कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाकाबाट निर्बाध आवागमन

आउजाउ रोक्नुको साटो नाम मात्रको हेल्थ डेस्क राखेर स्वास्थ्य परीक्षणको औपचारिकता पूरा गरिँदै
प्रदेश ब्युरो

काठमाडौँ — कोभिड– १९ संक्रमणलाई रोक्ने हेतुले सरकारले बन्द गर्ने भनेका भारतसँगका साना नाकाबाट निर्बाध आवागमन भइरहेको छ । आउजाउ रोक्नभन्दा स्थानीय सरकारहरू नाकामा ‘हेल्थ डेस्क’ स्थापना गर्नतिर लागेका छन् । जिल्ला प्रशासकहरूसँग पनि यसबारे कुनै योजना छैन । 

नाकाबाट निर्बाध आवागमन

विज्ञहरूले भने भारतमा प्रतिदिन फैलिँदै गएको संक्रमणले नेपालमा जुनसुकै बेला भयावह रूप लिन सक्ने भएकाले नाकामा कडाइ गर्नैपर्ने बताएका छन् । ‘दक्षिणतिर संक्रमणको संख्या बढ्दै जाँदा नाका खुला भएपछि जोखिमको स्तर पनि बढ्दै जान्छ भन्ने जसले पनि बुझ्ने कुरा हो, महामारीबाट जोगिने हो भने सबै नाका बन्द गर्नैपर्छ,’ शुक्रराज ट्रपिकल अस्पताल टेकुका चिकित्सक डा. शेरबहादुर पुनले भने, ‘जुन सतर्कता हामीले विमानस्थलमा देखायौं, त्यो स्थलमार्गमा पनि देखाएनौं भने ठूलो भूल हुनेछ ।’


डा. पुनले भनेजस्तो सतर्कता सीमाका कुनै पनि नाकामा देखाइएको छैन । भारतसँग ६० किलोमिटर सिमाना जोडिएको प्रदेश १ को मोरङका जोगबनीसहित मायागन्ज, रंगेली, डाइनिया, डोरिया, चुनीबारी, तरिगामा, कदमाहा र चौकीघाट गरी नौवटा छोटी भन्सार नाकाबाट दिनहुँ हजारौं मानिसको ओहोरदोहोर पहिलेजस्तै छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नाकाबाट आउजाउमा रोक लगाउने कुनै तयारी नभएको बताए । बन्द गर्ने निर्णय गरेयता जोगबनी नाकाबाट मात्रै हरेक दिन करिब १५ सय जना आउजाउ गरिरहेका छन् ।


दार्जिलिङसँग जोडिएको पूर्वी इलामका मानेभन्ज्याङ, हिले, छब्बिसे, शान्तिबजारलगायत नाकाबाट दुवै

देशका सर्वसाधारण केही नभए जस्तै गरी वारिपारि गरिरहेका छन् । झापाका मेची पुल, केचना, घेराबारी, कुमरखोद तथा खजुरगाछी नाका पनि बन्द गरिएका छैनन् ।


प्रदेश २ स्थित धनुषाको धनौजी गाउँपालिकाको कमला–विमला नदीमा निर्माणाधीन बेलौती पुलबाटै मानिस नेपाल–भारत आउजाउ गरिरहेका छन् । आवतजावत रोक्नुको बदला नगरपालिकाले यहाँ नाम मात्रको हेल्थ डेस्क राखेको छ । ज्वरो नाप्ने थर्मोमिटरबाहेक कुनै उपकरणबिनै डेस्कमा खटिएका स्वास्थ्य सहायक कमल कबारी भीडभाड बढ्दै जाँदा अचेल आफैं त्रसित हुन थालेका छन् । सीमाको बेरोकटोक आवतजावतले सर्वसाधारणमा त्रासको फैलँदो अवस्था कस्तो छ भने उनी घर फर्किंदा परिवारका सदस्य नजिक आउनसमेत मान्दैनन् । ‘यसरी अस्तव्यस्तसँग सीमामा उभिनुपर्दा म आफैं खतरामा छु,’ कबारी भन्छन्, ‘के गर्नु, सरकारको निर्देशन मान्नैपर्‍यो ।’


भारतबाट जनकपुर आउने मुख्य नाका जटहीको चहलपहल पनि उस्तै छ, जहाँ नगरपालिकाको ब्यानरले छोपिएको सानो छाप्रोमा एक जना स्वास्थ्यकर्मी उसैगरी डराइडराई खटिएका छन् । जटही र कमला–विमलाका अतिरिक्त प्रदेश २ अन्तर्गतका बन्द हुनुपर्ने रौतहटको बैरगनिया, सर्लाहीको सोनबर्षा, महोत्तरीका भिठामोड र मटिहानी, सिरहाको माडर र लौकही, सप्तरीको कुनौली र छिन्नमस्तालगायत नाकाबाट निर्बाध आवतजावत भइरहँदा पनि त्यसलाई रोक्न कसैले चासो देखाएको छैन ।


प्रदेश ५ का साना–ठूला डेढ दर्जन नाकाको अवस्था पनि भिन्न छैन । ती नाकाबाट दुवै मुलुकका नागरिक चाहेका बेला बिनाजाँच आउजाउ गरिरहेका छन् । दुवैतिर मुख्य नाकाबाट प्रवेश गर्नेको तथ्यांक राखिए पनि साना नाकाबाट ओहोरदोहोर गर्नेको अभिलेख राखिएको छैन ।


दुवै मुलुकका सीमावर्ती बासिन्दाबीच पारिवारिक सम्बन्ध भएकाले पनि नाकाको चहलपहल नघटेको हो । पछिल्लो समय भारतमा रोजगारी र अध्ययन गर्नेहरू फर्किन थालेपछि झन् नाकामा मान्छेको मेला लाग्न थालेको छ । अधिकारीहरू बन्द गर्ने भनिएका नाकामा लागेको यो चापलाई रोक्न के गर्ने भन्नेमै अलमलमा छन् । ‘साना नाका बन्द गर्ने योजना बनाएका छौं,’ कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल भन्छन्, ‘तर अझै गरिसकेका छैनौं ।’


कपिलवस्तुमा हथिहवा–दोहनी, रंगपुर, हदौना र कुशहवा–बढनी चल्तीका नाका हुन् । भारतमा कोरोनाको संक्रमण फैलिरहेका बेला स्थानीयले नाका बन्द गर्न दबाब दिएका छन् तर प्रशासनले ‘अवस्था विश्लेषण गरिरहेको’ जनाएको छ । स्थानीय प्रशासनले नाकामा नाम मात्रको हेल्थ डेस्क स्थापनालाई उपलब्धि मानिरहेको छ ।


भारतसँगको ६० किमि खुला सिमाना पर्ने रूपन्देहीको मुख्य नाका सुनौली खुला गर्ने भनिएको मुख्य चार नाकामध्येको एक हो, जहाँ राखिएको हेल्थ डेस्कमा मध्यरातसम्म भीड हुन्छ । सुनौलीबाहेक रूपन्देहीका बेलहिया, भगवानपुर, लुम्बिनीको कक्रहवा र मर्चवार नाका पनि पूर्ववत् खुलै छन् ।


त्यस्तै पश्चिम नवलपरासी, बाँके र बर्दियाका नाकामा पनि आवतजावत उस्तै छ । जिल्ला प्रशासनले भीड नियन्त्रण गर्न गाडीमा रोक लगाए पनि जोखिम कम भएको छैन । उल्टै, नाका बन्दको हल्लाले सर्वसाधारण किनमेल गर्न भारतीय बजार रुपैडियामा ओइरिन थालेका छन् । हेल्थ असिस्टेन्ट देवीचन्द थापा सबै नाका बन्द नभएसम्म संक्रमणको जोखिम कम नहुने बताउँछन् । ‘गाडीवाला आउने–जाने गर्छन्,’ उनी भन्छन्, ‘पैदलयात्रु हिँडेकै छन् । नियन्त्रण कसरी हुन्छ ?’ जिल्ला प्रशासनले नेपालगन्जको मूल नाका जमुनाहा एकतर्फी रूपमा बन्द गर्न नमिल्ने जनाएको छ । ‘कूटनीतिक छलफलपछि मात्रै नाका बन्द गर्न सकिन्छ,’ प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने ।


सुदूरपश्चिममा भारतसित नाका जोडिएका कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीबाहेकका नाका बन्द गर्ने निर्णय सरकारले गरेको थियो तर कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलामा वैध सीमाबाहेक पनि दर्जनौं ठाउँबाट परम्परागत रूपमा हुने ओहोरदोहोर रोकिएको छैन ।


कैलालीमा १ सय १ किलोमिटर खुला सीमामा टीकापुरको खक्रौला र धनगढीको त्रिनगर भन्सार नाका वैधानिक हुन् भने चौगुर्दीघाट, कालाकुण्डा, जसबहादुर घाट, मौरिया घाट, खोनपुर, फूलबारीलगायत अवैध रूपमा आउजाउमा प्रयोग भइरहेका नाकाहरूबाट ओहोरदोहोर निर्बाध भइरहेको छ । ‘हाम्रो जनशक्ति न्यून छ, लुकिछिपी हुने आवतजावत रोक्न सकिएको छैन,’ सीमा सुरक्षा गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीको ३४ नम्बर गण धनगढीका गणपति कमल तिमिल्सिना भन्छन्, ‘तर पहिलेभन्दा कम भइसकेको छ ।’ यसै साता कैलाली र भारत पक्षका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले पनि खक्रौला र त्रिनगरबाहेकबाट हुने आवतजावत पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेका थिए तर कार्यान्वयन भने हुन सकेको छैन ।


कञ्चनपुरको महाकाली, बेलौरी र पुनर्वास नगरपालिका तथा बेलडाँडी गाउँपालिकाका विभिन्न नाकाबाट पनि आउजाउ चलिरहेको छ । ‘जति गरे पनि आवागमन रोक्न सकिएको छैन,’ बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरी भन्छन्, ‘एक दिन भारतीय सुरक्षाकर्मीले बन्द गर्दा पूर्णरूपमा आउजाउ बन्द भयो तर त्यसपछि हामीले गर्न सकेका छैनौं ।’


(इलामबाट विप्लव भट्टराई, मोरङबाट विनोद भण्डारीदेवनारायण साह, झापाबाट अर्जुन राजवंशी, धनुषाबाट सन्तोष सिंह, धनगढीबाट अर्जुन शाह, कञ्चनपुरबाट भवानी भट्ट, बैतडीबाट तृप्ति शाही, कैलालीबाट गणेश चौधरी, बर्दियाबाट ठाकुरसिंह थारू, बाँकेबाट मधु शाही, कपिलवस्तुबाट मनोज पौडेल, रूपन्देहीबाट माधव ढुंगाना र पश्चिम नवलपरासीबाट नवीन पौडेल)

प्रकाशित : चैत्र ७, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?