कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तयारी अवस्थामा हब अस्पताल

फातिमा बानु

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीका रूपमा फैलिइहाले उपचार गर्न तयार रहेको हब अस्पतालहरूले बताएका छन् । सरकारले कोभिड लक्षणका बिरामी उपचारका लागि नर्भिक, स्टार, वयोधा, अल्का, ह्याम्स, बीएन्डबी, न्युरो, ग्रान्डी र सुमेरु गरी नौ वटा निजी हब अस्पताल तोकेको छ । ती अस्पतालले ज्वरो क्लिनिकदेखि आईसीयूसम्म छुट्याएका छन् ।

तयारी अवस्थामा हब अस्पताल

सबै अस्पतालमा ६० बेडको आईसीयू छुट्याइसकेको एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) का महासचिव हेमराज दाहालले बताए । ‘हामीले उपचार गर्दैनौं भनेका छैनौं,’ उनले भने, ‘सुरक्षा सामग्री नहुँदा स्वास्थ्यकर्मीको मनोबल बढेको छैन, बजारमा मास्कसमेत पाइँदैन, पीपीई त टाढाको कुरा ।’

ज्वरो क्लिनिकमा बिरामी जाँच्ने चिकित्सक, शंकास्पद बिरामीका नमुना परीक्षणका लागि स्वाब निकाल्ने स्वास्थ्यकर्मी र आइसोलेसनका लागि आवश्यक सामग्री अभावमा काम गर्ने उत्साह नभएको चिकित्सकहरूको गुनासो छ । अहिले कतिपय अस्पतालले आफ्नै ढगंले स्थानीय मास्कदेखि पीपीई बनाएर काम गरिरहेका छन् । अनिवार्य रूपमा ज्वरो क्लिनिक राखेर बिरामी नफर्काउन सरकारले तोकेका नौ हब अस्पताललाई अफिनले निर्देशन दिइसकेको महासचिवव दाहालले बताए । ‘कुनै अस्पतालले ज्वरोका बिरामी हेर्दिनँ भनेर रिफर गर्न पाउँदैन,’ उनले भने, ‘शंकास्पद भए टेकुमा स्वाब पठाउनुपर्छ र सम्भव भएसम्म निमोनिया र ज्वरोको आफैं उपचार गरेर मात्रै अन्यत्र पठाउनुपर्छ ।’ एक सय बेडभन्दा माथिका अस्पतालले पाँच बेड छुट्याउनैपर्ने उनले बताए ।

सानेपास्थित स्टार अस्पतालमा पनि ज्वरो क्लिनिक राखेर बिरामी जाँच भइरहेको छ । शंकास्पदको नमुना परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको छ । मास्क, सेनिटाइजर र पीपीई आफैं बनाएर स्वास्थ्यकर्मी सुरक्षित राख्ने प्रयास गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले बताए । ‘कोभिड लक्षण भएका बिरामी आइहाले पाटन अस्पतालसँग सहकार्य गरी उपचार गर्ने व्यवस्था छ । अस्पतालमा दुई बेड आईसीयू र अब्जरभेसन वार्ड तयार गरिएको उनले बताए ।

धापासीस्थित ग्रान्डी अस्पतालले शंकास्पद बिरामी भर्ना गर्न आइसोलेसन र ११ बेडको आईसीयू छुट्याएको छ । ३० बेडको ज्वरो वार्ड राखेर नियमित बिरामी हेरिरहेको अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले बताए । बिरामी हेर्ने स्वास्थ्यकर्मीदेखि लुगा धुने, सफा गर्ने कर्मचारी जोखिममा रहेको उनको भनाइ छ । बिरामी हेर्ने चिकित्सक र नर्सलाई कोभिड संक्रमण भइहाले अस्पतालले निःशुल्क उपचार गर्ने सर्तमा काम बोलाइएको छ । अस्पतालले स्वास्थ्यकर्मीको मनोबल बढाउन आफैं पीपीई सिलाइरहेको छ । ‘पानी नछिर्ने कपडा ल्यायौं र अस्पतालमै टेलर बोलाएर सिलायौं,’ उनले भने, ‘महँगोमा भए पनि एन५ मास्क किनेर स्वास्थ्यर्मीलाई दिएका छौं, बिरामी फर्काइएको छैन ।’

थापाथलीस्थित नर्भिक अस्पतालमा ज्वरो क्लिनिकसहित १५ बेडको आइसोलेसन वार्ड तयार गरेको छ । शंकास्पद बिरामीलाई स्वाबको रिपोर्ट नआएसम्म अब्जरभेसन वार्डमा राखिने अस्पतालका प्रबन्धक आरपी मैनालीले बताए । ‘कोभिडकै बिरामी राख्नुपरे पनि हामी राख्न सक्छौं,’ उनले भने । जावलाखेलस्थित अल्का अस्पतालले पनि ज्वरो क्लिनिक राखेर बिरामी हेरिरहेको छ ।

५० बेडभन्दा माथिका अन्य अस्पतालले पनि व्यवस्थापन मिलाइरहेको अफिनका अध्यक्ष वसन्तकुमार चौधरीले जानकारी दिए । ‘अन्य बिरामी सिफ्ट गरेर भए पनि निमोनिया र ज्वरोका बिरामी हेर्न अस्पतालहरूलाई अनुरोध गरेका छौं,’ उनले भने, ‘पूर्वाधार र सुरक्षा सामग्री भए सबैले सरकारी मोडलमा काम गर्न तयार छन् ।’ सरकारले हब अस्पतालाई कोभिड परीक्षण गर्ने र बिरामी भर्ना गर्ने जिम्मेवारी दिएको छैन । कोभिड लक्षणका बिरामी आए आइसोलेसनमा राख्न, स्वाब टेकु पठाउन र रिपोर्ट पोजिटिभ आए सरकारले तोकेका चार वटा स्याटलाइट अस्पतालमा रिफर गर्न निर्देशन दिइएको छ ।

प्रकाशित : चैत्र १४, २०७६ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?