प्रदेश १ मा ८ सय आइसोलेसन शय्या थपिँदै

कान्तिपुर संवाददाता

विराटनगर — प्रदेश १ मा ८ सय शय्याको आइसोलेसन वार्ड बनाइने भएको छ । प्रदेश सरकारले प्रदेशका विभिन्‍न जिल्ला अस्पतालमा सम्भावित संक्रमितलाई राख्‍नका लागि आइसोलेसन बनाउन लागेको हो ।

सामाजिक विकास मन्त्रालयले बिहीबार विभिन्‍न ६ वटा ठूला अस्पताललाई आइसोलेसन वार्ड बनाउन निर्देशन दिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशमा हालसम्म २ सय ३२ वटा आइसोलेसन शय्या छन् । यो पर्याप्त नहुने भएकाले थप शय्या व्यवस्था गर्न लागिएको उनले बताए ।


विराटनगरका नोबेल अस्पतालमा दुई सय, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सय, विराटनगरकै कोसी अस्पतालमा सय, विराट मेडिकल कलेजमा सय, विर्तामोडको बीएन्डसी अस्पतालमा डेढ सय, भद्रपुरस्थित मेची अस्पतालमा ५० शैय्याको आइसोलेसन शैय्या तयार गरिने भएको हो ।


विराटनगरमा प्रदेश सरकारले संक्रमितको उपचार र रेखदेखका लागि ५० शय्या रहने बेग्लै अस्पताल निर्माण गरिरहेको छ । नेशनल ट्रेडिङको भवनमा बन्दै गरेको यो अस्पतालमा कम्तीमा १० शय्या भेन्टिलेटरसहितको हुने जनाइएको छ ।


पहिल्यै रहेको भवनको सफाइ, खानेपानी व्यवस्था, रंगरोगन, बिजुली व्यवस्थापनलगायत काम भइरहेको प्रदेश सरकारले जनाएको छ । उक्त स्थानमा स्वास्थ्य सम्बन्धी उपकरणहरु जडान गर्ने काम समेत भइरहेको मन्त्री घिमिरेले बताए । प्रकाशित : चैत्र १३, २०७६ १८:२८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बास नपाएर अलपत्र चिनियाँ पर्यटकको उद्धार

कान्तिपुर संवाददाता

म्याग्दी — बास नपाएर अलपत्र परेका दुईजना चिनियाँ पर्यटकलाई रघुगंगा गाउँपालिका-१ बेगबाट प्रहरीले उद्धार गरी सदरमुकाम बेनीमा ल्याएको छ ।

दुई महिनादेखि नेपाल भ्रमणमा रहेका दुई चिनियाँ पर्यटक बेनी–जोमसोम सडकको १५ किलोमिटरमाथि बेगखोलाबाट माथि रहेको बेग गाउँमा पुगेका थिए । चैत १० गते स्थानीय खाजा घरमा आफ्नो पहिचान सहित बास बसेका चिनियाँ पर्यटक मंगलबार गाउँ निक्लेपछि स्थानीय त्रसित भइ रघुगंगा गाउँपालिका–२ भगवतीस्थित प्रहरी चौकीलाई खबर गरेका थिए ।

चीन महामारीको रुपमा विश्वभर फैलिएको कोभिड–१९ को उद्गमस्थल भएकोले चिनियाँ पर्यटकदेखि स्थानीय त्रसित भएका हुन् । कोरना संक्रमण रोक्न नेपाल सरकारले देशभर लकडाउन गरेपछि यातायातका साधन नचलेको र स्थानीयले बास बस्न नदिँदा अलपत्र परेका चिनियाँ पर्यटकलाई प्रहरीले बुधबार उद्धार गरी सदरमुकाम ल्याएर एक होटलमा सुरक्षित बस्ने व्यवस्था मिलाएको हो ।
‘कोरनाको उद्गम थलो चीन भएकोले चिनियाँ पर्यटक भन्ने बित्तिकै स्थानीय डराएर प्रहरीलाई खबर गरेकोले हामीले बुधबार उनीहरुको उद्धार गरी बेनी ल्याएका हौं । उनीहरु होटलमा सुरक्षित गरिएको छ,’ प्रहरी नायब उपरिक्षक किरणजंग कुँवरले भने, ‘दुई महिनादेखि नेपालमा रहेका उनीहरु स्वस्थ्य छन, उनीहरु कोरोना संक्रमित होइनन् । डराउनु पर्दैन ।’

प्रकाशित : चैत्र १३, २०७६ १८:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×