२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

सरकारलाई कांग्रेसका १७ सुझाव 

काठमाडौँ — प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कोभिड–१९ नियन्त्रणका लागि सरकारले चालेका सम्पूर्ण कदममा साथ र समर्थन रहेको जनाउँदै १७ वटा सुझाव दिएको छ ।

सरकारलाई कांग्रेसका १७ सुझाव 

कांग्रेसले शुक्रबार कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्रीमन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै तत्काल गम्भीर बन्नुपर्ने विषयमा सुझाव दिएको हो ।


प्रतिनिधिसभाका कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा अन्य सामग्री विदेशबाट अविलम्ब ल्याउन आग्रह गरिएको छ ।

कोभिड–१९ फैलन नदिन लकडाउन (राष्ट्रव्यापी बन्द) अत्यावश्यक भएकाले यसलाई सफल बनाउन सुरक्षा निकाय र प्रशासनलाई सहयोग गर्नु सबै नागरिकको दायित्व भएको पनि कांग्रेसले जनाएको छ । लकडाउन सफल पार्न खटिएका सुरक्षा निकायलाई गुणस्तरीय मास्क र सुरक्षा उपकरणको व्यवस्था गर्न सरकारसँग कांग्रेसले आग्रह गरेको छ ।


के–के छन् कांग्रेसका सुझाव ?

  • विश्वमा फैलिएको कोरोना महामारी मानव सभ्यताका लागि शताब्दीकै ठूलो चुनौतीका रूपमा आइरहेको छ । यसको नियन्त्रणका लागि सरकार ज्यादै गम्भीर, संवेदनशील, दृढ र गतिशील हुनु जरुरी छ ।
  • आम नागरिकले कोरोना नियन्त्रणका लागि सजगता र धैर्यता अपनाउनु आवश्यक छ । कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीप्रति राज्य र आम नागरिकको पूर्ण साथ र सहयोग जरुरी छ ।
  • यस सन्दर्भमा आवश्यक चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्री व्यवस्था गर्न नसक्नु सरकारको अकर्मण्यता हो । यो ज्यादै जोखिमपूर्ण रहेको छ ।
  • नेपाल सरकारले कोरोना नियन्त्रणसम्बन्धी चिकित्सक, नर्स र स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीई (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट) लगायत चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा अन्य सामग्री विदेशबाट अविलम्ब आयात गर्न अत्यावश्यक छ ।
  • कोरोना महामारी फैलन नदिन लकडाउन (राष्ट्रव्यापी बन्द) अत्यावश्यक कार्य हो । लकडाउनलाई सफल बनाउन सुरक्षा निकाय र प्रशासनलाई सहयोग पुर्‍याउनु सबै नागरिकको दात्यिव हो । सुरक्षा निकायलाई पनि गुणस्तरीय मास्क र सुरक्षा उपकरणको व्यवस्था गर्न नितान्त जरुरी छ ।
  • यो महामारीलाई नियन्त्रण गर्न केन्द्रीय सरकारले प्रदेश सरकार र स्थानीय निकायहरूलाई समन्वयात्मक रूपमा अझै गतिशिल ढंगले परिचालन गर्न आवश्यक छ ।
  • सातै प्रदेशमा कोरोना परीक्षण प्रयोगशाला यथाशीघ्र सञ्चालन गर्न जरुरी छ । यसका साथै सबै प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थासम्म स्वास्थ्य उपकरण र सामग्रीको तत्काल प्रबन्ध गर्न अत्यावश्यक छ ।
  • कोरोना नियन्त्रणका लागि सामाजिक र निजी संघ/संस्थाले चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्री व्यवस्थाका लागि गरिरहेको पहललाई सकारात्मक रूपमा लिई सरकारले यसका लागि प्रोत्साहन गर्न र सहयोग पुर्‍याउन आवश्यक छ ।
  • लकडाउनका कारणले दैनिक ज्यालादारी गर्दै जीवनयापन गरिरहेका श्रमिक, कृषि मजदुरलाई खाद्यान्न व्यवस्था गर्न स्थानीय निकाय, व्यावसायिक र सामाजिक संघसंस्था तथा राजनीतिकर्मीहरूले समन्वय गरी गतिशील भूमिका निर्वाह गर्न अत्यावश्यक भइसकेको छ ।
  • छिमेकी मित्रराष्ट्र भारतमा समेत लकडाउन भइरहेको अवस्थामा यात्राका क्रममा भारतमा बिचल्ली परेका नेपालीको उद्धार र रक्षाका लागि सरकारी निकाय गम्भीर बन्न जरुरी छ ।
  • संसारभरि छरिएर रहेका नेपालीको स्वास्थ्य र सुरक्षाका लागि हाम्रा कूटनीतिक निकायहरूले सक्रियता बढाउनु आवश्यक छ ।
  • यो महामारी नियन्त्रण गर्न रातदिन खटिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी धन्यवादका पात्र छन् । उनीहरूको जीवन रक्षा र स्वास्थ्य सुरक्षालाई सरकारले पहिलो प्राथमिकता दिनुपर्छ । अहोरात्र खटिरहेका सुरक्षाकर्मी, प्रशासन र स्थानीय जनप्रतिनिधिको मनोबल बढाउन सरकार र जनस्तरबाट साथ दिन जरुरी छ ।
  • कोरोना नियन्त्रणका लागि नेपाल सरकारले सम्पूर्ण शक्ति केन्द्रीकृत गरेर लगाउन र अन्तर्राष्ट्रिय सहयोग तत्काल जुटाउन अपरिहार्य छ ।
  • कोरोना महामारी नियन्त्रणका लागि सरकारले नेपालभरि नै लकडाउन गरिरहेका बेला दीर्घरोगी तथा नियमित रूपमा चिकित्सकको परामर्शमा औषधि सेवन गरिरहेका बिरामी तथा अन्य रोगका बिरामीलाई उपाचारको आवश्यक प्रबन्ध गर्न जरुरी छ ।
  • दैनिक उपभोग्य खाद्य पदार्थ आपूर्तिको व्यवस्था गर्न एवं फोहोर व्यवस्थापन गर्न सम्बन्धित सरकारी निकायले सयममै ध्यान पुर्‍याउनु जरुरी छ ।
  • नेपाल सरकारले कोरोना भाइरस (कोभिड) नियन्त्रणसम्बन्धी कार्य भोलि होइन, आजै गर्न जरुरी छ । सबै नेपाली जनताले सजगता, धैर्यता र संयमता अपनाउन जरुरी छ ।
  • विश्वमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारलाई हाम्रो पूर्ण साथ एवं सहयोग छ र सरकारले तत्काल उपरोक्त विषयमा गम्भीरतापूर्वक ध्यान दिएर उपयुक्त कदम चाल्न ध्यानाकर्षण गराउँछौं ।

प्रकाशित : चैत्र १४, २०७६ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?