कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेल्फ-क्‍वारेन्टाइनमा कसरी बस्‍ने ?

डा. अनुप सुवेदी

काठमाडौँ — कोभिड–१९ को संक्रमण भएको देशबाट आएकाले क्वारेन्टाइनमा बस्नै पर्छ । यस्ता व्यक्तिले धेरै सावधानी अपनाउनुपर्छ । पहिलेदेखि नेपालमै बसेकाहरूले खतरा न्यूनीकरणका लागि अब सेल्फ–क्वारेन्टाइनमा बस्नु आवश्यक भएको छ । कोभिड–१९ बाट बच्न अहिलेका लागि यो सबैभन्दा प्रभावकारी र सुरक्षित विधि हो । सरकारले पनि यस्तै आह्वान गरेको छ ।

सेल्फ-क्‍वारेन्टाइनमा कसरी बस्‍ने ?

१) सुरुमा जोखिमयुक्त क्षेत्रबाट फर्किएकाहरूले के गर्ने भन्नेबारे कुरा गरौं । उनीहरू अस्पतालमा स्वास्थ्यकर्मीलाई भेट्नबाहेक बाहिर निस्कनु हुँदैन । घरमा आउने मान्छेलाई पनि भेट्नु हुँदैन, छुट्टै बस्नुपर्छ । परिवारका बाँकी सदस्यसँग पनि दूरी कायम गर्नुपर्छ । कसैलाई भेट्नै पर्दा कम्तीमा तीन फिट पर बस्नुपर्छ । हरबखत सर्जिकल मास्क लगाउनुपर्छ । साबुनले हात धुनुपर्छ वा सेनिटाइजर प्रयोग गर्नुपर्छ । भाँडाकुँडा सकेसम्म भिन्न प्रयोग गरेको राम्रो । होइन भने आफूले प्रयोग गरेपछि आफैंले मज्जाले सफा गर्नु अनिवार्य हुन्छ । त्यही भाँडा पछि अरूले प्रयोग गर्नुपर्ने भए फेरि धुनुपर्छ । सकेसम्म एउटै शौचालय प्रयोग गर्नुहुँदैन । विकल्प छैन भने सफासुग्घरमा विशेष ध्यान दिनुपर्छ ।


क्वारेन्टाइनमा बस्नेले दिनमा कम्तीमा दुई पटक ज्वरो नाप्नुपर्छ । केही समस्या देखिनासाथ सरकारले भनेको नम्बरमा फोन गरेर राय लिनुपर्छ । अहिले लक्षण नदेखिए पनि जुन कुनै बेला भाइरसले आक्रमण गर्न सक्छ । उनीहरूका आफन्त सजग हुने गरे संक्रमणको जोखिम धेरै घट्छ ।


२) सेल्फ–क्वारेन्टाइनमा बस्नु तुलनात्मक रूपमा सहज हुन्छ । सबै परिवार एकसाथ बस्दा हुन्छ, नियमित व्यवहारमा केही परिवर्तन गर्नुपर्दैन । हात निरन्तर धुनुपर्छ । यति समयको फरकमा धुनुपर्छ भन्ने त हुन्न, तर अरू कसैसँग हातको स्पर्श हुनासाथ धोइहाल्नुपर्छ । घरमा कसैलाई रुघाखोकी लागेको छ भने विशेष ख्याल गर्नुपर्छ । खोकी लाग्दा कुइनाले छोप्नुपर्छ, हात धोइहाल्नुपर्छ । वरपर बस्नेले पनि सफा गरिहाल्नुपर्छ । रुघाखोकीसँगै ज्वरो आयो भने स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ । सबैजना भीडभाडबाट टाढा हुनुपर्छ । बाहिर निस्कँदा निश्चित दूरी कायम गर्नुपर्छ ।


लाइनमा कोचिएर बस्नुहुन्न, एकअर्कामा सर्न सक्छ । बाटोमा हिँड्दा रेलिङ वा अरू सामान समाउनुहुन्न । हात नधोई मुखमा गयो भने संक्रमणको डर हुन्छ । कोभिड–१९ ले वृद्धवृद्धालाई बढी आक्रमण गर्ने देखिएको छ । वृद्धवृद्धा आफैं र परिवारका अन्य सदस्यले हेरचाहमा कुनै कमी गर्नुहुन्न । ब्लडप्रेसर, मधुमेह, मिर्गौला, फोक्सो र मुटुको समस्या हुनेलाई जोखिम ज्यादा हुन्छ । अहिले ती दीर्घरोग निको पार्न सकिँदैन । रक्तचाप भने नियन्त्रणमा ल्याउनुपर्छ । औषधि खान छाडेको भए फेरि खानुपर्छ ।


भाइरसले शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ । शरीर तन्दुरुस्त र बलियो राख्नु अत्यावश्यक छ । स्वस्थबर्धक र झोल पदार्थ खानुपर्छ । चुरोट त खानै हुन्न । कसैले चुरोट छाड्न सकेको छैन भने यसभन्दा उपयुक्त समय कहिल्यै आउँदैन । चुरोट पिउने बानी हटाउने एक शताब्दीकै सबैभन्दा प्रभावकारी बेला हो यो । रक्सी पिउँदा भाइरसले आक्रमण गर्दैन भन्नु अफवाह मात्र हो । रक्सीले कीटाणु आउन नदिने वा मार्ने भन्ने हुँदै हुन्न । बरु रक्सीले रोगसँग लड्ने क्षमता अलिकति भए पनि कमजोर बनाइदिन्छ । आज रातभर रक्सी खानु भएको छ भने भोलि दिनभर तपाईंको शरीर शिथिल हुन्छ । खोकी लाग्ने सम्भावना बढ्छ । तपाईंलाई भित्र कुनै सानो समस्या छ भने त्यसलाई बढाउने खतरा हुन्छ । त्यही कारण अहिले रक्सीबाट पर बस्नुपर्छ ।


संक्रमित व्यक्तिसँग सम्पर्क भएको छैन भने कोभिड–१९ ले आक्रमण गर्दैन । हावामा आएर लाग्दैन । त्यसैले त्रसित वा आतंकित हुनुपर्दैन । सुरक्षित ढंगले घरमा बस्दा हुन्छ ।

-संक्रमण रोग विशेषज्ञ सुवेदीसँग गोकर्ण गौतमले गरेको कुराकानीमा आधारित

प्रकाशित : चैत्र १०, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?