कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वसाधारणलाई सम्झाइबुझाइ घरभित्र बस्‍न माइकिङ गरिरहेका छौं :  नेपाल प्रहरी

मातृका दाहाल

काठमाडौँ — प्रहरी प्रधान कार्यालयले सर्वसाधारणलाई घरभित्र रहन आग्रह गर्दै राजधानीसहित देशका विभिन्‍न शहरी क्षेत्रमा माइकिङ गरिरहेको छ । 

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बाहिर निस्केका सर्वसाधारणलाई सम्झाइबुझाई घरभित्र रहन आग्रह गरिएको बताए। 'नागरिकले लकडाउन पालना गर्नु भनेको स्वअनुशासन पनि हो, हामीले यो बेला बल प्रयोगलाई प्राथमिकतामा राखेका छैनौं, यदि कसैले अटेर गर्छ, हुलहुज्जत गरेर निस्कन खोज्छ भने मात्रै बल प्रयोग गर्न स्पष्ट निर्देशन दिएका छौं।'


मंगलबारदेखि लागू भएको लक डाउन मेडिकल कर्फ्यु आदेश जस्तै भएको प्रवक्ता क्षेत्रीले बताए। बिहान ११ बजे सम्म देशभर लकडाउन लागू गर्ने क्रममा कुनै अप्रिय घटना नभएको उनले बताए।


नेपाल-भारत सीमा नाकाका केही स्थानमा भारतबाट आउन खोज्‍ने नेपालीले नाराबाजी गरेको तर स्थिति नियन्त्रणमा रहेको उनले बताए। लकडाउनसँगै देशभर सेना, प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्य कर्मीका टोली तैनाथ छन। अस्पताल र क्वारेन्टाइन सुरक्षामा सेनासहितको टोली खटिएका छन्। प्रकाशित : चैत्र ११, २०७६ ११:४०

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ब्लग : क्‍वारेन्टाइनमा न्युयोर्क !

दिनेशजंग शाह

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) को अमेरिकी ईपिसेन्टर सेन्टर भनिएको न्युर्योक सिटीमा सन्नाटा छ । भागदौडको ‘न्युर्योक जिन्दगी’ टक्क अडिएझैं छ ।

सडक रित्ता छन्, यद्यपि छेउका पार्किङ लट भने भरिभराउ छन् । क्वारेन्टाइनको छैठौं दिन भित्रको दैनिकी त झनै पट्यारलाग्दो छ । कतिन्जेल यसरी बस्ने पर्ने हो ? के गर्ने ? यस्तै यस्तै ।

अपरान्हको एक बजे । बिहानै देखिको अनलाईने कामलाई थाँती राख्दै सोफामा पल्टिरहेको थिएँ । फोनको रिङ बज्यो । उठाउनु पर्ने । टक्क अडिएँ म । भर्खरै धोएको हातले कसरी समाप्ने फोन ? दिमागमा उही भाइरसको कुरो चल्यो । सोचें, पहिले ‘ह्यान्डसेनेटाईजर’ ले फोनलाई पुछनु पर्‍यो । कल मिस भईहाल्यो । एकै छिनमा फोन फर्काएँ । चीरपरिचित मित्रले अनुरोध गरे, ‘एकछिन ज्याक्सन हाइटमा आउनुस् । एउटा सानो सहयोग गर्नु पर्‍यो ।’

मनमा दुविधा भयो । कोरोनोको त्रास एकातिर छ । अर्कोतिर सहयोगी मित्रको आग्रह । मित्रलाई एकमुष्ट ठूलै रकम नेपाल पठाउनु पर्ने रहेछ । कानूनतः उनी एक्लैले त्यत्रो रकम पठाउन नसक्ने भएको स्थितिमा म जानुपर्ने भयो ।

गुगल टाईमसिटमा लन्च ब्रेक लिएँ । हातमा पन्जा अनि मुखमा मास्क लगाएर, निस्किए मँ । बाटोमा थोरै अरु मास्कधारी पनि देखिए । बाटो काट्दा, सडकपेटीमा ती अपरिचितहरुसँग केही दूरि राख्नैपर्‍यो । नजिकिँदा श्वासप्रश्वासलाई रोक्दै ज्याक्सन हाइट पुगे ।

मास्क, पन्जा लगाएका मित्र चोकमै उभिएका थिए । एक हातमा फोन, अर्को खल्तीमा राख्दै उभिएका उनले टाढैबाट हात उठाए । मैले पनि हात उठाएँ । मास्कधारी उनी मुस्कुराएजस्तो मलाई लाग्यो । किनकि उनको आँखा वरिपरिको छाला तन्कियो । हात सल्बलाउन सक्ने प्रति सचेत रहँदै मैले हत्तपत्त हात खल्तीमा हाले ।

करिब अढाई मिटरको दूरिमा हामी आमने–सामने भयौं । मास्क लगाएका कारण लर्बराउँदो बोलीमा उनले भने, ‘तपाईले मलाई, मैले तपाईलाई शंका गर्नुपर्ने स्थिति आयो । हामीले अलि विचार गर्नुपर्छ ।’ मैले सहमति जनाउँदै थपें, ‘कोभिड १९, शरीरमा प्रवेश गरेको दुई सातापछि मात्र लक्षण देखिन्छ रे ।’ उनले लामो श्वास फेर । अनि म हच्चकिएँ । अलि पछि हटें ।

केही गन्थनपछि मनी ट्रान्सफर सर्भिसतिर लाग्यौं । ढोकानिर पुगेपछि म फेरि हच्किएँ । पन्जा लगाए पनि, बेकारमा कतिले समातेको ढोका के समात्नु भन्ने लाग्यो । मित्रले ज्याकेटको बाहुलालाई तल सार्दै, ढोका खोले । फिस्स हाँस्दै भने, ‘यस्तो गर्नैपर्‍यो ।’ गोली रोक्ने प्रतिरोधात्मक क्षमताको सिसाको काउन्टरभित्र मास्क लगाएकी एक नेपाली कर्मचारी थिइन् । उनले टेबलमा रहेको ‘हेनेसेन्टाईजर’ को बोत्तल देखाउँदै भनिन्, ‘पैसा गन्नुअघि हातमा ‘सेन्टाईजर’लगाउनुस् है । के थाहा, तपाईले ल्याएको नोटमा पो छ कि कोरोना भाइरस ?’ उनको शंका अहिलको स्थितिको जायज उपज थियो ।
कोरोना भाइरस, खतरनाक भन्नेमा अब दुविधा रहेन । यो भाइरस कसरी भाईरल भइरहेको भन्ने बिषय संसारभरिका तथ्यांकहरुले पुष्टि गर्दैछन् । तर, भाइरस कतिन्जेल हावा वा जमिनमा बाँचिरहन्छ, त्यसबारे विविध टिपोट बाहिरिएका छन् । धेरै विज्ञहरुको समान धारणा पाईन्छ, ‘कोरोना भाइरस, हावामा तीन घण्टासम्म, टेबल, नोट वा प्लाष्टिकमा तीन दिनसम्म बाँचिरहन सक्छ ।’

यो पृष्ठभूमिमा कहाँ कसरी सर्छ वा भाइरसको फन्दाको परिन्छ । यो चिन्ता, अहिले दैनिकी बनेको छ । न्यूयोर्क सहर, धेरै हिसाबले अमेरिकाको अन्य सहरहरुभन्दा पृथक छ । आर्थिक, सामाजिक परिवेश भिन्न छ । समाज अधीक विविध छ । सार्वजनिक यातायातको ‘चेन’ विशाल छ । लाखौं मानिसको दैनिकीको महत्वपुर्ण हिस्सा हो, सार्वजनिक यातायात । अमेरिकाको सबैभन्दा ठूलो पब्लिक एजुकेसन नेटवर्क, न्युयोर्क सहरमै छ । हमेसा भीडभाड हुने न्युयोर्क सहरमा संक्रमित हुनेको संख्या ११ हजार नाघिसक्यो । कति संक्रमित हुने लाइनमा छन्, यसको लेखाजोखा अहिलेलाई छैन ।

यस्तै केहीबेर गफिदै ती मित्रसँग बिदावारी भएर, म बाटो लागें । ‘सेल्फ क्वारेन्टाइन’ भने पनि पूर्णरुपमा घरभित्रै बसिरहने पनि स्थिति छैन । अत्यावश्यक किनमेलका लागि बाहिर निस्किनै पर्छ । यही मौकामा म पनि तरकारी पसलमा छिरें । एक परिचित धनगढीका नेपाली उबर चालकसँग जम्काभेट भयो । उनी स्याउ किन्दै थिए । हातको साटो, उनले कुहिनो अघि बढाए । दुवैले कुहिनो ठोक्यौं । मास्क लगाएकै कारण, गफ गर्न संकोच भएन ।

मैले उनलाई एकजना नेपाली उबर चालक संक्रमित भएको खबर सुनाएँ । उनी चिन्तित थिए । बात मार्दै उनी स्याउ झोलामा हाल्दै थिए, छेउमा रहेका ब्यक्तिले हिन्दीमा प्वाक्क भने ‘भाईसाब, एप्पल त खुले पडे हैं, नजाने कितने लोगो ने टच किया होगा । क्या पता, भाइरसका ।’ मतिर पुलुक्क फर्किदैं ती चालकले भने, ‘के भन्छ, यो भईया ?’

मैले उनलाई राम्रोसँग धोएर खानु होला भन्दै सुझाएँ । उनी हच्किए, स्याउ नै किनेनन् । कफी खाएर, गफिऔं न भन्ने कुरा भयो । तर कहाँ जाने ? कफी पसलको सरसफाई र त्यहाँका कामदारको स्वास्थ्यस्थिति बारे शंका उठ्यो । ‘भो कफी नखाउँ । जान हे तो, जहान है’ भन्दै हामी आ–आफनो बाटो लाग्यौं ।

केटाकेटी भएको घर, लुगा–जुत्तालाई छुटटै क्लजेटमा राखें । हात मुख धोएर, पुछपाछ सुरु भयो । अल्कोहोल मिश्रित ‘वाईप’ ले ढोकाको लकदेखि फ्रिजको ह्याण्डिलसम्म । कम्प्युटरको किबोर्डदेखि केटाकेटीको खेलौनासम्म ।

दैनिकी यसरी नै चलिरहेको छ । सबैतिर शंका, सबैलाई शंका । आफ्नो घरमात्र होइन, आफ्नै लुगा र शरीरमाथि समेत शंका । यसो सोच्यो भने अहिले हामीलाई बचाउने यही डर र शंकाले त हो !

प्रकाशित : चैत्र ११, २०७६ ११:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×