कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुलुकभर १ लाख ३० हजार जना अट्ने क्‍वारेन्टाइन निर्माणको तयारीमा सरकार*

बबिता शर्मा

काठमाडौँ — सरकारले देशभर करिब १ लाख ३० हजार व्यक्ति अट्‍ने क्‍वारेन्टाइनहरु निर्माणको तयारी गरेको छ । कोभिड–१९ विरुद्ध क्‍वारेन्टाइन स्थल निर्माण र व्यवास्थापन कार्यदलका संयोजक एवं पर्यटनमन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय मापदण्डअनुसार देशभर करिब १ लाख ३० हजार व्यक्ति अट्‍ने क्‍वारेन्टाइन निर्माणको तयारी भइरहेको बताए ।

मुलुकभर १ लाख ३० हजार जना अट्ने क्‍वारेन्टाइन निर्माणको तयारीमा सरकार*

‘संघीय सरकारले ५ हजार अट्ने क्‍वारेन्टाइन, सबै प्रदेश सरकारले २/२ हजार, ६ वटा महानगरपालिकाले २/२ हजार, उपमहानगरपालिकाले १ हजार ७७ जिल्ला मध्ये हिमाली जिल्लाले ५ सय, पहाडी जिल्लाले १ हजार र तराईका जिल्लाले २/२ हजार क्‍वारेन्टाइन निर्माणको तयारी भएको छ,’ मन्त्री भट्टराईले कान्तिपुरसँग भने, ‘यो सबै जोड्दा १ लाख ३० हजार व्यक्ति अट्ने क्वारेन्टाइन तयार हुन्छ ।’


बुधबारमात्रै कोभिड–१९ बाट संक्रमित थप एकजना नेपाली काठमाडौंमा भेटिएसँगै कार्यदलले क्‍वारेन्टाइन निर्माणमा सक्रियता बढाएको हो ।


‘यो केन्द्रिकृत हैन । आवश्यक पर्‍यो भने सबैले आफ्नो–आफ्नो ठाउँमा चलाउने हो । त्यहीअनुसार तयारी भएको छ,’ मन्त्री भट्टराईले भने ।


चैत्र ९ गते बसेको भट्टराई नेतृत्वको कार्यदल बैठकले उच्चस्तरीय समन्वय समितिसमक्ष प्रदेश सरकार तथा स्थानीय तहलाई क्‍वारेन्टाइन निर्माण तयारी गर्न निर्देशन दिन प्रस्ताव पेस गरेको थियो । सोही प्रस्ताव कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिबाट अनुमोदन भइसकेको छ । कार्यदलले तयार पारेको कोभिड–१९ सम्बन्धी क्‍वारेन्टाइन व्यवस्थापन मापदण्ड पनि स्वीकृत भइसकेको छ ।


त्यसलगत्तै देशभर क्‍वारेन्टाइन स्थल निर्माण तयारी भएको हो । बुधबारमात्रै मन्त्री भट्टराईले क्‍वारेन्टाइन निर्माणका लागि नगरकोट, दुवाकोट र पशुपति धर्मशालाको अनुगमन गरेका थिए । नगरकोटका होटलमा करिब २ हजार कोठाहरु उपलब्ध छन् । तीमध्ये पहिलो चरणमा ५ सय कोठाहरुलाई क्‍वारेन्टाइन निर्माण गरिने भएको छ । आवश्यक पर्दा २ हजार नै प्रयोग गर्न दिन त्यहाँका व्यवसायीहरु तयार भएका छन् ।


नगरकोटका होटलहरुमा क्‍वारेन्टाइन निर्माणका लागि व्यवसायी, स्थानीय प्रशासन, चारवटै सुरक्षा निकायका प्रतिनिधिहरु रहेको समिति बनाइएको छ । यस्तो समिति काठमाडौं र ललितपुरमा पनि छ । क्‍वारेन्टाइनका लागि सरकारले सार्वजनिक भवन र होटलहरुलाई बढी प्राथमिकतामा राखेको छ ।


बुधबार नै मन्त्री भट्टराई नेतृत्वको टोलीले दुवाकोटस्थित केएमसी हस्पिटलको पनि अनुगमन गरेको थियो । दुवाकोटमा क्‍वारेन्टाइनको लागि ४५० र आइसोलेसनका लागि ५ वार्ड तयारी अवस्थामा छ ।


यस्तै कार्यदलका अनुसार पशुपति क्षेत्रमा रहेको नवनिर्मित धर्मशालामा क्‍वारेन्टाइनमा ७० जना राख्न मिल्नेगरी व्यवस्थापन भएको छ ।


*यसअघि '१ लाख ३० हजार व्यक्ति अट्‍ने क्‍वारेन्टाइन बनाइने' हुनुपर्नेमा '१ लाख ३० हजार क्वारेन्टाइन बनाइने' भएकोमा सच्याइएको छ ।

प्रकाशित : चैत्र १२, २०७६ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?