कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरेलु मदिराबाट स्यानिटाइजर बनाउन सिकाइँदै

गोविन्द पोखरेल

काठमाडौँ — कोरोना भाइरसको त्रासले बजारमा स्यानिटाइजर अभाव भएपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले घरेलु मदिराबाट स्यानिटाइजर बनाउन सिकाउने भएको छ । 

घरेलु मदिराबाट स्यानिटाइजर बनाउन सिकाइँदै

ललितपुर महानगरपालिकाको आग्रहमा नाष्टले महानगरका २९ वटै वडाका प्रतिनिधिहरुलाई तालिम दिन लागेको प्रवक्ता सुरेशकुमार ढुंगेलले बताए । आइतबारदेखि नाष्टका रसायनशास्त्री वैज्ञानिक सजनलाल स्याउलाले तालिम दिनेछन् । ‘घरेलु रक्सीलाई अब स्यानिटाइजरको रुपमा पनि प्रयोग गर्न सकिने तरिका सिकाउन लागेका हौं,’ वैज्ञानिक स्याउलाले भने । प्रतिनिधिहरुलाई नाष्टकै प्रयोगशालामा स्यानिटाइजर बनाउने विधि सिकाइने छ ।

तालिममा सहभागीले घरेलु मदिरा आफैं ल्याउनुपर्नेछ । नाष्टबाट तालिम लिनेले आफ्‍ना वडामा सिकाउने छन् । यसअघि नाष्टले ललितपुर महानगरका दुई जनालाई तालिम दिइसकेको छ ।


रक्सीबाट यसरी बनाइन्छ स्यानिटाइजरः

घरेलु रक्सीमा ४० प्रतिशत इथानोल हुन्छ । यसका लागि डिस्टिलेशन प्रक्रिया (फ्रयाक्सनल डिस्टिलेसन) बाट रक्सीमा भएको पानीको मात्रालाई घटाएर इथानोलको मात्रा ९५–९६ प्रतिशत पुर्‍याइन्छ । यसका लागि मदिरालाई निश्चित ताप दिएर पानीको मात्रा वाष्पीकरण गरी हटान्छ ।


त्यसपछि प्राप्त हुने इथानोलमा केही मात्रामा पानी हाल्ने र विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्यानीटाइजर तयार गरिने नाष्टका वैज्ञानिक स्याउलाले बताए । इथानोलमा गिल्सेरोल र हाइड्रोजन पेरोअक्साइड राखेर घोललाई मिलाइन्छ ।


‘अल्कोहल’ को सक्रिय मिश्रण भएकाले यो हातमा टिकिरहन सक्दैन । इथानोलमा गिल्सेरोल हाल्दा उडेर जान पाउँदैन । कीटाणु मार्नका लागि अल्कोहललाई ९ सेकेन्ड चाहिने भएकाले त्यसलाई अड्याउन गिल्सेरोल मिसाइन्‍छ । घोलमा ब्याक्टेरिया नआउन् भनेर हाइड्रोजन पेरोअक्साइड राखिन्छ ।

नाष्टको अनुसन्धानअनुसार घरेलु ७ लिटर रक्सीबाट करिब २ लिटर स्यानिटाइजर बन्छ । सय एमएलको स्यानिटाइजरमा ८० एमएल इथानोल र २० एमएल पानी, हाइड्रोजन पेरोअक्साइड र गिल्सेरोल हुन्छ ।

प्रकाशित : चैत्र १, २०७६ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?