आत्मबल कसरी बढाउने ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आत्मबल कसरी बढाउने ?

‘सामान्य जानकारीबाहेक कोरोनासम्बन्धी समाचारलाई बेवास्ता गरौं । व्यायाम गरौं, शरीरलाई सक्रिय राखौं । कम्तीमा आठ घण्टा सुत्ने बानी गरौं ।’
प्रा. सरोजप्रसाद वझा

मलाई एउटा साथीले फोनमा भन्यो, ‘मेरो छाती भारी हुन्छ । निद्रा लाग्दैन, डर लाग्छ । केही भइहाल्ला कि भनेर तर्सन्छु । के गर्ने होला ?’ उनी ठूलो होटलका साहु हुन् । कोरोनाको त्रास बढेपछि होटल बन्द गरे ।

दुई–चार दिन घरमा बस्नुपर्दा छटपटी हुन थालिसकेछ । ती साथी मात्र होइन, कोरोनाका कारण सेल्फ क्वारेन्टाइनमा बसेका धेरैले यही मानसिक अस्थिरता झेलिरहेका छन् । कतिले त सामाजिक सञ्जालमै तनाव पोख्न थालेका छन् । यो बेचैनीले भाइरसबाट बचाउने प्रतिरक्षा क्षमता नै ह्रास हुन्छ ।


हामी सतर्क भइराख्यौं भने भाइरस त एकदिन परास्त भइहाल्छ तर त्यतिबेलासम्म नकारात्मक सोच र व्यवहारले हामी मनोवैज्ञानिक रूपमा कमजोर हुनेछौं । त्यसबाट मुक्ति मिल्न झन् मुस्किल पर्न सक्छ । त्यसैले कोरोनाबाट बच्नजत्तिकै दिमागलाई शान्त राख्न सजग हुनुपर्ने भइसकेको छ । त्यसका लागि चिकित्सककहाँ जानुपर्दैन, औषधि खानुपर्दैन । मात्र आफ्नो सोचाइ र व्यवहारमा परिवर्तन ल्याए पुग्छ ।


सबैभन्दा पहिले हामीले कोरोना विश्वव्यापी समस्या भएको छ, यस्तो प्रकोपले हरेकलाई धेरथोर तनाव दिन्छ, यो स्वाभाविक हो भनेर स्विकार्नुपर्‍यो । त्यसपछि बल्ल कोरोनाबाट बच्दै यो बेला कसरी खुसी हुन सकिन्छ, कसरी आत्मबल बढाउन सकिन्छ भन्ने सोच्ने हो । यसका लागि तीन पक्षमा नियन्त्रण हुनुपर्छ– मस्तिष्क, शरीर र व्यवहार ।


१) मस्तिष्क

हामी पोखरीमा, नदीमा हाम्फाल्छौं भने पौडिन्छौं, हात–खुट्टा चलाउँछौं । यति गरिएन भने डुब्छौं भन्ने हामीलाई थाहा छ । ठ्याक्कै त्यस्तै कोरोनाबाट बच्ने तरिका छन् । घरमै बसियो भने कोरोना आफैं आउँदैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएका सुझाव पालना गरे पुग्छ । प्रलय आउँछ, जान्छ । भूकम्प आयो, गयो । यसरी सोच्नुपर्छ ।


जुन चिजले दिमागलाई नकारात्मक बनाउँछ, त्यो गर्नुभएन । जस्तो ः चौबिसै घन्टा कोरोनाबारे अपडेट भइरहनु आवश्यक छैन । समाचारमा कोरोना, युट्युब–फेसबुकमा कोरोना, साथीसँग कुराकानी गर्दा पनि कोरोना भयो भने दिमागमा असर गर्छ नै । कोरोनाले संक्रमण भएको, मरेको हेर्‍यो– थाहा पायो, त्यसमै आत्तिन्छौं । यो थाहा पाउँदैमा संक्रमणबाट बचिने वा अरु फाइदा हुने होइन । त्यसैले सामान्य जानकारीबाहेक कोरोनासम्बन्धी समाचारलाई बेवास्ता गर्नुपर्छ । छिनछिनको चासो घातक हुन्छ । सामाजिक सञ्जाललाई आफन्तसँग सम्पर्क गर्न सकिने माध्यमका रुपमा मात्र प्रयोग गरौं, न कि सूचनाको स्रोत ।


२) शरीर

सामान्य अवस्थामा पनि शरीरलाई तन्दुरुस्त राख्नुपर्छ । यस्तो प्रकोप र तनावका बेला थप ध्यान दिनुपर्छ । स्वस्थबर्द्धक खानेकुरा खानुपर्छ । दिनमा कम्तीमा तीन लिटर पानी पिउनुपर्छ । खाएर मात्र हुँदैन, सुत्नुपर्छ । कोरोनाको नकारात्मक सामग्री हेरिरह्यो भने निद्रा लाग्दैन तर आठ त घन्टा सुत्नैपर्छ । व्यायाम एकदमै आवश्यक छ । घरको सरसफाई गर्ने, वरपर हिँड्ने, आफूलाई सक्रिय राख्ने गर्नुपर्छ । तनाव भयो भन्ने बहानामा रक्सी, कफी खानुहुन्न । यसले त चिन्ता घटाउने होइन, झन् बढाउँछ ।


३) व्यवहार

यति गर्दा पनि निद्रा लागेन के गर्ने ? जब तनाव महसुस हुन्छ, आँखा चिम्लेर लामो श्वास तान्ने, एकदेखि दशसम्म गन्ने अनि बिस्तारै छोड्ने गर्नुपर्छ । हातलाई छातीमाथि राखेर शरीरको हरेक गतिविधिमा एकाग्र भइयो, महसुस गरियो भने मन हल्का हुन्छ । दिनमा कम्तीमा दसपटक यस्तो गर्ने बानी बसालौं ।


दिमागमा कोरोना–कोरोना भयो भने त्यसबाट ‘डिस्ट्र्याक’ हुनैपर्छ । १ देखि १०० सम्म गन्ने, अनि १०० बाट उल्टो गन्दै ल्याउने अभ्यास प्रभावकारी हुन्छ । पूरै ध्यान गन्नमै लगाउनुपर्छ । युट्युबमा दिमाग शान्त बनाउने अनेक तरिका सिकाइएको भिडियो हुन्छन्, तिनलाई पछ्याउनु उपयुक्त हुन्छ ।


मानसिक बेचैनी हुँदा गीत, प्रहसन, फिल्म र सिरिजहरू एकदमै प्रभावकारी हुन्छन् । गीतलाई त थेरापी नै मानिन्छ । त्यसमाथि परिवारसँगै बसेर सुन्नुभयो, हेर्नुभयो भने अझ राम्रो । खासमा क्वारेन्टाइनमा बस्नुपरेको यो समय पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने अवसर पनि हो । एक–अर्कालाई ढाडस दिन सकिन्छ । सुख–दुःख सेयर गर्नुपर्छ । यसो गर्दा तनाव रिलिज हुन्छ ।


आममान्छेमा सकारात्मक भाव र आत्मबल बढाउन मिडियाको भूमिका महत्त्वपूर्ण हुन्छ । अहिले अखबार, अनलाइन टेलिभिजन हेर्दा लाग्छ, दुनियाँमा कोरोनाको त्रासबाहेक केही छैन । मन हल्का बनाउने कन्टेन्ट असाध्यै कम छन् । जस्तो : कोरोनालाई जितेकाहरुको कथाले धेरैलाई राहत दिन्छ । उसको भोगाइ पढ्दा आत्मविश्वास बढ्छ । चीनमा कोरोना पोजेटिभ भएकाहरूले अहिले स्वयंसेवीको काम गरिरहेका छन् । वृद्धवृद्धा पनि संक्रमणमुक्त भएका छन् तर यस्ता समाचारले कम प्राथमिकता पाउँछ ।


हामीमध्ये धेरैलाई के लागेको छ भने त्यति विकसित र सिस्टम भएको युरोपमा त्यतिधेरै मान्छे मरिरहेका छन् भने हामीकहाँ के होला ? हरेक पल यस्तै भयले सताइरहेको हुन्छ तर त्यसरी सोच्नुहुन्न । झन्डै ९० प्रतिशत मान्छे त ‘रिकभर’ भइरहेका छन् । फेरि कहाँ के भयो भनेर चिन्ता लिने होइन, आफू सतर्क हुने हो । हामीले थाहा पाइसक्यौं कि यो हावामा उडेर आउँदैन । कोरोना महामारीबारे चाहिनेबाहेक अरु कुराको पछि नलागौं ।


-मनोचिकित्सक वझासँग कान्तिपुरका लागि गोकर्ण गौतमले गरेको कुराकानीमा आधारित

प्रकाशित : चैत्र ११, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्

फ्रान्सबाट फर्किएकी युवतीमा कोरोना : विदेशी साथीलाई संक्रमण देखिएपछि परीक्षण

परिवारका सदस्यहरू क्वारेन्टाइनमा, विमानमा सवार अन्य यात्रुको स्थितिको खोजबिन हुँदै
स्वरूप आचार्य, जनकराज सापकोटा

काठमाडौँ — गत मंगलबार फ्रान्सबाट कतारको दोहा हुँदै आएको क्युआर ६५२ कल साइनको कतार एयरवेजमा क्रु मेम्बरबाहेक दुई जर्मन, एक फ्रेञ्च र अरु नेपालीगरि १ सय ५८ यात्रु थिए । यिनै यात्रुमध्येकी एक थिइन्, फ्रान्समा अध्ययनरत काठमाडौं घर भएकी १९ वर्षीया युवती । उनी काठमाडौं ओर्लेको ६ दिनपछि सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गर्दै यिनै युवतीमा कोरोनाको संक्रमणको पुष्टि भएको बताए ।





संक्रमणको पुष्टि भएसँगै ती युवतीसँगै यात्रा गरेका यात्रुहरू र उनको सम्पर्कमा आएका अध्यागमन कर्मचारीहरू को–को थिए भन्ने प्रश्न उठेको छ । साथै ती अन्य यात्रु र अध्यागमन कर्मचारीमा पनि संक्रमण फैलियो वा फैलिएन भनेर खोजी गर्नुपर्ने देखिएको छ । काठमाडौं अवतरण गरेको चौथो दिन ती युवतीले शुक्रबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराएकी थिइन् । आइतबार नै उनको परीक्षण रिपोर्टमा कोभिड–१९को संक्रमण रहेको पुष्टि भएपछि अस्पतालले यसबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको थियो । मन्त्रालयले भने यसको सूचना प्रधानमन्त्रीलाई आइतबार राति नै दिएको थियो ।

सञ्चारकर्मीले खचाखच बैठक कक्षमा बोल्दै मन्त्री ढकालले ती युवतीका परिवारका सदस्यहरूलाई पनि क्वारेन्टाइनमा राखिएको जानकारी दिए । तर संक्रमित व्यक्तिको सम्पर्कमा आएका परिवारबाहेकका व्यक्ति र युवती आएको विमानका अन्य यात्रुहरूको पहिचान गर्ने र तिनलाई पनि आइसोलेसनमा राखेर निगरानी गर्नुपर्ने काम सोमबार साँझसम्म पनि औपचारिक रूपमा गरिएको छैन । कतिसम्म भने स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा पनि विमानको कल साइन र उक्त विमानमार्फत कति यात्रुले यात्रा गरेका थिए र ती यात्रुले अब के गर्नुपर्छ भन्नेबारे केही बताइएन । न त उक्त विमानका यात्रुहरूलाई नै सरकारी सम्पर्कमा आउन आह्वान गरियो ।

बरु पत्रकार सम्मेलन सकिएलगत्तै सामाजिक सञ्जालमार्फत फरक कल साइन भएको कतार एयरवेजकै विमानको तस्बिर राखेर ‘यो विमानमा चढेर आउने यात्रुहरूले तुरुन्त स्वास्थ्य जाँच गर्नुहोला’ भन्ने सन्देश छोडिएको छ । यस्तो सन्देश तीव्र गतिमा सामाजिक सञ्जालमा फैलिएको देखिन्छ । संक्रमित यात्रु चढेर आएभन्दा फरक विमानको तस्बिर र जानकारी राखेर सामाजिक सञ्जालमार्फत गरिएको आह्वानले गलत सन्देश फैलाएको छ ।
पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री ढकालले फ्रान्सबाट फर्किएपछि युवती होम क्वारेन्टाइनमा रहेको र शुक्रबार केही शंका लागेपछि परीक्षण गराएको बताए । उनले संक्रमण पुष्टि भएपछि युवतीलाई उहाँलाई अस्पतालमा नै आइसोलेट गरेर राखिएको बताउँदै भने, ‘उनको परिवारलाई क्वारेन्टाइनमा बस्न भनिएको छ । र, साथै उनको सम्पर्कमा आएका अन्य व्यक्तिको पनि पहिचान गरेर अनुगमन गर्ने कार्यलाई तीव्रता दिएका छौं ।’

मंगलबार १०ः१२ बजे काठमाडौं अवतरण गरेको उक्त विमानका अन्य यात्रुहरूमा समेत संक्रमण फैलिन सक्ने जोखिम देखिन्छ । अध्यागमन स्रोतका अनुसार उक्त दिन आएका यात्रुहरूमध्ये धेरैजसो वैदेशिक रोजगारीबाट फर्किएकामध्ये मधेसका छन् । संक्रमित युवती र अन्य सहयात्रीको राहदानीमा आगमन छाप हान्ने काममा खटिएका अध्यागमन कर्मचारीमा पनि संक्रमणको जोखिम देखिन सक्छ । उक्त दिन अध्यागमनमा आगमन कक्षमा खटिएका केही अध्यागमन अधिकृतले संक्रमणको पुष्टि भइसक्दा पनि साँझसम्म आफूहरूले के गर्नुपर्ने हो भन्नेबारे विभागबाट आधिकारिक जानकारी आइनसकेको बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार संक्रमित युवतीलाई भियतनाममा रहेका एक मित्रले आफूलाई कोभिड–१९ को संक्रमण देखिएको जानकारी दिँदै परीक्षण गराउन सुझाव दिएका थिए ।

‘फ्रान्सबाट कतारको दोहासम्म सँगै आएको भियतनामी साथीले फोन गरेर उसलाई संक्रमण रहेको बताएपछि परिवारका सदस्यले उनलाई अस्पताल ल्याएका हुन्,’ डा. राजभण्डारीले भने, ‘अस्पताल आउँदा उनले मास्क र पन्जा सबै लगाएकी थिइन् । हामीले भित्री घाँटीबाट नमुना संकलन गर्‍यौं र आइसोलेसनमा बस्न भनेर घर फिर्ता पठायौं । आइतबार परीक्षण रिपोर्ट पोजिटिभ आएपछि भने अस्पतालमा नै भर्ना गरेर राखेका छौं ।’
डा. राजभण्डारीका अनुसार ती युवतीले आफू संक्रमण फैलिएको देशबाट आएको डरका कारण विमान र विमानस्थलमा समेत मास्क र पन्जा नै लगाएर बसेकी थिइन् । यस्तै उनी सकेसम्म कम मानिसहरूको मात्रै सम्पर्कमा आउने कोसिस गरेको परिवारका सदस्यलाई बताएकी छन् । ‘पढेलेखेको मान्छे । उनलाई पनि डर भएर होला आउँदादेखि नै मास्क र पन्जा लगाउन छाडेको छैन भन्ने परिवारले दाबी गरेका छन्,’ उनले भने, ‘यस्तै उनले घरमा पनि क्वारेन्टाइनका नियमहरूको राम्रोसँग पालना गरेको परिवारले जानकारी दिएको छ ।’ उनको परिवारका चार सदस्य र एक सहयोगी छन् ।

डा. राजभण्डारीका अनुसार हाल अस्पतालको आइसोलेसनमा राखेर निगरानी गरिरहे पनि उनमा संक्रमणका थोरै मात्र लक्षण देखिएको छ । उनले संक्रमित युवतीको परिवारका परिवारका सदस्यलाई भने हालसम्म संक्रमणको कुनै लक्षण नदेखिएको बताउँदै भने, ‘हामीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई परिवारको सदस्यलाई पनि निगरानीमा राखेर परीक्षण गर्न सिफारिस गरेका छौं ।’

पत्रकार सम्मेलनमा मन्त्री ढकालका साथै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले समेत ती युवतीको सम्पर्कमा आएका सम्पूर्ण व्यक्तिहरूको पहिचान गर्ने कार्यलाई तीव्रता दिएको दाबी गरेका थिए । मन्त्री र प्रवक्ताले यस्तो दाबी गरे पनि उक्त विमानमा रहेका सबै यात्रु होम क्वारेन्टाइनमा बसेका छन् वा छैनन् भनेर अनुगमन गर्ने संयन्त्र भने मन्त्रालयसँग देखिन्न ।

मंगलबारदेखि नै स्वास्थ्य मन्त्रालयले संक्रमित देशबाट फर्कनेहरूलाई विमानस्थलमै ‘होम क्वारेन्टाइन’ मा बस्छु भनेर लेखिएको कागजमा आफ्नो विस्तृत विवरण भरी हस्ताक्षर गर्न लगाएको थियो । अनिवार्य गरिएको यस्तो डिक्लरेसन फाटरममा भएको विवरणका आधारमा ती यात्रुहरूको पहिचान र ठेगाना प्राप्त भने गर्न सक्ने सम्भावना भए पनि सोमबार साँझसम्म ती यात्रुहरूको अवस्था बुझ्ने काम भएको छैन । उक्त विमानमा सवार कति यात्रु ती युवतीसँग सम्पर्कमा रहे, तिनले विमानभित्रको शौचालय प्रयोग गरिन् कि गरिनन्, शौचालय प्रयोग गरेको भए त्यसपछि कति जनाले शौचालय प्रयोग गरे जस्ता विषयले पनि उनले कति जनालाई संक्रमित पारिन् भन्ने दायरा फराकिलो हुँदै जान्छ ।

कान्तिपुरसँगको कुराकानीमा विमानस्थल अध्यागमन प्रमुख रवीन्द्र पौडेलले संक्रमणको जोखिम विमानस्थल अध्यागमनका कार्यरत कर्मचारीहरूलाई पनि हुन सक्ने भएकाले ती कर्मचारीको पहिचान भयो भन्ने विषयमा खुल्न चाहेनन् । उनले सूचना अधिकारी राजेश पन्थीसँग यसबारेमा बुझ्न अह्राए । कान्तिपुरको सम्पर्कमा आएका पन्थीले भने आफू तीन दिन बिदा बसेर आजमात्रै कार्यालय आएकाले यसबारे केही जानकारी नभएको बताए । उनले कतार हुँदै आएको यात्रुमा कोरोना संक्रमण देखिएको कुरा सुनेपछि यसबारेमा आधिकारिक जानकारी नआएकाले यसै भन्न नसकिने भन्दै तर्किए । उनले भने, ‘मैले त संक्रमितको नाम पनि थाहा पाएको छैन । फेरि सूचना अधिकारी भन्दैमा सबै कुरा थाहा भइहाल्छ भन्ने पनि हुँदैन ।’

विमानस्थलमा खटिने अध्यागमन कर्मचारीहरूको सिफ्टअनुसारको नामावलीको डिजिटल रेकर्ड नै हुन्छ । जसका आधारमा विमान अवतरण भएको समयमा कुन यात्रुको राहदानीमा कुन कर्मचारीले छाप हानेका हुन् भन्ने सजिलै थाहा हुन्छ । अध्यागमनका विभिन्न स्रोतबाट कान्तिपुरलाई संक्रमित युवतीको राहदानीमा छाप हान्ने कर्मचारीको विवरण प्राप्त भएको छ । तर ती अधिकृत उक्त दिनपछि कति व्यक्तिको सम्पर्कमा रहे ? उनमा संक्रमणको कुनै लक्षण देखिएको छ कि छैन भन्नेबारे भने थाहा हुन सकेन ।

स्रोतका अनुसार अध्यागमन विभागले अनौपचारिक रूपमा संक्रमित युवतीको राहदानीमा छाप हान्ने काममा खटिएका अधिकृतलाई घरमै आइसोलेसनमा बस्न र कुनै स्वास्थ्य समस्या देखिए जाँच गर्न जानकारी दिइसकेको छ । तर उक्त बिहानको सिफ्टमा आगमन कक्षमा खटिएका अन्य अध्यागमन अधिकृतलाई भने विभागले के गर्ने भन्नेबारे कुनै जानकारी दिएको छैन ।

संक्रमित पहिचान भएका व्यक्तिसँग सम्पर्कमा रहेकाहरूको पहिचान छिटोभन्दा छिटो गरेर उनीहरूलाई अलग्याएर राख्ने र तिनीहरूको स्वास्थ्य परीक्षण समयमै नगर्दा संक्रमणको जोखिम व्यापक हुने देखिन्छ । जस्तो कि छिमेकी भारतकै एउटा घटना हेरौं– फेब्रुअरी १९ मा १९ वर्षीय छोरासँग साउदी अरब पुगेकी एक भारतीय महिला मार्च १० मा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिन् । घर फर्केको दुई दिनपछि ज्वरो र कफ देखिएपछि उनले स्थानीय चिकित्सकलाई देखाइन् । अनि फर्केको पाँचौं दिन अर्थात् मार्च १५ मा उनले अझै निको नभएपछि स्थानीय अस्पतालमा जाँच गराइन् । चिकित्सकहरूले उनलाई मार्च १७ मा अर्को अस्पतालमा रिफर गरिदिए । जहाँ उनलाई कोभिड–१९ को संक्रमण भएको पुष्टि भयो । टाइम्स अफ इन्डियाका अनुसार यी महिलाबाट विमानस्थल लिन गएका भाइ, दुई छोरी र आमामा संक्रमण फैलिएको पुष्टि भयो । चिकित्सकहरूले ती महिलाका श्रीमान् र छोरामा पनि संक्रमणको जोखिम रहेको र अरूमा नफैलियोस् भनेर आइसोलेसनमा राखिएको छ ।

स्थानीय अधिकारीहरूले ती महिला बस्ने घर छेउछाउका ७४ जनामाथि पनि निगरानी राखेको छ । महिलासँग भेटघाटपछि उत्तरपूर्वी दिल्लीस्थित घर फर्केका भाइ र आमाले अरू धेरै जनासँग भेट गरिसकेकाले उनीहरूको पनि पहिचान र खोजी सुरु गरिएको छ ।

प्रकाशित : चैत्र ११, २०७६ ०६:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×