कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

उत्तम उपाय घरमै बस्‍नु

काठमाडौँ — भुटानमा फागुन ६ गते नोवल कोरोना (कोभिड–१९) का पहिलो बिरामी फेला परे । उनी अमेरिकाबाट आएका पर्यटक थिए । उनी भुटान पुगेको केही दिन मात्र भएको थियो । एक ठाउँबाट अर्को ठाउँमा जाँदा उनी सार्वजनिक बस नभई ट्याक्सीमा गएका थिए । उनले धेरै मानिससँग भेटघाट नगरेका भए पनि भुटानको स्वास्थ्य मन्त्रालयको अनुमानअनुसार उनी करिब ९० जनाको प्रत्यक्ष सम्पर्कमा आएका थिए ।

विदेशबाट फर्केका नेपालीले काठमाडौं ओर्लेपछि बस तथा अन्य यातायातका साधनमा घर पुग्ने गर्छन् । कतिपयले विमानस्थलमै आफन्तसँग भेटघाट गर्छन् भने कतिपयले घरगाउँमा । त्यसो गर्दा उनीहरूको सम्पर्क ९० जनाभन्दा धेरैसँग हुन्छ । नेपालमा भेटिएकी कोभिड–१९ की दोस्रो संक्रमितसँगै विमानमा आएकामध्ये थोरैलाई मात्र सरेको रहेछ भने पनि स्थिति भयावह हुन सक्छ । यस्तो नहोस् भन्नका लागि अहिले उपलब्ध एक मात्रै उपाय भाइरस लागेका सम्भावित व्यक्तिको नजिक नपर्नु नै हो । तर कसलाई भाइरस लागेको छ, छैन भन्ने यकिन नहुने भएकाले जो कोहीसँग पनि नजिक नहुनु सबैभन्दा राम्रो हो ।


‘जादुको छडी घुमाएर सबै अमेरिकीलाई १४ दिनसम्म एकअर्काभन्दा ६ फिट टाढा हलचल गर्न नदिई राख्न सकिने भए यो महामारी रोकिने थियो,’ महामारी विज्ञहरूलाई उद्धृत गर्दै द न्युयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टमा भनिएको छ ।


‘विज्ञहरू भन्छन्, यो भाइरसलाई रोक्न सकिन्छ, तर कठोर कदम चालेका खण्डमा मात्रै,’ शीर्षकको रिपोर्टमा स्वास्थ्य रिपोर्टर डोनाल्ड डी. म्याकनिल, जुनियरले लेखेका छन् । सो रिपोर्टमा अरू कुराका साथै भाइरसलाई एउटा सहरबाट अर्को सहरमा, एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलन दिन नहुनेमा जोड दिइएको छ । रिपोर्टमा भनिएको छ, ‘कोरोना भाइरस डरलाग्दो भए पनि यसलाई रोक्न सकिन्छ भन्ने कुरा चीन, दक्षिण कोरिया, सिंगापुर र ताइवानले देखाएका छन् । तर यसका लागि गर्नुपर्ने कामका बीचमा नेताहरूले अभूतपूर्व समन्वय गर्नुपर्छ र अत्यन्त धेरै पैसा खर्च गर्नुपर्छ । अनि नागरिकले अभूतपूर्व भरोसा राख्नुपर्छ र अभूतपूर्व सहयोग गर्नुपर्छ ।


अभूतपूर्व समन्वय र अभूतपूर्व लगानी गर्ने कुरा हामी नागरिकको हातमा छैन । हामी नागरिकले आफू संक्रमित नभइयोस् र आफूमार्फत अरूलाई संक्रमण नहोस् भन्ने कुरा यकिन गर्न भने सक्छौं । यसो गर्नु भनेको अरू मान्छेसँगको सम्पर्क सकेसम्म नगर्नु हो ।


त्यस रिपोर्टमा भनिएको छ, कोरोना भाइरस सबैभन्दा पहिले फैलिएको वुहान प्रान्तलाई चीनले बाँकी भागबाट पूर्ण रूपमा अलग्याएको थियो, त्यसैले भाइरस अन्यत्र ठूलो मात्रामा फैलन पाएन । अहिले कोरोनाबाट सबैभन्दा धेरै मान्छे मरेको देश इटालीले भने यस्तो काममा ढिला गर्‍यो ।


‘मानिसलाई हिँड्न नदिने नियम जति खुकुलो भयो, अस्पतालमा उति नै बढी क्षमताभन्दा धेरै बिरामी पुग्छन् र उति नै बढी मानिस मर्छन् । अर्थतन्त्र चालु हुन उति नै बढी समय लाग्छ,’ रिपोर्टमा भनिएको छ ।


बेलायतबाट प्रकाशित द गार्डियनका अनुसार, अहिले संसारका २० प्रतिशत मानिसलाई सरकारले घरबाट ननिस्कन भनेको छ । बेलायतमा बन्दको आदेश कडाइका साथ लागू गराउने तयारी गरिएको छ । ‘घरबाट बाहिर निस्कन पाउँदैनौं,’ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्ना नागरिकलाई भनेका छन् ।


अमेरिकाको वासिङ्टन राज्यका गभर्नर जे इन्स्लीले आफ्ना नागरिकलाई गरेको सार्वजनिक सम्बोधनमा बन्दलाई भाइरससँग लड्ने एक मात्र हतियार भनेका छन् । ‘तपाईंहरू सार्वजनिक स्थानमा जति थोरै समय निस्कनुहुन्छ, त्यति बढी ज्यान जोगिन्छ,’ उनले भनेका छन् ।


कोरियामा संक्रमितलाई सरकारी आश्रयस्थलमा राखिएको थियो । उनीहरूका फmोन र त्रेडिट कार्डबाट सूचना लिएर बिरामी हुनअघि ती मानिस कहाँ–कहाँ गएका थिए, पत्ता लगाइएको थियो । त्यसपछि ती मानिसहरूसँग उनीहरूलाई संक्रमित व्यक्तिले भेटे नभेटेकोबारे फोनबाट जानकारी लिइएको थियो । संक्रमित मानिसलाई घरमै एकान्तबासमा राखिएको थियो । घरबाट बाहिर निस्कनेलाई आठ हजार डलर जरिवाना तोकिएको थियो ।


कसैलाई संक्रमण भएको छ कि भनेर दक्षिण कोरियामा मार्च ९ सम्ममा २ लाख १० हजार मानिसको जाँच गरिएको थियो । नेपालमा यस्तो जाँच हुने सम्भावना छैन । त्यसैले, नेपालमा पनि हिँडडुल गर्नमा लगाइएको निषेधको जति धेरै पालना हुन्छ, भाइरस फैलन त्यति नै कम हुने निश्चित छ ।

प्रकाशित : चैत्र १३, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?