कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफैं सेनिटाइजर बनाउँदै अस्पतालहरु

अस्पतालले स्वास्थ्यकर्मी, बिरामी र अस्पताल प्रवेश गर्नेलाई प्रयोग गर्न पुग्ने गरी सेनिटाइजर बनाइरहेका छन्
कान्तिपुर संवाददाता

काठमाडौँ — राजधानीका अधिकांश अस्पतालले आफैं सेनिटाइजर बनाउन थालेका छन् । विश्वव्यापी रूपमा फैलिइरहेको कोभिड–१९ संक्रमणका कारण बजारमा सेनिटाइजर अभाव देखिएपछि विश्व स्वास्थ्य संगठनले तोकेको निर्देशिकाअनुसार सेनिटाइजर तयार पारिएको ती अस्पतालको भनाइ छ ।

चाबहिलस्थित ओम अस्पतालका व्यवस्थापक विनोद अधिकारीले स्वास्थ्यकर्मी, बिरामी र अस्पताल छिर्ने सबैलाई प्रयोग गर्न पुग्ने गरी सेनिटाइजर बनाइरहेको बताए। ‘संक्रमण नियन्त्रण कमिटीका नर्स सेनिटाइजर बनाउन तालिम प्राप्त छन्,’ उनले भने, ‘दुई वर्षअघि नै सेनिटाइजर बनाउँदै आएका थियौं, पहिले स्वास्थ्यकर्मीका लागि मात्रै बन्थ्यो, अहिले अस्पताल आउने सबैलाई पुग्ने गरी बनाइरहेका छौं।’

सानेपास्थित स्टार अस्पतालले पनि एक सातादेखि सेनिटाइजर बनाइरहेको छ।

प्रयोगशालाका कर्मचारीले अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सकलाई पुग्ने गरी बनाइरहेको अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रूपाखेतीले बताए। ‘अहिलेसम्म त हामीलाई पुगिरहेको छ, बजारमा कच्चा पदार्थ अभाव हुन थाल्यो, धेरै बनाउन सकिँदैन होला,’ उनले भने, 'हामीलाई पुग्ने गरेर उत्पादन गरिरहेका छौं।'

जावलाखेलस्थित रिदम न्युरो साइक्याट्रिक अस्पतालले पनि तीन दिनयता सेनिटाइजर बनाइरहेको छ। अस्पतालका स्वास्थ्यकर्मीलाई तालिम दिएर सेनिटाइजर बनाउन थालिएको निर्देशक डा. रितेश थापाले बताए। ‘१८ लिटर बनाएर राखेका छौं,’ उनले भने, ‘बिरामी र स्टाफलाई प्रयोग गर्न पर्याप्त पुग्छ।’ भारतबाट सेनिटाइजर नेपाली बजारमा आउन छाडेपछि थापाथलीस्थित नर्भिक अस्पतालले नेपाली कम्पनीले बनाएका सेनिटाइजर प्रयोग गर्न थालेको छ। विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार बनाइएकाले स्थानीयस्तरमा उत्पादित सेनिटाइजर खरिद गरिएको अस्पतालका प्रबन्धक आरपी मैनालीले बताए।

त्यस्तै, हरिसिद्धिस्थित क्यान्सर अस्पताल, बबरमहलस्थित अन्नपूर्ण न्युरो र धापासीस्थित ग्रान्डीलगायतका अस्पतालले पनि आफैं सेनिटाइजर बनाएर प्रयोग गरिरहेका छन्। ललितपुर महानगरपालिकाले पनि सेनिटाइजर उत्पादन गरिरहेको मेयर चिरीबाबु महर्जनका स्वकीय सचिव राजु महर्जनले बताए। ‘

महानगरपालिकाकै कर्मचारीलाई तालिम दिएर तयार पारेका हौं,’ उनले भने। उत्पादित सेनिटाइजर नगरवासीलाई ५० एमएलको १७ रुपैयाँमा बिक्री गरिरहेको उनले जानकारी दिए।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले यो साता १ सय ५० जनालाई सेनिटाइजर बनाउने तालिम दिएको छ। तालिम प्राप्त व्यक्तिले वडामा गएर अन्यलाई पनि तालिम दिने प्रतिष्ठानका वैज्ञानिक डा. साजन स्याउलाले बताए।


प्रकाशित : चैत्र १२, २०७६ ०९:००

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पीपीई नहुँदा जोखिममा स्वास्थ्यकर्मी

चिकित्सक भन्छन्, ‘पीपीई छैन भनेपछि हाम्रो मनोबल बलियो छैन, स्वास्थ्यकर्मी नै सुरक्षित नभए बिरामी कसरी हेर्ने ?’
फातिमा बानु

काठमाडौँ — कोभिड–१९ संक्रमितको उपचार गर्दा अनिवार्य रूपमा लगाउनुपर्ने पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) नहुँदा चिकित्सकमा थप जोखिम निम्तिने खतरा देखिएको छ । अस्पताल पुग्ने शंकास्पद बिरामीको उपचारमा पीपीईबिनै चिकित्सकहरू खटिइरहेका छन् ।

वीर अस्पतालको ज्वरो क्लिनिकमा त मास्कमात्रै लगाएर बिरामी जाँच भइरहेको छ । संक्रमित बिरामी हेर्नका लागि मात्रै पीपीई जोहो गरेर राखिएको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बताए । ‘पीपीई छैन भनेपछि चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल पनि बलियो छैन,’ उनले भने, ‘स्वास्थ्यकर्मी नै सुरक्षित नभए बिरामी कसरी हेर्ने ?’

कोभिडका बिरामी भर्ना हुने मुख्य केन्द्र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक एक सय पीपीई खपत हुन्छन् । ‘मुख्य जोखिममा चिकित्सक र स्वास्थ्यकर्मी छन्,’ अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले भने, ‘ओपीडीदेखि आयसीयूसम्मका चिकित्सकलाई पीपीई नभई हुँदैन, जोखिम मोलेर कसरी काम गर्ने ?’ अस्पतालसँग स्टकमा भएको पीपीई प्रयोग भइरहे पनि अब एक सातालाई मात्रै पुग्ने उनले बताए । सरकारले थप पीपीईको व्यवस्था नगरे कपडाको सिलाएर भए पनि काम गर्न तयार रहेको उनको भनाइ छ ।

जनस्वास्थ्यविद् समीर दीक्षितका अनुसार कोभिड या यस्तै कडा संक्रमणजन्य रोगका बिरामी हेर्ने चिकित्सक पीपीईबिना सुरक्षित हुँदैनन् । उपचार गर्दा स्थानीय होइन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बनेको पीपीई नै आवश्यक हुन्छ । ‘पीपीईले कपालदेखि पैतालासम्म छेक्छ,’ उनले भने, ‘भाइरसलाई छिर्नबाट पूर्ण रूपमा रोक्ने हुँदा मानव शरीरभित्र पस्न पाउँदैन ।’ बिरामी हेर्नेबाहेक ज्वरो क्लिनिकमा शंकास्पद बिरामी जाँच गर्ने चिकित्सकले समेत अनिवार्य रूपमा पीपीई लगाउन उनले आग्रह गरे ।

कोभिडका बिरामी राख्न तयार भएको पाटन अस्पतालमा पनि यदि त्यस्ता संक्रमित आइहाले पर्याप्त पीपीई छैन । हाल शंकास्पद बिरामी हेर्दा सर्जिकल गाउन लगाएर काम चलाइएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए । ‘अहिले त बिरामी छैनन्, पीपीई खासै चाहिएको छैन,’ उनले भने, ‘भोलि महामारी फैलियो भने कसरी काम गर्ने हो, हामीसँग निकै कम मात्रै सामग्री छ ।’ अस्पताल आफैंले पीपीई सिलाउने तयारी भइरहेको उनले बताए ।

बानेश्वरस्थित सिभिल अस्पतालमा ज्वरो क्लिनिक भए पनि स्वास्थ्यकर्मीले विशेष सुरक्षा सामग्रीबिनै बिरामी जाँचिरहेका छन् । अस्पतालमा पीपीई निकै कम मात्रामा भएको निर्देशक डा. दीर्घराज आरसीले बताए । ‘बेड छ्ट्युाऊ, बिरामी आए उपचार गर भन्ने निर्देशन छ, तर सुरक्षा सामग्री दिइएको छैन,’ उनले भने, ‘भोलि सयौंको संख्यामा बिरामी आए भने हामीसँग उपचार गर्न सक्ने क्षमता हुन्न ।’

कान्ति बाल अस्पतालमा कोभिडका शंकास्पद बालबालिका भर्ना हुने गरेका छन् । सुरक्षा सामग्री नहुँदा रेनकोटको स्थानीय पीपीई बनाएर काम चलाइएको अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले बताए । ‘हामीलाई अमेरिकन नेपाल मेडिकल संस्थाले २० वटा दिएको थियो । त्यसैले काम चलाएका छौं,’ उनले भने, ‘सुरक्षा सामग्री नहुँदा स्वास्थ्यकर्मी त्रसित छन्, सरकारलाई छिटो उपलब्ध गराउन अनुरोध गरेका छौं ।’

प्रकाशित : चैत्र १२, २०७६ ०८:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×