कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जहाँ ‘लकडाउन’ छ

नेपाली कामदार प्रवासमा ‘लकडाउन’ बाट सिर्जित समस्या झेलिरहेका छन्
होम कार्की

काठमाडौँ — कुवेतले फागुन २९ देखि दुई सातासम्म लागू हुने गरी ‘लकडाउन’ गरेको छ । उसले सबैलाई सार्वजनिक बिदा दिएको छ । अत्यावश्यक कामबाहेक कसैलाई कार्यालय आउन र बाहिरी क्षेत्रमा हिँड्न रोक लगाएको छ । त्यहाँ सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द छन् । कार्गोका उडान भने जारी छन् ।

जहाँ ‘लकडाउन’ छ

कुनै देशले आफ्ना नागरिक लैजान चाहेमा विमानस्थल निश्चित समयका लागि खुला गरिएको छ । रेस्टुरेन्ट र क्याफेमा भेला हुन रोक लगाइएको छ । ‘रेस्टुरेन्टभित्र प्रवेश गर्न पाइँदैन, ग्राहक गाडीमै बस्छन्, हामी गएर अर्डर लिन्छौं,’ कुवेतको कफी सपमा कार्यरत वसन्त थापाले भने, ‘ठूला व्यापारिक केन्द्र (मल) बन्द गरिएको छ ।


खाद्यान्न पाउने ठूला मल र साना पसल (वकला) भने खुलै छन् ।’ उनका अनुसार सामान खरिद गर्न समय दिइएको छ तर दुई जनालाई सँगै हिँड्न दिइएको छैन । जिम, खेलकुद, स्वास्थ्य क्लब, विवाह हल बन्द छन् । सार्वजनिक बस बन्द गरिएको छ तर ट्याक्सी चल्न दिइएको छ । हरेक गभर्नर क्षेत्रमा एउटा मात्रै बैंक खोल्न पाइनेछ । एटीएमहरू भने खुला रहनेछन् ।


यस्तै मलेसियाले बुधबारदेखि १४ दिनका लागि ‘लकडाउन’ गरेको छ । सम्पूर्ण अन्तर्राष्ट्रिय उडान रद्द गरिएका छन् । मलेसियाका प्रमुख सहर सुनसान छन् । सडकमा गाडी र मोटरसाइकल अलि–अलि चलेका छन् । ‘अत्यावश्यक सेवा सबै सञ्चालन गरिएको छ,’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘जुन काम अफिसमा नगई हुँदैन, त्योबाहेक घरमै बसेर गर्ने हो ।’


सार्वजनिक बस सञ्चालन गर्न दिइएको छ । खाद्य सामग्री उत्पादन गर्ने कम्पनी सुचारु छन् । ‘खाद्य सामग्रीका पसल खुलेका छन्,’ वेदप्रसाद खतिवडाले भने, ‘रेस्टुरेन्ट तथा होटल सञ्चालन भइरहेका छन् । रेस्टुरेन्टभित्र बसेर खान दिइएको छैन । प्याकिङ गरेर लैजानुपर्छ ।’ केही क्याम्प र उत्पादन गर्ने ठाउँ सँगै भएका कम्पनीले भने कामदारलाई काम लगाइरहेका छन् । सेक्युरिटी गार्ड ड्युटीमा छन् । प्रहरीले हिँड्नुको उद्देश्य तोकेको छ । बिनाकारण हिँड्दा पक्राउ गरिन्छ, नियम उल्लंघन गर्नेलाई एक हजार रिंगिट जरिवाना तथा ६ महिनासम्म जेल सजाय हुने चेतावनी दिइएको छ ।


साउदी अरबमा पनि अन्तर्राष्ट्रिय र घरेलु उडान बन्द छन् । सार्वजनिक सवारीसाधन १४ दिनका लागि बन्द छ । मस्जिदहरूमा प्रार्थना गर्न रोक लगाइएको छ । खाद्यान्न र औषधि अभाव हुन दिइएको छैन । कर्मचारी र कामदारको सहमतिबिना बेतलबी बिदा नदिन भनिएको छ । कामदारका लागि निर्देशिका जारी गरिएको छ ।


कामदारलाई जबर्जस्ती गरे सरकारलाई खबर गर्न सूचना जारी गरिएको छ । यो अवस्था सामना गर्न राज्यले छुट्टै कोष स्थापना गरेको छ । अहिले सडक पूरै सुनसान छ । होटलमा राखिएका कुर्सी हटाइएको छ । खाद्यान्न पसल बन्द गरिएको छैन । कामदारहरूको क्याम्पमा विशेष सुरक्षा अपनाउन कम्पनीहरूलाई निर्देशन दिइएको छ ।


कतारले बाहिरबाट आउने आफ्ना नागरिकलाई रोक लगाएको छैन । सबैलाई अनिवार्य रूपमा कतारको पाँचतारे होटलहरूमा क्वारेन्टाइनमा राखिएको छ । सबै प्रकारका सार्वजनिक सवारीसाधनमा रोक लगाइएको छ । स्कुल, विश्वविद्यालय बन्द छन् । कामदार बस्ने क्षेत्र पूरै सुनसान छ । कामदारलाई क्याम्पबाट बाहिरिन दिएको छैन । कतिपय कम्पनीले क्याम्पबाट सिधा कार्यस्थल र कार्यस्थलबाट क्याम्पमा ल्याउने–लैजाने व्यवस्था गरेका छन् । निजी क्षेत्रलाई राहत दिनका लागि सरकारी कोष खडा गरिएको छ ।


कोभिड–१९ फैलिने जोखिम रहेको क्षेत्र सनैयालाई पूरै सिल गरिएको छ, जसमा झन्डै ५० हजार नेपाली बसिरहेका छन् । अझ जोखिम भएका कामदारलाई क्वारेन्टाइनमै राखिएको छ । खाना र औषधि अभाव हुन दिइएको छैन । सडकमा हिँड्न पनि कडाइ गरिएको छ ।

प्रकाशित : चैत्र ८, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?