कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ मा 'क्रस भोटिङ' भएपछि नेकपा र कांग्रेसले लगाए सांसदलाई ह्विप

काठमाडौँ — प्रदेश २ को नामकरण लागि जारी मतदानमा 'क्रस भोटिङ' भएपछि प्रतिपक्ष नेकपा र कांग्रेसले आफ्‍ना पार्टीका सांसदहरुलाई ह्विप जारी गरेका छन् । दुवै दलले सत्तारुढ दलको तर्फबाट हुने प्रस्तावको विपक्षमा मत हाल्न आफ्‍ना सांसदलाई ह्विप जारी गरेका हुन् । 

प्रदेश २ मा 'क्रस भोटिङ' भएपछि नेकपा र कांग्रेसले लगाए सांसदलाई ह्विप

प्रदेश २ को नामकरणका लागि नेकपा, कांग्रेस र बारा-पर्साका सांसदले राखेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । नेकपाले प्रदेशको नाम 'जानकी', कांग्रेसले 'मिथिला-भोजपुरा' र बारा-पर्साका सांसदले 'मध्य मधेस' नाम प्रस्ताव गरेका थिए ।

प्रस्ताव अस्वीकृत भएपछि अब सत्तारुढ दल राजपाले राखेको 'मधेस प्रदेश' माथि मतदान सुरु हुँदैछ । सत्तापक्षको तर्फबाट राजपाले प्रदेशको नाम 'मधेस' प्रस्ताव गरेको छ । प्रदेशको नामकरणका लागि दुई तिहाइको मत आवश्यक पर्छ ।


दुई तिहाइका लागि सत्ता पक्षलाई आफ्‍ना ५५ सहित थप १७ जना सांसद आवश्यक पर्छ । प्रदेशमा नेकपा ३२, कांग्रेस १९ र नेपाल संघीय समाजवादी पार्टीको एक सांसद छन् । यस्तो अवस्थामा सत्ता पक्षले आफूले राखेको प्रस्तावलाई दुई तिहाइ पुर्‍याउन प्रतिपक्षी सांसदहरुको मत आवश्यक छ।


नेकपा र कांग्रेसलाई आफ्‍ना सांसदहरुले पक्षमा मत हाल्‍ने आशंका गरेपछि ह्विप जारी गर्दै आफ्ना सांसदलाई टसमस नहुन निर्देशन दिएका हुन् ।

प्रदेशसभामा नेकपाका ३२ सांसद छन् तर उसले राखेको प्रस्तावमा ३७ मत खसेको थियो । नेकपाको प्रस्तावमाथि अन्य दलका ५ सांसदले समर्थन गरे तर कसले मत खसाले भने गोप्य मतदानका कारण खुल्‍न सकेन ।


कांग्रेसको प्रस्तावमा पनि क्रस भोटिङ भयो । प्रदेश सभामा १९ सांसद रहेको कांग्रेसको प्रस्तावमा २८ मत खस्यो । सत्ता पक्षीय सांसदहरुले मत खसालेको आशंका छ ।


गोप्य मतदानमा क्रस भोटिङ बढेसँगै सत्ता पक्षलाई अन्य दलका सांसदहरुले भोट दिने सम्भावना बढेको छ ।

प्रदेश २ मा समाजवादी र राजपाको संयुक्त सरकार छ । समाजवादीको ३०, राजपाको २५ सांसद गरी ५५ सांसद छन् । मतदानमा प्रदेशका एक सय ७ जना प्रदेश सांसदहरुले मत खसालेका थिए ।

प्रकाशित : चैत्र ४, २०७६ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?