कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीनै सरकारबीच सुदृढ समन्वय गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस संक्रमण रोकथामका लागि स्वास्थ्यसम्बन्धी भौतिक पूर्वाधार तथा प्राविधिक तयारी गर्न संघ तथा प्रदेश सरकार, जिल्ला समन्वय समिति र पालिकाहरूबीच सुदृढ समन्वय हुनुपर्नेमा जोड दिएकी छन् ।

तीनै सरकारबीच सुदृढ समन्वय गर्न राष्ट्रपतिको आह्वान

सरकारले चालेका कदमलाई गम्भीरतासाथ आत्मसात गर्न पनि उनले अपिल गरेकी छन् ।


राष्ट्रपति भण्डारीले बुधबार वक्तव्य जारी गर्दै सरकारका आधिकारिक निकायले जारी गरेका निर्देशन र आचारसंहिता पालन गर्न भनेकी छन् । ‘कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चैत ९ देखि २१ गतेसम्म मुलुकभर अत्यावश्यकबाहेकका सबै सेवा र हाललाई अन्तर्राष्ट्रिय सीमा नाकासमेत बन्द गर्ने निर्णय गरेको छ ।


यसबाट आम जनताको दैनिक जीवनमा केही कठिनाइ हुने भए तापनि सरकारको यस सुझबुझपूर्ण र सामयिक निर्णयलाई सबैले गम्भीरतापूर्वक आत्मसात गर्नुपर्छ,’ राष्ट्रपतिको वक्तव्यमा छ, ‘यस परिवेशमा वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर राख्दै हरेक नागरिकले सरकारका आधिकारिक निकायले जारी गरेका निर्देशन एवं आचारसंहिता पालना गर्दै घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न म हार्दिक आह्वान गर्न चाहन्छु ।’


उनले यस संवेदनशील परिस्थितिमा सही सूचना ग्रहण र प्रवाह गर्दै कोभिड–१९ को विरुद्धमा सचेतनापूर्वक अग्रसर हुन राजनीतिक दल तथा तिनका भ्रातृ तथा भगिनी संगठन, युवा तथा विद्यार्थी, कल्याणकारी संघसंस्था लगायतलाई आह्वान गरेकी छन् ।


‘सम्पूर्ण सुरक्षा संयन्त्र र चिकित्सक एवं स्वास्थ्यकर्मर्हीरूबाट भइरहेको सत्प्रयासमा सम्बद्ध सबै पक्षबाट आवश्यक सहयोग र समन्वयको अपेक्षासमेत लिएको छु,’ राष्ट्रपति भण्डारीको वक्तव्यमा भनिएको छ ।

प्रकाशित : चैत्र १२, २०७६ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?