कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा लकडाउन अवज्ञा गर्ने ७ जना पक्राउ

रमेशकुमार पौडेल

चितवन — कोभिड–१९ (कोरोना भाइरस)को तीव्र संक्रमण रोक्ने उद्देश्यले नेपाल सरकारले घोषणा गरेको लकडाउनको आदेश उल्लंघन गरेको आरोपमा चितवन जिल्ला प्रशासन कार्यालयले सातजनालाई गिरफ्तार गरेको छ । उनीहरुलाई स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही भएको र सबैजना छुटेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

ऐनमा यस्तो आदेश उल्लंघन गर्नेलाई एक हजार रुपैयाँ जरिवाना र एक महिनासम्म कैद हुने व्यवस्था छ । ‘आज पहिलो दिन भएका कारण हजार रुपैयाँ मात्र जरिवाना भएको छ । आशा छ भोलिबाट यस्तो कारबाही गर्नु पर्ने अवस्था नै आउने छैन । लकडाउनको आदेश सबैले पालना गर्ने छन्’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने । कोभिड–१९ को तीव्र प्रसार हुने भएका कारण जोखिम कम गर्न सरकारले लकडाउन घोषणा गरेको छ ।


तर पहिलो दिन चितवनमा सडकमा सर्वसाधरणको उपस्थिति बाक्लै देखिन्थ्यो । अत्यावश्यक सेवाका गाडी र काम बाहेक अरु कोही सडकमा नआउन र घरभित्रै बस्न सरकारले आदेश गरेको छ । तर सर्वसाधरणले यसलाई गम्भीर रुपमा लिएको देखिदैन । भित्रि सडकमा मात्रै नभएर मुख्य रामार्गहरुमा पनि चहलपहल देखिन्छ । घरभित्रै बस्ने र घरमा बाहिरका मान्छेलाई आउन नदिने नियम झन कमैले पालना गरेका छन् । प्रकाशित : चैत्र ११, २०७६ १८:३८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

क्‍वारेन्टाइन नबनेपछि भारतीय ४ बिरामीलाई अस्पतालले घर पठायो

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभा बिरामी भएर जिल्ला अस्पताल आएका चार भारतीयलाई होम क्‍वारेन्टाइनमा फर्काइएको छ । २२० केभिएको कोसी करिडोरमा काम गर्न भारतबाट यहाँ आइपुगेका ती कामदारलाई ज्वरो र रुघाखोकी लागेको थियो । त्यसपछि उनीहरु सोमबार साँझ उपचारका लागि जिल्ला अस्पताल खाँदबारी आइपुगेका थिए । 

सदरमुकाम खाँदबारीमा २ दिन लगाएर निर्माण गरिएको ४० बेड क्षमताको क्‍वारेन्टाइनको तयारी पूरा नभएपछि उनीहरुलाई होम क्‍वारेन्टाइनमा बस्नु भनेर फर्काइएको हो । सँगै बसेका अन्य १५ जनामा पनि ज्वरो र रुघाखोकी रहेको उनीहरुले बताए ।

'कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै क्‍वारेन्टाइनमा राख्ने भनिए पनि तयारी पूरा नहुँदा उनीहरुलाई होम क्‍वारेन्टाइनमै पठाइएको छ,' अस्पताल विकास समिति अध्यक्ष सुमन शाक्यले भने, 'ज्वरो र रुघाखोकी लागेका एक जना भारतीयलाई भने अस्पतालले छुट्टै कोठाको व्यवस्था गरेको थियो ।' सुरक्षा समितिले क्‍वारेन्टाइनको तयारी पूरा नभएको भन्ने जवाफ दिएपछि होम क्‍वारेन्टाइनमा पठाएको उनले बताए ।
बरुण क्याम्पसमा ४० बेडको क्‍वारेनटाइन बने पनि तयारी पूरा नभएपछि उनीहरुलाई सुरक्षाकर्मीको निगरानीमा डेरामै बस्ने गरी पठाइएको उनले बताए । 'अस्पताल आएकामध्ये १ बिरामीको ज्वरो घट्दो अवस्थामा देखियो,' उनले भने, 'बाँकी ३ जनामा खासै केही देखिएन । उनीहरुसँग बस्दै आएका अरु १५ जनालाई पनि डेरामा सुरक्षित बस्ने गरी तुम्लिङटार पठाइएको छ ।'
उनीहरु निर्माणाधीन २ सय २० केभिएको कोसी करिडोरको काम गर्न १५ दिनअघि नेपाल आएका थिए । क्‍वारेन्टाइन नबनेकाले तत्काल कसैलाई राख्न नसकिने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । प्रजिअ दुलालले भने बुधबारमात्र सबै काम पूरा हुने बताए ।

प्रकाशित : चैत्र ११, २०७६ १८:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×