कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड–१९ संक्रमण फैलिए कसरी थेग्‍ने  ?

कोभिड–१९ को प्रकोप फैलिए पूर्वतयारी अभावमा ‘सिस्टम’ नै अस्तव्यस्त हुने जनस्वास्थ्य विज्ञहरुको चेतावनी
अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ को प्रकोप देखिए राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उपकरण र जनशक्तिले थेग्न नसक्ने अवस्था छ । कुनै न कुनै ठाउँबाट सहारा दिनुपर्ने र जनशक्ति बढाउनुपर्ने स्थिति रहेको त्यहाँ कार्यरत प्राविधिकहरू बताउँछन् । 
प्रयोगशालामा कोभिड–१९ परीक्षणका लागि दैनिक एक/दुई नमुना आउने गरेको छ ।

कोभिड–१९ संक्रमण फैलिए कसरी थेग्‍ने  ?

‘हाल हामी दिनहुँ करिब एक सय र सातामा पाँच सय नमुना परीक्षण गर्न सक्ने स्थितिमा छौं,’ प्रयोगशालाकी निर्देशक डा. रुना झाले भनिन्, ‘अहिलेको कोभिड–१९ परीक्षणमा पाँच जना मात्रै खटिएका छन्, जनशक्ति ज्यादै न्यून छ ।’ हाल करिब एक हजार पाँच सय जनाको नमुना परीक्षण गर्न सक्ने रसायन मात्र प्रयोगशालामा छ । एक जनाको परीक्षण गर्दा करिब १०–१५ हजार र समूहमा गर्दा चार–पाँच हजार रुपैयाँ खर्च हुने डा. झाले जानकारी दिइन् ।


जनस्वास्थ्य विज्ञहरूले भने संक्रमण फैलिए पूर्वतयारी अभावमा ‘सिस्टम’ नै अस्तव्यस्त हुने चेतावनी दिएका छन् । सरकारले प्रयोगशाला परीक्षणमा समेत पर्याप्त पूर्वतयारी नगरेको उनीहरूले गुनासो गरेका छन् । ‘एक्कासि पाँच–सात सय जनाको कोरोना परीक्षण गर्नुपर्‍यो भने हाम्रो सिस्टम नै ध्वस्त हुन्छ,’ पिपुल्स हेल्थ मुभमेन्ट नेपालका संयोजक एवं वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तले भने, ‘अन्य मुलुकमा हजारौं परीक्षण भइरहेका छन्, हाम्रो तयारी खोइ ?’ कुनै ठाउँमा कोभिडको आकस्मिक सुरुवात भएर चार–पाँच जना संक्रमित देखिए त्यसको फैलावटलाई थेग्ने क्षमता अहिले नरहेको उनले दाबी गरे ।


स्वास्थ्य मन्त्रालयका अनुसार माघ ९ गते चीनबाट फर्किएका एक नेपालीमा कोभिड देखिएपछि अरू ४ सय ४१ शंकास्पद नमुना परीक्षण गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ४६ दिनयता मुलुकमा कुनै पनि शंकास्पद नमुना परीक्षण गर्दा संक्रमण नदेखिएको बताए । तर यी नमुनामध्ये ३ सय ५० वटा चीनको वुहानबाट आएर क्वारेन्टाइनमा बसेका नेपालीका, ७ वटा नमुना त्यहाँ कार्यरत स्वास्थ्यकर्मी एवं १८ वटा वुहान गएको विमानको चालक दलका सदस्यको हो । बाँकी ६६ वटा नमुना मात्र विदेशबाट फर्केका सर्वसाधारण नेपाली वा विदेशी पर्यटकबाट लिइएको हो । ‘सामान्य व्यक्तिको यति कम नमुना परीक्षण गरेर यो संक्रमण समाजमा छैन भन्न सकिँदैन,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘नमुना संकलन र परीक्षणको दायरा बढाउनुपर्छ, निगरानीमा समेत बढी ध्यान र समय दिनुपर्छ ।’


स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री अभाव

मोरङ– कोरोना भाइरसको संक्रमण फैलिन नदिन सीमा नाकामा खटिएका स्वास्थ्यकर्मी नै व्यक्तिगत सुरक्षात्मक सामग्रीको अभावमा असुरक्षित छन् । विराटनगर महानगरले रानी भन्सार नाकामा एक स्वास्थ्यकर्मी र एक कार्यालय सहयोगीलाई भारतलगायत तेस्रो मुलुकबाट आउने यात्रुको स्वास्थ्य जाँचका लागि खटाएको छ । स्वास्थ्य चौकी रानीमा कार्यरत अहेब दिलमाया परियार र कार्यालय सहयोगी सीता खतिवडा हेल्थ डेस्कमा खटिएका हुन् । उनीहरूलाई सशस्त्र र नेपाल प्रहरीले सघाउने गरेका छन् ।


भारतलगायत तेस्रो मुलुकबाट आउने शंकास्पद यात्रुलाई खतिवडाले सशस्त्र प्रहरीको सहयोगमा हेल्थ डेस्कमा ल्याउँछिन् । यात्रुलाई अहेब परियारले आईआर थर्मोमिटरले शरीरको तापक्रम जाँचेपछि रुघाखोकी र ज्वरो लागे, नलागेको बारेमा सोध्ने गर्छिन् । उनीहरूले दैनिक २ सय ५० देखि ३ सय यात्रुको स्वास्थ्य परीक्षण गर्छन् ।


बिहीबारबाट परियारले मात्रै यात्रुको स्वास्थ्य जाँच गर्दै आएको तर हालसम्म कोरोना भाइरसका संक्रमित बिरामी फेला परेका छैनन् । उनीहरूलाई महानगरले यात्रुको स्वास्थ्य जाँचका लागि आईआर थर्मोमिटर, एउटा मास्क, ग्लोब र केही औषधि मात्रै उपलब्ध गराएको छ । व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामग्री उपलब्ध नगराएकाले तनावपूर्ण अवस्थामा स्वास्थ्य जाँच गर्न बाध्य भएको अहेब परियारले बताइन् । ‘भारतलगायत तेस्रो मुलुकबाट आउने यात्रुहरूलाई हेल्थ डेस्कसम्म ल्याउन दौडादौड गर्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘कुनै बेला अत्यधिक यात्रु जम्मा हुँदा स्वास्थ्य जाँचमा निकै समस्या हुने गरेको छ ।’


प्रदेश १ को सामाजिक विकास मन्त्रालयले झापाको भद्रपुर, काँकडभिट्टा र इलामको पशुपतिनगरमा समेत स्थानीय तहको सहकार्यमा हेल्थ डेस्क स्थापना गरी भारतलगायत मुलुकबाट नेपालतर्फ आउने शंकास्पद यात्रुको स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ ।


औषधि पर्याप्त

प्रदेश १ मा सामान्य अवस्थाबाहेक महामारी फैलिने जटिल परिस्थितिमा पनि ६ महिनासम्म पुग्ने अत्यावश्यकीय औषधिको भण्डारण रहेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेशस्थित १४ जिल्लामा पठाएको र केन्द्रमा भण्डारण गरिएको औषधिले ६ महिनासम्म पुग्ने जनाएको छ । आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख शम्भु साहले चालु आर्थिक वर्षमा जिल्लामा पठाएको औषधि र वार्षिक खपतको अनुपातका आधारमा ६ महिनासम्म अभाव नहुने बताए ।


प्रकाशित : फाल्गुन २७, २०७६ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?