कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रान्स र जर्मनीका नागरिक लिन कतारका दुइटा जहाज शनिबार काठमाडौं आउँदै 

पोखरासहित २१ स्थानमा अझै कम्तीमा ५२८ पर्यटक अलपत्र 
यती एअरलाइन्सले पोखराबाट ५८ पर्यटक उद्धार गर्‍यो
निगमको वाइडबडी शनिबार ग्वाङजाउ जाँदै, निगमको टुइनअटर लुक्लाबाट पर्यटक र नेपालगन्जमा बिरामीको संकलित नमुना लिन जाँदै 
सुरज कुँवर

काठमाडौँ — सरकारले गरेको लकडाउनको चौथौ दिन काठमाडौंबाट एउटा अन्तर्राष्ट्रियसहित दुइटा आन्तरिक तथा चारवटा हेलिकप्टर उद्धार उडान भएका छन् ।  

फ्रान्स र जर्मनीका नागरिक लिन कतारका दुइटा जहाज शनिबार काठमाडौं आउँदै 

शुक्रबार बिहान दोहाबाट आएको कतार एयरको वाइडबडी विमानले काठमाडौंबाट जर्मनसहित ३ सय ४ जना यात्रु बोकेर फर्केको थियो । एक अधिकारीकाअनुसार उडानमा ३ वटा नाबालक पनि थिए ।

काठमाडौं विमानस्थलमा रहेको अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यका अनुसार उक्त उडानमा २ सय ७० जर्मन नागरिक थिए भने बाँकी युरोपियन युनियनका ११ वटा सदस्य मुलुका नागरिक थिए । तीमध्ये कतिपय पर्यटकका भिसाको अवधि लकडाउन सुरु हुनुअघि र केहीको लकडाउन सुरु भएपछि म्याद सकिएको अध्यागमन कार्यालयले जनाएको छ । लकडाउनअघि भिसाको म्याद सकिएका पर्यटकलाई जरिवाना लगाइएको आचार्यले बताए ।


काठमाडौंस्थित कतार एयरवेजको कार्यालयले यो उद्धार उडानको आर्थिक व्ययभार काठमाडौंमा रहेको जर्मन दूतावासले ब्यहोरेको जनाएको छ । कतारले काठमाडौंबाट उडाएका ती पर्यटकलाई दोहाबाट उनीहरुका मुलुकमा हुने नियमित उडानबाट स्वदेश फर्काउने छ ।


यसैबीच, कतारले शनिबार बिहान फ्रान्स र जर्मनी दूतावासकै खर्चमा दुइटा उद्धार उडान गर्दै छ । दुबै उडानमा ३ सय ५ यात्रु क्षमताकै वाइडबडी जहाज ल्याएर फ्रान्स, जर्मनी र अन्य युरोपियन मुलुकका नागरिकलाई दोहा लगिने भएको छ । त्यस्तै आगामी साता कतारकै जहाजबाट माल्दिप्स, अस्ट्रेलिया र अमेरिकाका नागरिक उद्धार गर्न सम्बन्धित मुलुकका दूतावास र काठमाडौंस्थित कतार एयरवेजले अनुमतिका लागि पहल गरिरहेको एक अधिकारीले कान्तिपुरलाई बताए ।


कतार एयरवेजले संसारभर १ सय ६० हाराहारी गन्तव्यमा उडान गर्दै आएकोमा अहिले विश्वभरका करिब सय गन्तव्यमा लकडाउन र कोरोनाको प्रभावका कारण उडान नभएको तथा ६० वटा गन्तव्यमा मात्रै नियमित उडान भइरहेको जनाएको छ ।


निगमको वाइडबडी शनिबार ग्वाङजाउ जाँदै, निगमको टुइनअटर लुक्लाबाट पर्यटक र नेपालगन्‍जमा बिरामीको संकलित नमुना लिन जाँदै

नागरिक उड्डययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले शनिबार नेपाल वायुसेवा निगमको वाइडबडी विमानलाई पनि चीनको ग्वाङजाउमा मेडिकल कार्गो उडानमा जान अनुमति प्रदान गरिएको बताएका छन् । उनका अनुसार, लकडाउनको अवधिमा नेपाली ध्वजावहाक विमानले अन्तर्राष्ट्रिय कार्गो उडान अनुमति प्राप्त गरेको यो पहिलो हो । यो अवधिमा विदेशी एयरलाइन्सले भने काठमाडौंमा रित्तो जहाज पठाएर यताबाट विदेशी उद्धार गरिरहेका छन् ।


निगमको अपरेसन विभागका प्रमुख दिपु ज्वारचनका अनुसार शनिबार बिहान साढे १२ बजे चीन जाने उक्त विमानमा ३० टन हाराहारी मेडिकल सामग्री ल्याइँदै छ । काठमाडौंबाट खाली उड्ने जहाज फर्किँदा पनि कार्गो मात्रै ल्याएर ११ घण्टापछि राति काठमाडौं अवतरण हुने छ ।

त्यस्तै शनिबार निगमको टुइनअटर विमानले लुक्लामा अलपत्र परेका विदेशीलाई काठमाडौं ल्याउँदै छ । शनिबार कम्तीमा ५ वटा काठमाडौं लुक्ला उडान हुने ज्वारचनले बताए । शनिबार निगमको वाइ१२ई विमान नेपालगन्‍ज जाँदै छ । स्वास्थ्य मन्त्रालयले गरेको चार्टर उडानले नेपालगन्जबाट बिरामीको खकारको नमुनामात्रै ल्याएर फर्किने छ ।

शनिबार सीता एयरको जहाजले पनि लुक्लामा अलपत्र परेका विदेशीलाई उद्धार गरेर काठमाडौं ल्याउने अनुमति पाएको उक्त एयरलाइन्सका एक अधिकारीले बताएका छन् । शनिबारै पोखरामा अलपत्र परेका ३ सय विदेशीलाई श्री र यति एयरलाइन्सको विमानले काठमाडौं ल्याउँदै छ । पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मीका अनुसार प्रतिविदेशी यात्रु ५ हजार रुपैयाँका दरले यी दुई एयरलाइन्सले काठमाडौं ल्याउन लागेका हुन् ।

बोर्डले यो वसन्तकालीन सिजनमा देशभर १० हजार पर्यटक विभिन्न ठाउँमा पदयात्रा लगायतका भम्रणमा रहेको अनुमान गरेको छ । यीमध्ये पोखरासहित २२ स्थानमा अलपत्र परेका ५ सय २६ विदेशी बोर्डको सम्पर्कमा आएका छन् । उनीहरुलाई पनि उद्धार गरिने सीइओ रेग्मीले बताए ।


यसैबीच बोर्डकै पहलमा बिहीबार र शुक्रबार गरी २ सय ५ जनालाई जहाज र बसमा गरेर काठमाडौं ल्याइसकिएको छ । शुक्रबार साँझ यति एयरलाइन्सको जहाजले पोखराबाट ५ विदेशी पर्यटकको उद्धार गरेर काठमाडौं ल्याएको छ । यतिका अनुसार, काठमाडौंस्थित स्वीस दूतावासले आफ्ना नागरिकहरुको उद्धारका लागि अनुरोध गरेपछि नागरिक उड्डययन प्राधिकरणसँग अनुमति लिएर उक्त कम्पनीले आफ्नो एटीआर विमान पोखरा पठाएको थियो ।


शुक्रबारै एयर डाइनेस्टी, सिम्रिक एयर र कैलाश एयरका हेलिकप्टरले पनि ५ वटा उद्धार उडान गरेर बिरामी विदेशी र स्वदेशीलाई काठमाडौं ल्याएका थिए ।

प्रकाशित : चैत्र १४, २०७६ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?