरोपका एक चौथाइदेखि आधा मानिस उक्त संक्रमणका कारण मारिएको मानिन्छ । मध्यपूर्व र एसियामा समेत पुगेको उक्त महामारीका कारण विश्व जनसंख्याको ५–१४ प्रतिशत मानिस मरेका थिए । तर त्यसले मानव सभ्यतामा खासै आँच
पुर्‍याउन सकेन, न त मानिस जातिको अस्तित्व संकटमै पर्‍यो ।

पछिल्लो शताब्दीभर विज्ञानको विकाससँगै ब्याक्टेरियाविरुद्ध एन्टिबायोटिक र भाइरसविरुद्ध खोपको विकासले मानव र संक्रामक जीवबीचको त्यस्तो लडाइँमा मानिसको हैसियत निकै माथि पुर्‍याइदियो ।

प्लेगको महामारी गराउने येर्सिर्निया पेस्टिस नामक ब्याक्टेरियाले एन्टिबायोटिक युगमा पनि विश्वका विभिन्न ठाउँमा संक्रमण त गराएको छ तर अहिले हामीसँग यसलाई मार्ने एन्टिबायोटिक र यसलाई फैलाउने परजीवीलाई मार्ने उपाय दुवै छन् ।

बिफरजस्तो भयावह भाइरल रोग उन्मूलन नै भयो भने दादुराको भाइरसले खोप नपुगेका कुनाकाप्चामा मात्रै संक्रमण गर्न सक्ने भयो ।

कुष्ठरोग र क्षयरोगजस्ता भयावह संक्रमणबाट विकसित देशका समाजहरूले झन्डै मुक्ति पाए । एचआईभीजस्तो सुरुमा प्राणघातक मानिएको भाइरल रोगविरुद्ध खोप बन्न नसके पनि प्रभावकारी उपचार विकसित भयो ।

एकपछि अर्को यस्तो सफलतासँगै मानिस जातिमा के भ्रम विकसित भयो भने संक्रामक जीवहरूविरुद्ध मानव जातिले जित हासिल गरिसक्यो र संक्रमणका कारण हुने मृत्यु अब विगतको कुरा भइसक्यो ।

मानिसको यो भ्रम झन्डै यथार्थमा बदलिएको मान्न सकिन्छ । सन् १९२७ को दुई अर्ब जनसंख्या सय वर्ष नपुग्दै २०२० मा झन्डै ७ अर्ब ८० करोड पुग्न यसै सम्भव भएको थिएन ।
तर यो नयाँ परिवेशमा मानिसले के बिर्स्यो भने हाम्रो शरीर वा वरिपरि रहने, हाम्रा एन्टिबायोटिक र खोपले काम गर्ने भनेको सीमित ब्याक्टेरिया र भाइरसहरूविरुद्ध मात्रै हो । पृथ्वीको विराट भूगोलमा त्यस्ता पनि सूक्ष्म जीवहरू छन् जसबारे हामीले कहिल्यै केही जान्नेछैनौं ।
यो यथार्थ बिर्सेर जब मानिस दूरदराजका जंगल र गुफामा हस्तक्षेप गर्न पुग्छ, चिम्पान्जीदेखि चमेरासम्ममा मौलाएर बसेका घातक जीवहरू मानिसमा सर्न पुग्छन् । तब न मानिससँग ती जीवविरुद्ध लड्ने प्राकृतिक प्रतिरोध क्षमता हुन्छ, न खोप र उपचार नै बनेका हुन्छन् ।
अनि मानिसले अरू प्रजातिको संहार गरेजस्तै ती जीवले मानिसको संहार गर्न थाल्छन् ।
बाँदर वा चिम्पान्जीबाट मानिसमा सरेको मानिने एचआईभी पत्ता लागेयताका चार शतक विश्वव्यापी महामारीका रूपमा कायम छ ।

इन्फ्लुएन्जा समूहका विभिन्न घातक भाइरसहरू (बर्ड फ्लु, स्वाइन फ्लु, सार्स, मर्स, कोभिड–१९) ले बारम्बार विश्वव्यापी महामारी गराइरहेका छन् ।

क्षयरोगलगायत एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाका संक्रमणहरू अत्यन्त जटिल जनस्वास्थ्य संकटका रूपमा विश्वभर देखिइरहेका छन् ।

अर्कोतिर २००७ मा प्रयोगशालाबाट चुहेर निस्किएको भाइरसका कारण बेलायतमा ‘फुट एन्ड माउथ डिजिज’ को महामारी फैलिएको थियो । अब त्यस्तै अर्को दुर्घटना हुँदैन भनेर ढुक्क हुने अवस्था पनि छैन ।

प्रविधिको विकाससँगै मानिसले बदनियतपूर्वक महामारी फैलाउने जोखिम पनि यो क्षेत्रका विज्ञहरूले औंल्याउँछन् । जस्तो कि बिफर अहिले पृथ्वीबाट उन्मूलन भइसकेको छ तर त्यसको आनुवंशिक संरचना अब गोप्य रहेको छैन । प्रविधिको व्यापक लोकतान्त्रीकरणसँगै केही दुर्नियत भएका मानिसहरूले प्रयोगशालामा नयाँ बिफर भाइरस बनाएर समाजमा फैलाइदिए भने के हुन्छ ?

कोभिड–१९ को महामारी आउनुअगाडि नै यस्ता प्रश्न र सरोकार जायज थिए । सम्बन्धित क्षेत्रका विज्ञले बारम्बार कोभिड–१९ जस्तै महामारी आएर लाखौं मानिसको मृत्यु हुन सक्ने चेतावनी बारम्बार दिइरहेका थिए । स्वास्थ्य क्षेत्रमा काम गरिरहेका बिल गेट्सले समेत ‘टेड–टक’ मा यस्तो जोखिमबारे करोडौं मानिसलाई सचेत गराएका थिए ।

तर यस्ता जोखिमहरूबारे हाम्रा आँखा अहिले बल्ल खुलेका छन् । जुन दिन यो महामारी नियन्त्रणमा आउनेछ, त्यही दिन ती फेरि बन्द हुनेछन् र हामी सबैले मानिसलाई बेरोकटोक बुढेसकालसम्म बाँच्ने प्रजाति ठान्न थाल्नेछौं ।

त्यसैले महामारीले फुर्सदैफुर्सद दिएको यो समयमा मनन र मन्थन गरौं : के मानिसभन्दा संक्रामक जीव चलाख हुने मध्ययुगीन महामारीहरूको युग फेरि फर्केको हो ?

यो बेला हामीले दिने चासो र देखाउने सुझबुझले अर्को यस्तै महामारीको सम्भावनालाई कम गर्नेछ ।

प्रकाशित : चैत्र १६, २०७६ १३:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×