फ्रेन्च पर्यटक लिन बुद्धको जहाज पोखरा गयो

सुरज कुँवर

काठमाडौँ — नेपाल घुम्‍न आएका ५८ जना फ्रान्सेली नागरिक लिन बुद्ध एयरको जहाज पोखरा उडेको छ । बुद्ध एयरका अनुसार, सरकारले लकडाउन गरेपछि अलपत्र परेका फ्रान्सेली पर्यटकलाई लिन बुद्ध एयरको जहाज काठमाडौंबाट बिहीबार दिउँसो रित्तै पोखरा गएको हो ।


यो काठमाडौंस्थित फ्रान्सेली दूतावासले गरेको चार्टर उडान हो। बिहान ९ बजे नै उड्नुपर्ने जहाज गृह,पर्यटनसहित तीन वटा मन्त्रालयको अनुमति प्रक्रियाको अल्झनका कारण ६ घन्टा ढिलो पोखराका लागि उडेको हो।


तर, फ्रान्सेली पर्यटक विमान ७ बजे नै पोखरा विमानस्थलमा आइपुगेका थिए। सरकारले मंगलबार लकडाउन गरेयता तेस्रो दिन जहाजतर्फको यो दोस्रो चार्टर उडान हो। पहिलो चार्टर चाहीँ तारा एयरले लुक्‍ला गरेको थियो।हेलिकप्टरतर्फ बिहीबार ७ वटा चार्टर उडान भएका छन्। प्रकाशित : चैत्र १३, २०७६ १६:०२

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

लकडाउनमा घरबाटै हेर्नुस् नाटक

कान्तिपुर संवाददाता

काठमाडौँ —  ‘लकडाउन’को समयमा थिएटर मल–कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले भर्चुअल ‘रंगमञ्च महोत्सव’ आयोजना गर्ने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिमका कारण दर्शक घरभित्र  लकडाउन छन् ।

रंगमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन महत्सव सुरु गरेको महोत्सव निर्देशक केदार श्रेष्ठ बताउँछन्। ‘तर यो महोत्सव भर्चुअल हुनेछ। हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुनेछ। घरमै बसेर नाटक हेर्न सकिनेछ, प्रतिक्रिया दिन सकिनेछ,’ उनले भने।

थिएटर मलको अफिसियल पेज फेसबुकबाट हरेक साँझ ठिक ५ बजे नाटक मञ्चन हुनेछ। महोत्सवको पहिलो दिन विश्व रंगमञ्च दिवसको सन्देश वाचन गरिने बताइएको छ।

रंगप्रेमीहरूलाई दैनिक जीवनयापन सहज बनाउन र मानसिक रूपमा साथ दिन भर्चुअल माध्यम प्रयोग गर्दै नाटकको भिडियो फेसबुकको भित्तामा प्रस्तुत गरिने श्रेष्ठ बताउँछन्। महोत्सवलाई ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ अर्थात ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ नाम दिइएको छ। विश्व रंगमञ्च दिवस अर्थात २७ मार्चकै दिन सुरू हुने महोत्सवको पहिलो चरण सात दिनसम्म चल्नेछ। महोत्सवको स्लोगन ‘क्वारेन्टाइन, इट्स योर टाइम’ तय भएको छ भने सबस्लोगन ‘फाइभ पीएम, इट्स थिएटर टाइम’ रहनेछ।

लाइभ स्ट्रिमिङमा विभिन्न समय र स्थानमा मञ्चन भएका नाटक प्रस्तुत गरिनेछ। उत्सवको पहिलो दिन श्रेष्ठद्वारा लिखित तथा निर्देशित नाटक ‘मान भर्सेस मती’ प्रस्तुत गरिनेछ। लाइभ स्ट्रिमिङ थिएटर टाइम जस्तै ठीक समयमा हुनेछ उनी बताउँछन। थिएटरकै नियमहरू लागू हुनेछन्। लाइभ स्ट्रिमिङ पछि नाटक पुनः हेर्न पाइने छैन।

फेस्टिभल संयोजक सञ्जिता पराजुलीका अनुसार लाइभ स्ट्रिमिङ भएका नाटकको भिडियो डाउनलोड गर्न र मोबाइल वा क्यामेराले खिच्न निषेध छ। त्यसो गरिएको पाइएमा सर्वाधिकार र साइबर कानुनअनुसार कारबाही हुने उनले बताइन्।

फेस्टिभलको लाइभ स्ट्रिमिङ संयोजन रमेश भट्टराईले गर्दैछन्। अन्य बेलाको महोत्सवमा जस्तै यसमा पनि नाटक सुरु हुनुअघि उद्घोषण हुने उनले बताए। उनी भन्छन्, ‘त्यस अवधिमा ‘कोरोना (कोभिड १९) बारे सामान्य जानकारी र क्वारेन्टाइन बस्दाका नियमहरू समेत उद्घोषण गरिनेछ।’

नाटकको समयावधि १ घण्टादेखि २ घण्टासम्मको हुने र लाइभ स्ट्रिमिङ भिडियो सार्वजनिक रूपमा शेयर गर्न सकिने उनले जानकारी दिए। लाइभ स्ट्रिमिङपछि थिएटर मलकै फेसबुक पेजमा अन्तरक्रिया गर्न सकिनेछ।

प्रकाशित : चैत्र १३, २०७६ १५:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×