२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बाघको आहार साना जन्तु

बाघले आफूभन्दा ठूलो जनावर मार्न खोज्छ तर अहिले त्यस्ता जनावरको प्रजाति घटेको अध्ययनमा पाइएको छ
अब्दुल्लाह मियाँ

काठमाडौँ — बाघको तौल करिब २ सय किलो हुन्छ । सामान्यतया आफूभन्दा ठूलो जनावर मार्न खोज्छ । तर अहिले आफूभन्दा धेरै साना जीव खानुपर्ने बाध्यतामा बाघ रहेको अध्ययनमा पाइएको छ । ‘बाघका लागि आहारा मुख्य समस्या होइन, संरचना नमिलेको हो,’ 
राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहास्थित जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु विज्ञ बाबुराम लामिछानेले भने । 

बाघको आहार साना जन्तु

चित्तल, जरायो, लगुना मृग, चित्तल, रतुवा मृग, जंगली बँदेल, गौरी गाई (गौर), नीलगाई र चौका बाघका मुख्य आहार हुन् । निकुञ्ज विभागले विशेषज्ञमार्फत करिब दुई वर्ष लगाएर चितवन र पर्सा निकुञ्जमा गरेको अध्ययनले बाघका आहारमध्ये ठूला प्रजाति गौरीगाई, नीलगाई, जरायो, अर्नाभन्दा साना चित्तल, लगुना मृग, रतुवा मृग, जंगली बँदेलको घनत्व बढी देखाएको छ ।


सन् २०१८ को पछिल्लो गणनाअनुसार चितवन निकुञ्जमा ९३ वयस्क बाघ छन् । तिनका आहार प्रजाति भने प्रतिवर्ग किमिमा ७२ वटा हाराहारी छन् । विज्ञका अनुसार बाघका लागि आहार प्रजातिको यो संख्या खासै थोरै होइन । ‘आहार कम भएर चितवनमा बाघ घटेको होइन भन्ने पुष्टि भएको छ,’ लामिछानेले भने, ‘बाघ घट्नुको कारकमा बासस्थानको क्षेत्रफल घटेको देखिएको छ ।’ सन् २०१३ मा चितवनमा १ सय २० वयस्क बाघ थिए ।


पछिल्लो गणनामा बर्दिया निकुञ्जमा भने बाघको संख्या बढेको पाइएको थियो । २०१८ को गणनाअनुसार बर्दियामा वयस्क बाघको संख्या ८७ वटा छ । संख्या बढ्ने अपेक्षा गरिएको चितवन निकुञ्जमै एकाएक घटेपछि वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले गणनामा अपनाइएको प्रविधिमै शंका गरेका थिए । प्रतिवेदन पनि तत्काल सार्वजनिक गरिएको थिएन । विभागले आहार प्रजाति घटेर बाघको संख्या घटेको हो कि भनेर विदेशी विज्ञ नै परिचालन गरेर अध्ययन गराएको थियो ।


९५२.६३ वर्ग किमिमा फैलिएको चितवन निकुञ्जमा एक सय वर्ग किमि क्षेत्रमा बाघको घनत्व ३.२८ छ । यो सन् २०१८ को अध्ययनको निष्कर्ष हो । जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) का वन्यजन्तु विज्ञ राजन अमिन र प्यान्थेरा संस्थाका अभिषेक हरिहरलगायतले आहार प्रजाति र चितवनमा बाघले धान्न सक्ने भार (क्यारिङ क्यापासिटी) बारे अध्ययन गरेका हुन् ।


अहिले अध्ययन उक्त प्रतिवेदनलाई अन्तिम रूप दिइँदै छ । चितवन निकुञ्जमा सन् २०१३ मा बाघका आहार प्रजातिको घनत्व प्रतिवर्ग किमिमा ७३.६३ थियो । त्यो बेला चितवनमा १ सय २० वटा वयस्क बाघ थिए । पाँच वर्षपछि त्यहाँ बाघका आहार प्रजातिको घनत्व ७०.७ थियो । अहिले वृद्धि भएर ७२ पुगेको छ । ‘चितवन निकुञ्जमा सन् २०१८ को भन्दा अहिले आहार प्रजातिको घनत्व बढेको देखिन्छ,’ विभागका एक अधिकारीले भने, ‘बासस्थान भने खुम्चिँदै छ । बाघको संख्या बढाउने हो भने उसले मन पराउने आहार प्रजातिको संख्या अझ बढ्नुपर्छ । त्यसका लागि घाँसे मैदान क्षेत्र बढाउनुपर्छ ।’


चितवनसँगै जोडिएको पर्सा निकुञ्जमा पनि सन् २०१३ र २०१८ मा भन्दा आहार प्रजातिको घनत्व बढेको छ । सन् २०१३ मा प्रतिवर्ग किमि २५.३३ र २०१८ मा २२.२ रहेकामा भर्खरै सकिएको अध्ययनले ३१ देखाएको छ । पर्सामा १८ वटा बाघ छन् ।


सन् २०१८ को अध्ययनअनुसार पर्सा निकुञ्जमा प्रतिएक सय वर्ग किमिमा बाघको घनत्व ०.९२ छ । बाँकेमा बाघको घनत्व ०.९७, बर्दियामा ४.७४ र शुक्लाफाँटामा ०.९६ छ । विज्ञहरूले आहार प्रजातिको उपलब्धता विश्लेषण गरी चितवन–पर्सा ब्लकले धान्न सक्ने बाघको संख्यासमेत यकिन गर्नेछन् ।


जेडएसएल नेपालमा तराई कार्यक्रम प्रबन्धक भगवानराज दाहालले अहिले पाइएका आहार प्रजातिको घनत्व बाघको संख्या बढाउन सहयोग पुग्ने स्तरको भएको बताए । ‘अरू देशमा बाघका आहार प्रजातिको उपलब्धता पनि हामीकहाँ पाइएजस्तै नै हो,’ उनले भने । लामिछानेले पनि अहिलेको आहार प्रजातिको उपलब्धताले प्राकृतिक बासस्थानमा बाघको संख्या बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘सानाभन्दा ठूला प्रजातिको घनत्व बढी भए अझ राम्रो हुन्थ्यो ।’


विभागका अनुसार बाँके निकुञ्जमा सन् २०१३ मा बाघका आहार प्रजाति १०.२७ रहेकामा सन् २०१८ मा त्यो ८.१ मा घटेको थियो । बाँकेमा २१ बाघ छन् । बर्दियामा आहार प्रजातिको घनत्व सन् २०१३ मा ९२.६ रहेकामा सन् २०१८ मा ७७.५१ र शुक्लाफाँटामा ७८.६२ बाट ६८.०४ मा झरेको छ । शुक्लाफाँटामा १६ बाघ छन् ।


विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले चितवन र पर्सा निकुञ्जको बाघको भार क्षमता थाहा पाउन सके भावी दिनमा वन्यजन्तुको दिगो संरक्षण गर्न सहयोग पुग्ने बताए ।

प्रकाशित : चैत्र ६, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?