भोलि बिहान ६ बजेदेखि देशभर लक डाउन, घरबाहिर ननिस्कन आदेश [निर्णयसहित]

एक साता सार्वजनिक तथा निजी सवारी चलाउन नपाइने
बिनु सुवेदी

काठमाडौँ — सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लक डाउन गर्ने निर्णय गरेको हो । 

लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन्। औषधि उपचार र खाद्यवस्तुजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्किने आदेश सरकारले जारी गरेको छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले यस्तो निर्णय गरेको हो। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी युवतीको परीक्षणमा आइतबार संक्रमण देखिएको बताएका हुन्। सरकारले सोमबारदेखि नै छिमेकीसँगका सबै नाका एक साताका बन्द गरिसकेको छ।

यस्ता छन् सरकारका आदेश :

  • औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने
  • अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बोहक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने
  • सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने
  • स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन फोहोरमैला व्यवस्थापन जस्ता अतिआवश्यक सेवा बोहक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बनिधत कार्यालय प्रमुखले बिदा दिने
  • औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन, उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने
  • व्यवसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने। अभाव देखाइ मूल्यवृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने
  • संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा(२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नको लागि आवश्यक व्यव्सथा मिलाउन नेपाल राज्यका सबै जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने
  • संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा वाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने
प्रकाशित : चैत्र १०, २०७६ १९:२४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सुनौली नाकामा अलपत्र परेका नेपाल प्रवेश गरे

माधव ढुंगाना

भैरहवा — सिमानाबाटै नेपाल आउनमा रोक लगाइएपछि सुनौली नाकामा अलपत्रमा परेका नेपालीको ठूलो समूहलाई आठ घण्टापछि नेपाल आउन अनुमति दिइएको छ ।

लामो यात्राका क्रममा सिमाना बन्द हुने जानकारी नपाएपछि भारतको विभिन्‍न स्थानबाट घर फर्केका नेपालीको समूह सोमबार बिहान १० बजेदेखि सिमानाबाट नेपाल आउनमा रोक लगाइदा भारततर्फ नै अलपत्रमा परेका थिए । सोमबार साँझ ६ बजेतिर स्थानीय प्रशासनले उनीहरुलाई नेपाल आउने अनुमति दिएको थियो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले उनीहरुलाई मानवीयताको आधारमा सबैको विस्तृत विवरणसहितको फर्म भरेर नेपाल आउने अनुमति दिइएको बताए । ‘उनीहरुलाई थेग्‍न सक्ने खालको क्‍वारेन्टाइन नभएकाले व्यक्तिगत विवरण विस्तृत रुपमा भरेर र सिमानामा स्वास्थ्य परीक्षण गरेर नेपाल आउन अनुमति दिइएको हो,’ प्रजिअ पन्थले भने,‘ती फर्महरु सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइने छ र केही परेमा त्यहीँबाटै उनीहरुको निगरानी हुने छ ।’

उनीहरु ट्रान्जिटका क्रममा रहेको र भारततर्फपनि अ-आफ्नै देशमा जान भनी हटाउन थालेपछि उनीहरु समस्यामा परेकाले मानवीय समस्या आएको पन्थले बताए । अब उप्रान्त यसरी आउने कसैलाईपनि नेपाल आउने अनुमति नदिइने उनले जनाए । उनका अनुसार, करिब ३ सयको संख्यामा रहेका नेपालीलाई नेपाल आउने अनुमति दिइएको हो । त्यसपछि सिमानाबाट नेपाल आउनमा पुन रोक लगाइएको छ ।

नेपाल आउन नपाएपछि सोमबार बिहानदेखि सुनौली नाकामा अलपत्रमा परेका नेपालीको समूहमा महिला र बालबालिका पनि थिए ।
यो पनि पढ्नुहोस्ः

प्रकाशित : चैत्र १०, २०७६ १९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×