क्याम्पबाहिर निस्कँदा कतारबाट २५० नेपाली फर्काइए- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्याम्पबाहिर निस्कँदा कतारबाट २५० नेपाली फर्काइए

होम कार्की

काठमाडौँ — कतारको औद्योगिक क्षेत्र (सनैया) मा बस्ने पोखराका अनिलकुमार सुनार शुक्रबार दिउँसो साढे ३ बजे किनमेलका लागि आफ्नै गाडी लिएर कोठाबाट निस्किए । नेपाली खाना सप्लाई गर्ने क्याटरिङ चलाएका उनलाई शनिबारका लागि चाहिने सरसामानको जोहो गर्नु थियो । किनमेल गर्न नपाउँदै उनीलगायत करिब २ सय ५० नेपाली डिपोर्ट गरिए । उनीहरू किन डिपोर्टमा परे ? सोमबारमात्र काठमाडौं ल्याइएका सुनारलगायतको ठूलो जमात अलमलमा थियो ।

शुक्रबार गाडीमा सुनार र उनका काका थिए । कतारी सुरक्षाकर्मीले सनैयास्थित ३८ नम्बर कचरा मार्केट नपुग्दै बाटोमा रोके र गाडीबाट बाहिर निस्कन लगाए । उनले प्रहरीलाई कतारी परिचयपत्र, गाडीको इस्तामारा र लाइसेन्स देखाए । ‘अहिले कोरोनाको चेक भइरहेको छ । गाडी तेरो हो । मान्छे तैँ नै हो । तँ जहाँ गए पनि फर्केर यही आउने हो । गाडी साइड गर । तँ हामीसँग हिँड्,’ कतारी प्रहरीले उनलाई भन्यो । उनले गाडीलाई बाटोकै छेउमा साइड लगाए ।‘कोरोनोको बिगबिगी चलेको छ । अरू क्याम्पबाट पनि चेक गर्न लिएर गएको होला भन्ठान्यौं । ठीक छ भन्दै गाडी बाटोमै साइड लगाए,’ काठमाडौं उत्रिएपछि उनले कान्तिपुरसँग भने, ‘प्रहरीको गाडीभित्र हालेपछि दुई हातलाई पछाडि लगेर हतकडी लगाइदियो । मोबाइल स्विच अफ गरिदियो ।’


उनले कसैलाई सम्पर्क गर्न पाएनन् । प्रहरीको भ्यान ग्रान्ड मल मार्केटमा गएर केहीबेर राखेपछि उनलाई सनैयाको २ नम्बरस्थित डिपोर्टटेसन सेन्टर (सफर जेल) मा लगेर राखिदियो । त्यो जेलभित्र धमाधाम पक्राउमा परेका नेपाली, बंगाली, पाकिस्तानी र इथोपियनलाई ल्याइरहेको थियो । जेलभित्र एकैछिनमा झापाको काँकडभिट्टाका कृष्ण भट्टराईसहितको टोली आइपुग्यो । ४६ वर्षीय भट्टराई दुई वर्षदेखि वकिल ट्रेड सर्भिस कम्पनीको फोरम्यान थिए । उनी सल्वारोडमा तरकारी किन्न गएका थिए ।


‘मान्छे समात्न प्रहरीले ८–१० वटा बस लिएर गएको रहेछ । बाटोमा जो जो भेट्छ । सबैलाई बसमा हालेर ल्यायो । ती सबै बस कामदारले भरिएका थिए,’ उनले थप जानकारी दिए, ‘किनमेल गरेर कामदारलाई ल्याइरहेको रेड्को अलमान कम्पनीको बसलाई त क्याम्पतिर छिर्न नै दिइएन । बाटोबाटै घुमाएर प्रहरी थानाभित्र ल्यायो ।’


उनीहरूलाई राखिएका जेलका सबै भवनहरू शुक्रबार समातिएका कामदारले भरिएका थिए । ‘मान्छे कति थिए कति,’ अल वन्दरी इन्जिनियरिङ कम्पनीमा काम गर्ने धनुषाका अशेश्वर खत्वेले भने, ‘कोठामा नअटेर बरन्डामा राखिएको थियो । मान्छेलाई आँखाले हेरेर भ्याउँदैन्थ्यो, त्यत्रा मान्छे थिए । हजारभन्दा बढी थिए होला ।’

कतारमा दुई हजार नेपाली क्‍वारेन्टाइनमा

मान्छे धेरै भएर होला, प्रहरीले थालमा समेत खाना खुवाउन सकेनन् । ‘लामो प्लास्टिकलाई भुइँमा बिछ्याइएको थियो । त्यसमाथि भात हाल्दै जान्थ्यो । हामीलाई प्लास्टिकको दायाँबायाँ लाममा राखिएको थियो । जसले जति पाउँछ । त्यति खान्थ्यौं,’ भट्टराईले भने, ‘प्रहरीलाई भित्र कति कैदी छ भन्ने नै थाहा भएन । बेडसिटकै प्लास्टिकलाई च्यातेर सुत्नुपर्‍यो ।’


‘हामी बिहान ४ बजे क्याम्पबाट निस्किन्छौं । बेलुका ६ बजे आएर सुत्छौं । शुक्रबार दिउँसो तरकारी किन्न जाँदा पक्राउ परियो । कसैले पनि बाहिर निस्किनु हुँदैन भनेको थिएन । क्याम्पबाट बाहिर निस्किनुलाई ठूलो अपराध गरेको रूपमा सरकारले लियो । उल्टो कम्पनीले दिएको ३२ सय रियाल पनि कतारी प्रहरीले खाइदियो । – बिल्टु दास, कतारबाट डिपोर्ट भएका कामदार

जेलभित्र लैजाँदा पनि उनीहरूले आफूहरूलाई कुन अभियोगमा पक्राउ गरेको भनेर सोध्दा कसैले जवाफ दिएनन् । उल्टो चुप लागेर नेपाल फर्किन डरत्रास देखाइयो । ‘प्रहरीको ठूलो हाकिम आयो । हाम्रो समस्या के छ ? के गल्ती गरेका छौं भनेर मैले सोधे,’ भट्टराईले भने, ‘ऊ निकै रिसायो । सात्तो लिने गरी करायो । कोही गइनस् भने तिमीहरूलाई योभन्दा ठूलो जेलमा हाल्छौं भन्यो ।’

जेलमा तीन दिन राखे । कतिको कोरोना लागेको छ कि छैन भनेर जाँच पनि गरे । ‘एउटालाई कोरोना देखियो भन्दै हामीबाट अन्तै लगे । तर हामीलाई चेक गर्दा देखा परेन,’ खत्वेले भने, ‘कोरोना अन्त्य हुन्छ भन्दा उल्टो कोरोना लाग्छ भन्ने डर भयो । कोठाभित्र प्रार्थना गरेर बस्यौं ।’



जेलभित्रको कोठा निकै चिसो बनाइएको थियो । ‘चिसोले गर्दा खोकी लागेको हुन्छ । अनिद्राको कारणले आँखा रातो हुन्छ । भोकले शरीर घुमाएको हुन्छ । पीडा आफ्नो आफ्नो हुन्छ नि । सबैलाई स्वास्थ्य चेक पनि गर्‍यो,’ उनले भने, ‘हामी त भेडाबाख्रा जस्तै भयौं । आइज भन्दा आउने, जा भन्दा जाने ।’


आइतबार रात परेपछि भने सबैलाई कोठाबाट एक–एक गरी निकाले । ‘बाहिर ल्याएर घुँडा खुम्चाएर बसाले । मसँगै भएको भाइले हामीसँग खाने पैसा पनि छैन । घर कसरी जाने भन्दा प्रहरीको हाकिमले त्यो तेरो समस्या हो । तिमीहरूको सबै पैसा तेरो एकाउन्टमा हालिदिन्छौं । पैसा एम्बेसीमा गएर माग्नु भन्यो,’ जनकपुरको रामानन्द चोकका रन्धीरकुमार साहले भने, ‘जेलको चउरमा पुलिसको घेराभित्र राखेको छ । त्यसपछि ७/८ वटा बसमा सबैलाई पालैपालो चढाए । एउटा भ्यानमा हाम्रो सामान र दुई जना युवती पनि थिइन् । अगाडि तीन, पछाडि तीनवटा रातो गाडीको पुलिस र दुई साइडमा अल्फजा पुलिस र बीचमा हामी चढेको बस थियो । बसमा झन्डै दुई सय ५० नेपाली कामदार थिए । ठूलो अपराध गरेको कुख्यात अपराधी जसरी सुरक्षा दिएर हामीलाई सिधा एयरपोर्टमा ल्याए ।’ रातो गाडीको प्रहरीले कतारको आन्तरिक सुरक्षाको बन्दोबस्ती गर्छ भने अल्फजाले आप्रवासी कामदार मामिला हेर्छ ।



कतारमा लेबर काम गर्दै आएका धनुषाका बिल्टु दास । कम्पनीले जेलमा आएर दिएका ३२ सय रियाल प्रहरीले उनलाई फिर्ता गरेनन् ।


हमाद विमानस्थलमा आधा घण्टाजति लाइनमा बसाएको थियो । प्रहरीले जहाज चढ्ने अन्तिम कक्षमा ल्याएर छाडिदिए । ‘मलाई पक्राउ गरेपछि कम्पनीले जेलमा आएर सामान र पैसा दिएको थियो । मसँग ३२ सय रियाल (९६ हजार रुपैयाँ) थियो । प्रहरीले जाने बेला दिन्छु भनेर लिएका थिए,’ धनुषाका बिल्टु दासले भने, ‘एयरपोर्टमा दिन्छु भनेको थियो । एयरपोर्टमा आएपछि मैले पैसा मागेको त प्रहरीले मेरो गला पकडे । गइहाल तेरो पैसा छैन भने । के गर्ने प्रशासनसँग झगडा गर्न मिल्दैन ? हामीले केही गर्न सक्तैन । चुप लगाएर आयौं ।’ रेड्को अल्माना कम्पनीमा काम गर्ने उनी क्याम्पको गेट अगाडिबाट पक्राउ परेका थिए ।


सोमबार बिहान १०ः१५ मा काठमाडौं उत्रिएको ६५२ नम्बरको कतार एयरवेज पुरै डिपोर्ट भएका नेपालीले भरिएका थिए । ‘हामीजस्तो सामान्य कामदारमाथि कतार सरकारले अन्याय गरेको छ । हामीलाई क्याम्पबाट बाहिर निस्कनु हुँदैन भनेर कसैले भनेको थिएन । तर, सचेत गर्नुको सट्टा देश नै निकाला भयो,’ दासले भने, ‘हामीले त्यस्तो के अपराध गरेका थियौं ?’


‘भीडभाडको ठाँउमा जाँदा पक्राउ परेको हुन सक्छ’

नारदनाथ भारद्वाज, कतारका लागि नेपाली राजदूत

कतारमा ३ लाख ५१ हजार नेपाली कार्यरत छन् । कतार सरकारले कामदारलाई डिपोर्ट गर्नेभन्दा पनि कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रूपमा राख्ने नीति लिएको छ । सरकारले योजनाबद्ध रूपमा डिपोर्ट गर्‍यो जस्तो लाग्दैन ।



कतारले सनैयास्थित अलअत्तिया बजार, जसलाई कचरा मार्केटका रूपमा चिनिन्छ । त्यहाँ नजान र भीडभाड नगर्न सूचना जारी गरिरहेको छ । त्यो क्षेत्रलाई विशेष निगरानीमा राखेको छ । त्यो मार्केट एक किसिमको गैरकानुनी नै हो । त्यहाँ गएका कामदार पक्राउ परेको हुनसक्छ । हामीलाई जेलमा परेका वा डिपोर्टमा परेका कामदारले कुनै उजुरी दिएका छैनन् । हामीलाई उजुरी भयो भने सम्बन्धित ठाउँमा गएर सोधपुछ गर्नेछौं ।


डिपोर्टमा परेका भनिएका कामदारले नेपालमा वैदेशिक रोजगार बोर्ड वा कन्सुलर विभागमा गएर उजुरी दिनु भएमा हामी उहाँहरूले पाउनुपर्ने तलब र बोनसका लागि सम्बन्धित कम्पनीमार्फत दिलाउनेछौं । कानुनी तबरबाट उजुरी गर्न हामी फर्केका कामदारलाई अनुरोध गर्दछौं ।

प्रकाशित : चैत्र ४, २०७६ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्

कतारमा दुई हजार नेपाली क्‍वारेन्टाइनमा

होम कार्की

काठमाडौँ — कतारले कोभिड–१९ संक्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ । त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन् ।कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो ।

उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन । क्वारेन्टाइनमा रहेका नेपालीले आफूहरूको स्वास्थ्य सुरक्षाका लागि नै क्वारेन्टाइनमा राखिएको भन्दै खुसी व्यक्त गरेका छन् । ‘हामीलाई राखिएको ठाउँका आठवटा बिल्डिङमा फरकफरक कम्पनीमा काम गर्ने नेपाली छन् । यहाँका दुईवटा बिल्डिङमा बस्ने दुई जनालाई कोरोना संक्रमण देखिएपछि सबैलाई क्वारेन्टाइनमा राखिएको हो,’ क्वारेन्टाइनमा बसेका धनुषाका एक नेपालीले कान्तिपुरसँग भने, ‘हाम्रो स्वास्थ्य जाँच गर्न हमाद अस्पतालबाट डाक्टर आए, सबै जाँच गरेर गए । रिपोर्ट आइसकेको छैन ।’

क्वारेन्टाइनमा बस्नेमा कोठाभाडामा लिई बसेका नेपालीहरू पनि छन् । त्यसमा धेरैजसो सेल्सम्यानको काम गर्नेहरू छन् । ‘खाना हमाद अस्पतालबाटै आउँछ । कुनै समस्या छैन,’ उनले भने, ‘सुरुसुरुमा डर लागेको थियो । अब सामान्य लाग्न थालेको छ ।’ त्यही परिसरभित्र रहेका अर्घाखाँचीका एक नेपालीले सुरक्षा व्यवस्था निकै कडा रहेको बताए ।

‘बाहिर गेटमा कतारी सुरक्षाकर्मीले पहरा दिइरहेका छन् । गेटबाट बाहिर निस्कन दिइएको छैन । कम्पनीका मान्छेलाई पनि भित्र आउन दिइएको छैन । कम्पनीले कुनै कुराको कमी हुन दिएको छैन । साथीहरूको घरमा पैसा पठाउनु परेमा आफैंले पठाइदिएको छ,’ उनले भने, ‘यो निगरानीलाई हामीले सकारात्मक रूपमा लिएका छौं ।’

सनैयाकै अर्को क्याम्पमा रहेका झन्डै तीन हजार कामदारलाई बाहिर निस्कन दिइएको छैन । उनीहरूले किनमेल गर्ने बजारमा संक्रमित भएको कामदार भेटिएपछि सबै कामदारलाई स्वास्थ्य परीक्षण गर्न लागिएको हो । ‘हामी जहाँ किनमेल गर्न जान्थ्यौं, त्यहाँ कोरोना भाइरस लागेको एकजना भेटिएछ । त्यो हाम्रो क्याम्पभित्र बस्ने हो कि होइन थाहा भएन । हामी पनि त्यहाँ गएको हुन सक्ने भन्दै हामीलाई काम गर्न र बाहिर जान नदिएको हो,’ एक नेपालीले भने, ‘बाहिर ननिस्केको तीन दिन भयो । हामी आफैंले कोठामा खाना बनाएर खाइरहेका छौं । खानाको अभाव छैन । खानेकुरा हाम्रो क्याम्पभित्रैको पसलमै किन्न पाइन्छ । हाम्रो क्याम्प बोसले छिट्टै स्वास्थ्य जाँचका लागि टोली आउँछ भनेको छ ।’

सनैया क्षेत्रमा मात्रै कम्तीमा चार लाखभन्दा बढी आप्रवासी कामदार बस्छन् । जसमा झन्डै ३० प्रतिशत नेपाली छन् । शुक्रबार बिदाको दिन भए पनि कतारी प्रहरीले कसैलाई क्याम्पबाट बाहिर निस्कन दिएको थिएन । ‘क्याम्पभित्र रहेको गाडीबाट सिधा काम गर्ने साइडमा जाने हो । साइडबाट सिधा क्याम्पभित्रै आउने हो । दायाँबायाँ गर्न दिइएको छैन । कोही साथी क्याम्पबाट बाहिर निस्केर हिँडेमा पक्राउ परेका छन्,’ सिरहाका जयसिंह मण्डलले भने, ‘कतिपय साथी परिस्थिति नै बुझ्दैनन् ।’

कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ सय ३७ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा राखिएका कामदारहरूमै संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । संक्रमण देखिएकामध्ये चार जना उपचार सफल भएर क्याम्पमा फर्केका छन् । उनीहरू जोर्डनी, फिलिपिनो, इरानी र सुडानी नागरिक हुन् । हालसम्म नेपालीको विषयमा केही सार्वजनिक भएको छैन ।

सार्वजनिक स्वास्थ्य विभागका निर्देशक डा. मोहम्मिद विन हमाद अल थानीले कतारी नागरिक र आप्रवासीबीचको स्वास्थ्य उपचारमा कुनै विभेद नभएको बताएका छन् । उनले भाइरसको संक्रमण धेरैजसो कामदारमा देखिएको बताए । ‘भाइरसको संक्रमणलाई निस्तेज पार्न प्रत्येक निकायले सहकार्य गरिरहेका छन्,’ उनले भने ।

धेरै कार्यस्थल बन्द भइसके
–नारदनाथ भारद्वाज, कतारका लागि नेपाली राजदूत


औद्योगिक क्षेत्रमा धेरै सघन बसोबास रहेको हुँदा कतारी निकायबाट निगरानी राख्नु स्वाभाविक हो । यो क्षेत्रमा भाइरस फैलिएमा नियन्त्रण गर्न गाह्रो छ । अन्यत्रभन्दा सनैया क्षेत्रमा बढी निगरानी छ । पछिल्लो समय कामदारबाटै भाइरस संक्रमण भइरहेको भेटिएको छ । अहिलेसम्म ३ सय ३७ जना संक्रमित भइसकेका छन् । यहाँ सरकारी अधिकारीहरूले कसैप्रति विभेद गरेका छैनन् ।

कतारको परराष्ट्र मन्त्रालयले १४ देशका राजदूतसँग अन्तरक्रिया गरेको थियो । नेपाली संक्रमित भए भने हामीले सूचना पाइन्छ कि पाइँदैन भनेर मैले सोधेको थिएँ । त्यतिखेर परराष्ट्रले कामदारको इच्छाविपरीत हामीले सूचना नदिने बतायो । कामदारसँग मोबाइल हुने हुँदा उनीहरू आफैंले सूचना दिन सक्ने जानकारी दिए । हामीलाई अहिलेसम्म कसैले केही भनेका छैनन् ।

यो आपतकालीन अवस्थामा नेपाली कामदारले कतार सरकारले निर्देशन अनिवार्य पालना गर्नुको विकल्प छैन । नेपाली अनुशासित भइदिनुपर्छ । नजा भनेको ठाउँमा गइदिनुहुँदैन । अस्ति भनेको नमान्दा दुई जना नेपाली डिपोर्ट भए । आप्रवासीले आफ्नो समुदायको स्वास्थ्यमा जोखिम बनाइदिनु हुन्न । यसलाई हामीले बुझ्नुपर्छ । मैले सेल्फ आइसोलेसनमा बस्न नेपाली समुदायलाई अपिल गरिरहेको छु ।

कतारको स्वास्थ्य उपचार पद्धति गुणस्तरीय रहेको हुँदा कतारमै बस्नु उचित हुन्छ । त्यसका लागि नेपालमा बस्ने कामदारका परिवारले पनि आफ्ना मान्छेलाई नैतिक सहयोग गर्नुपर्छ । संक्रमित भएका कोही घर गएमा नेपालको स्थिति भयावह हुन सक्छ । परिवारको स्वास्थ्य सुरक्षाका लागि पनि यो बेला नेपाल गइदिनु हुन्न । कैयौं काम गर्ने साइड बन्द भइसकेका छन् ।

प्रकाशित : चैत्र ३, २०७६ ०७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×