धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ८ पुग्यो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

विषाक्त मदिरा उत्पादन गर्ने र  बेच्ने ७ पक्राउ
सन्तोष सिंह

धनुषा — धनुषामा विषाक्त घरेलु मदिराको सेवनबाट मुत्यु हुनेको संख्या ८ पुगेको छ । मदिरा सेवनबाट सिकिस्त बिरामी परेका २ जनाको र शुक्रबार मदिरा सेवन गरेका थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए  ।

क्षीरेश्वनाथ नगरपालिका–२ रमदैयामा विषाक्त मदिरा सेवनबाट सिकिस्त बिरामी भएर जानकी मेडकल कलेज शिक्षण अस्पताल जनकपुरमा उपचार गराइरहेका सत्रुधन मण्डल, धरानमा उपचारको क्रममा ईन्द्रजीत सदाको उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको अस्पताल जनाएको छ । शुक्रबार मदिरा सेवन गरेका स्थानीय श्रीदेव भन्ने मोसराम यादवको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।


यसअघि विषाक्त मदिरा सेवनबाट क्षीरेश्वनाथ नगरपालिका–१ रमदैयाका ३५ वर्षीय ब्रमहेव यादव, ४० वर्षीय रामविलास मण्डल, ६५ वर्षीय गुदरी महरा, क्षीरेश्वनाथ नगरपालिका–२ रमदैयाका ३६ वर्षीय रामनरायण महरा र भारत घर भइ रमदैया बस्दै आएका ३० वर्षीय राजु महराको मृत्यु भएको थियो ।


मदिरा सेवनले सिकिस्त रामेश्वर महराको जानकी मेडिकल शिक्षण अस्पताल जनकपुरमा उपचार भइरहेको छ । बुधबार बिहान १० बजे विषाक्त मदिरा सेवन गर्नेहरुको स्वास्थ्यमा साँझदेखि समस्या आएको थियो । विषाक्त मदिरा सेवनले एउटै बस्तीमा ८ जनाको मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको छ ।


७ जना पक्राउ

विषाक्त मदिरा उत्पादन गरी बेच्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विषाक्त मदिरा उत्पादन गर्ने महोतरी भंगहा नगरपालिका–३ का ४७ वर्षीय जगतनारायण मण्डल, धनुषा लक्ष्मिनिया गाउँपालिका–६ बगेवाका २४ वर्षीय नवीन यादव र क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयाका ४५ वर्षीया छठियादेवी मण्डललाई पक्राउ गरीएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । भंगहामा उत्पादन भएको मदिरा नवीनले रमदैयामा ल्याएर छठियालाई बेच्न दिएको कार्कीले बताए ।


विषाक्त मदिरा उत्पादन र बिक्रीवितरणबारे सोधपुछका लागि रमानन्द साह, धुरण यादव, जगत कुमार यादव र सितलदेवी यादवलाई समेत पक्राउ गरीएको प्रहरीले जनाएको छ ।


याे पनि :

धनुषामा विषाक्त मदिरा सेवनबाट ५ जनाकाे मृत्यु

प्रकाशित : चैत्र १, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्रीलाई सहज, जनतालाई सकस

'के तपाईं कहिल्यै आम नागरिकको हैसियतमा अस्पतालमा मिर्गौला उपचारको लागि पुग्नुभएको छ ?'
धिरेन्द्र सिनाल

प्रधानमन्त्रीज्यू, नमस्कार ! सर्वप्रथम अघिल्लो बुधबार भएको तपाईंको मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने शुभकामना ! तपाईंभन्दा पनि कम उमेरका मेरा बाले मिर्गौला रोगसँग लड्न तपाईंजस्तै हिम्मत र आत्मबल देखाउनसकेको भए, आज उहाँ पनि हामीसँगै हुनुहुन्थ्यो होला ।

कञ्चनपुरको कुनामा बसेर उहाँ यतिबेला तपाईंको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहनुभएको हुन्थ्यो होला । तर के गर्नु, असहज परिस्थितिले २०७४ असारमा बालाई लग्यो । दुःखद समयले श्रीमतीलाई पनि ८ वर्षअघि मिर्गौला पीडित बनायो, कोखको बच्चा पनि गुमाउनुपर्‍यो ।

प्रधानमन्त्रीज्यू, तपाईं पनि र विगतका नेताहरूजस्तै उपचारका लागि विदेश जानुहुन्छ कि भन्ने हामीले सोचेका थियौं । नेपालमै प्रत्यारोपण गराउने निर्णय गर्नु भयो, खुसी लाग्यो । तपाईको यो निर्णयले सरकारले चाह्यो भने मिर्गौलाको नेपालमै भरपर्दो उपचार छ भन्ने कुरामा जनविश्वास पक्कै बढ्नेछ । अर्को कुरा, खुसीसाथ अंगदान गरेर आफन्तको जीवन बचाउन अघि सर्ने निक्कै कम भएका बेला, तपाईकी भान्जीको साहसले अन्य रोगीका आफन्तहरूलाई पनि प्रेरित गर्नेछ । कम्तीमा मैले आशा गरेको छु ।

आखिर जिन्दगी आसमै त अडिएको हुँदोरहेछ । पीडित परिवारको नाताले मैले पनि बडो चाखका साथ तपार्इंले अस्पताल जानुअघि दिनुभएको भिडियो सन्देश हेरेँ । प्रविधि, ज्ञान र सीपले गर्दा मिर्गौला प्रत्यारोपण अब जटिल विषय नभएको तपाईले भन्नुभएको सही हो । यद्यपि आम नेपालीको आँखाबाट हेर्ने हो भने यो तपाईले बोलेजस्तै सजिलो विषय भने पक्कै देखिँदैन । मिर्गौला रोगकै कारण बुबा गुमाइसकेको, श्रीमती पनि अन्तिम स्टेजमा डायलसिसबाट बाँचिरहेको पीडाका बीच तपाईको सन्देश सुनेपछि सुदूरको दलित परिवारमा हुर्केको यो बबुरोका मनमा केही प्रश्नहरू उब्जेका छन् : पहिलो, के तपाईं कहिल्यै आम नागरिकको हैसियतमा अस्पतालमा मिर्गौला उपचारको लागि पुग्नुभएको छ ? दोस्रो, तपाईंले कहिल्यै मिर्गौलाको प्रत्यारोपणको तयारी गरिरहेका, निःशुल्क डायलसिसको सेवा लिइरहेका वा पालो कुरिरहेका बिरामीलाई भेटेर उनीहरूका अनुभव सुन्नुभएको छ ?
अब यी प्रश्नमा तपाईं घोत्लिँदै गर्दा म अनुभवका आधारमा भन्न चाहन्छु— देशमा स्वास्थ्यसेवा आम नागरिकका निम्ति अझै एकदमै जटिल विषय छ । हुन त स्वास्थ्यलाभ लिइरहेका तपाईंलाई यस्ता प्रश्नले अलिकति पनि बिझाओस् भन्ने म चाहन्न । समय र सन्दर्भ सही भएकाले यसमा बहस होस् भन्नेमात्रै चाहन्छु ।

प्रधानमन्त्रीको हैसियतमा तपाईंले प्रत्यारोपणको सबै प्रक्रिया यति छिटै पूरा गरी शल्यक्रियाको लागि पालोसमेत एक हप्तामै पाउनुभयो । र, भारतीय चिकित्सकको समेत उपस्थितिमा शल्यक्रिया सम्पन्न भयो । तर, वर्षौंदेखि पालो पर्खिरहेकाहरूलाई यो देशमा कानुन र सेवाको दोहरो मापदण्ड भएको महसुस भइरहेको छ । उनीहरूलाई आफूहरू दोस्रो दर्जाको नागरिक भएको भान परिरहेको छ ।

मैले केही समय पहिले मिर्गौला प्रत्यारोपण गरेका डडेलधुराका एकजनासँग कुरा गरेको थिएँ । उहाँको आफ्नै आमाले मिर्गौला दान गर्दा पनि जिल्लामा आफै उपस्थित भएर कागजपत्र बनाउनुपरेको थियो । शल्यक्रिया अघिको परामर्शमा कसैको करकाप वा प्रभाव थियो कि भनेर अस्पतालले परामर्शमा आमालाई सोधीखोजी गरेको थियो । यो प्रश्न प्रत्यारोपणमा जानुअघि सबै अंगदातालाई सोधिन्छ । सोध्ने मात्र होइन, र्‍याखर्‍याख्ती नै पारिन्छ ।

कतिपय अंगदातालाई त्यहीँबाट फर्किउँ जस्तो पनि लाग्छ । के तपाईकी भान्जी पनि आफै उपस्थित भएर नाता प्रमाणित गराएर आएकी हुन् त ? के उनलाई पनि यस्तै परामर्श भएको थियो ? जुन छोटो समयमा फाइल खडा गरिएको छ, त्यो देख्दा यो सबै प्रक्रियाको लागि त समय पुग्छ जस्तो लाग्दैन । आफैले जन्माएको छोरोलाई अंगदान गर्दा त परामर्शमा प्रश्न उठाइन्छ । तपाईंकी समीक्षा भान्जीसँग पनि करकाप, लोभ वा प्रभावमा परे–नपरेको बारेमा निष्पक्ष परामर्श भयो कि भएन ? यी प्रश्न पढ्दा साह्रै सामान्य लाग्ला। तर, पीडित र तिनका परिवारका निम्ति यति सामान्य प्रक्रिया पनि फलामको चिउराजस्तै छ, देशमा ।

यस्तै एक भोगाइ खोटाङकी बहिनीको पनि छ । तपाईंको प्रत्यारोपणको समाचार आएपछि सामाजिक सञ्जाल ट्विटरमा जस्टिन नाम गरेकी ती बहिनीको प्रतिक्रिया सायद शुभकामनाको ओइरोबीच हराइरहेको थियो । उनको बुबाले प्रत्यारोपणका लागि नाता प्रमाणितको झमेला एक वर्षदेखि झेलिरहेको उनले लेखेकी छन्, त्यो पनि तपाईंले नै उपचार गराइराखेको शिक्षण अस्पतालमा । ती बहिनीको निम्ति वर्षौं लाग्ने यो प्रक्रिया उही देशको तपाईं र तपाईंकी भान्जीको लागि यति छोटो समयमै कसरी सम्भव भयो ? शासक र शासित बीचको यो दोहोरो मापदण्ड समानताको लडाइँ गर्ने तपाईको पार्टी र सरकारले कसरी सग्लै पचायो ? यस विषयमा तपाईको पार्टी पनि चुप छ र सरकार पनि । किन ? के कानुनको किताब सबैलाई एकै हुनुपर्ने हैन ?

अर्को प्रसंग उप्काऊँ । तपाईले अघिल्लो आइतबार, शिक्षण अस्पतालमा प्रत्यारोपण हुनलागेको कुरा आफ्नो पार्टीको सचिवालयमा सुनाउनुभयो । ‘कान्तिपुर’ दैनिकमै गत सोमबार प्रकाशित समाचार अनुसार अस्पतालको प्रशासनले बुधबार प्रत्यारोपण हुने कुरा आइतबार बिहानसम्म थाहा नभएको स्वीकारेको छ । देशको नागरिकले वर्षौंवर्ष पालो कुर्नुपर्ने ठाउँमा तपाईले घोषणा गरेको समयमै पालो दिने यो अस्पताल प्रशासनको कस्तो मापदण्ड हो ? हप्तामा एकदिन मात्र प्रत्यारोपण गर्ने शिक्षण अस्पतालले के अबदेखि यसरी नै एक सातामै आम बिरामीलाई पालो देला त ?

बिरामीको कुरा गरौं । काभ्रेका एउटा सामान्य परिवारकी महिला अहिले काठमाडौंमै डेरा गरी निःशुल्क डायलसिस सेवा लिइरहनुभएको छ । निःशुल्क डायलसिसको पालो नपाउन्जेल विदेशबाट फर्किएको छोरोले पैसा तिरेरै डायलसिस गराएर आमालाई बचाए । अब उनी आमालाई मिर्गौला दिन चाहिरहेका छन् । प्रत्यारोपणपूर्व गरिने परीक्षणका लागि कम्तीमा ५२ हजार ५ सय रुपियाँ लाग्छ । त्यो पैसा उनीसँग छैन । यस परिप्रेक्ष्यमा भारतलाई हेरौं । तपाईंलाई प्रत्यारोपण सफलताको शुभकामना दिने मोदी सरकारले सरकारी अस्पतालमा प्रत्यारोपणको तयारी गर्दा एक रुपियाँ पनि तिर्नु नपर्ने व्यवस्था गरेको छ । परीक्षणका लागि तीन महिनाजति समय भने पक्कै लाग्छ ।

प्रधानमन्त्री नै मिर्गौला रोगी भएको देश । निःशुल्कको कुरै छाडौं, तपाईंले नै प्रत्यारोपण गरेको अस्पतालमै प्रत्यारोपणपूर्व गरिने सबै परीक्षण सुविधा छैन । शिक्षण अस्पतालमा मात्र होइन, प्रत्यारोपण सेवा दिइरहेका वीर अस्पताल अनि भक्तपुरको धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रमा पनि यी परीक्षणका सुविधा छैनन् । त्यसका लागि निजी ल्याबमा जानुपर्छ । नभए नमुना भारत पठाउनुपर्छ । प्रत्यारोपणको पालो ढिलो आएमा कतिपय परीक्षण दोहोर्‍याउनुपर्ने हुन्छ । ‘म्याच’ नै नभए त सबै दोहोर्‍याउनुपर्छ । पूर्व परीक्षणमा मात्र ५० हजार बढी, त्यो पनि सशुल्क दोहोर्‍याउनुपर्ने हुनसक्छ । के यो सर्वसाधारणका लागि सम्भव छ ? तपाई र तपाईको भान्जीको मिर्गौला ‘म्याच’ गर्ने परीक्षण कहाँ गरियो ? सम्भवतः विश्वसनीयताका लागि नमुनाहरू भारत पठाइएको होला । यस्तो अवस्थामा देशमै सहज उपचार हुने भयो भनेर कति मख्ख पर्न सकिन्छ ?

प्रधानमन्त्रीज्यू, बालुवाटारमा बसेर हेर्दा कुनै पनि कुरा जटिल लाग्दैन होला । तर तपाईंकै जिल्ला झापा अथवा मेरो जिल्ला कञ्चनपुरमा बसेर हेर्नुस् त ! प्रत्यारोपण त धेरै परको कुरा सरकारले दिइरहेको निःशुल्क डायलसिस सेवा पाउन पनि बिरामीले कोशौं धाउनुपर्छ, अनि महिनौं पालो पर्खिनुपर्छ । मानौं, ताप्लेजुङको मान्छेलाई डायलसिस गर्नुपर्‍यो भने झापा झरेर डेरा जमाउनुपर्छ । त्यो पनि पालो पाउने टुंगो हुँदैन ।

महेन्द्रनगरको बिरामीले निःशुल्क डायलसिसको पालो धनगढीमा पाएन भने पैसा तिरेरै सेवा लिन दुई सय किलोमिटर पर नेपालगन्ज पुग्नुपर्छ वा भारत जानुपर्छ । अरू कुरा छाडौं, मिर्गौला विशेषज्ञबाट जाँच गराउन पनि पश्चिमको मान्छे काठमाडौं नै आउनुपर्छ । रूपन्देहीको बुटवलभन्दा पश्चिमका कुनै पनि अस्पतालमा मिर्गौला विशेषज्ञ चिकित्सक नभएको कुरा तपाईको जानकारीमा त पक्कै छैन होला । एउटा अभिभावकको हैसियतले जानकारी लिने तपाईंको कर्तव्य हो । आफै पनि पीडित भएको हैसियतले भए पनि यस्ता सुविधा आम मानिसको सहज पहुँचमा पुर्‍याउनु तपाईंको दायित्व हो ।

यो पत्र लेखिरहँदा मैले तपाईकै पार्टीका नेता मदन भण्डारीको भाषण सम्झिरहेको छु । २०४८ सालको कुरा । उनी कञ्चनपुर आएको बेला एक कथा भनेका थिए, ‘एकजना गुरुले आफ्ना चेलाहरूको ज्ञान र दूरदृष्टि मापन गर्न ढोकामा घन्टी झुन्ड्याएर चेलाहरूलाई त्यो ढोकाबाट आउजाउ गर्न भनेका थिए । सुरुमा सबै चेलाको टाउको घन्टीमा ठोक्कियो । निरन्तर आउजाउ गर्दा कतिपय चेलाले टाउको ठोक्नुलाई नै परीक्षा माने, तर एकजनाले चाहिँ पछि टाउको जोगाएर हिँडे । तिनै टाउको जोगाउने चेलालाई गुरुले उत्कृष्ट घोषित गरे ।’

कथाको मतलब थियो, आफूले समस्या भोगेपछि त्यसबाट जोगिने उपाय खोज्नुपर्छ । तपाईंको पहिलो मिर्गौलाले काम गर्न छोडेर तपाईलाई अवसर सिर्जना गरेको छ । चाँडै सन्चो हुनुहोस् । अर्को मन्त्रिपरिषद बैठक बसाउनुस् । अनि मिर्गौला रोगको उपचार र सेवाहरूबारे कोशेढुंगा हुने निर्णय र प्रभावकारी कार्यान्वयन गर्नुहोस् । यति गर्नुभयो भने तपाईंले भनेजस्तै हामी आम नेपालीका लागि पनि मिर्गौला प्रत्यारोपण सहज होला । नभए, तपाईलाई आफ्नै सर्वहारा पार्टीको सिद्धान्तले सधैं कुरीकुरी गरिरहनेछ ।
ट्वीटर : @dhirendai

प्रकाशित : चैत्र १, २०७६ ०९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×