१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

राप्रपाको टुटफुट श्रृङ्खला

मधुसुधन भट्टराई

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त (राप्रपा संयुक्त)बीच शनिबार साँझ एकीकरण गर्ने सहमति भएको छ । राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले पार्टी एकीकरण गर्ने १० बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

राप्रपाको टुटफुट श्रृङ्खला

यो सहमतिसँगै २०७३ चैत ३० गते राप्रपाबाट छुट्टिएको लोहनी समूह र २०७४ साउन २२ गते राप्रपाबाट छुट्टिएको राणा समूह पुनः एकै ठाउँमा आइपुगेका छन् ।

पञ्चायती पृष्ठभूमिका नेताहरुले खोलेको पार्टी राप्रपा यहाँसम्म आइपुग्दा पटक–पटक फुट्‍दै जुट्दै आएको छ । कमजोर हुँदा जोडिने र शक्तिको नजिक पुगेपछि चोइटिने राप्रपामा हुँदै आएको छ ।

राप्रपाको स्थापना नै दुइटा समूहका रुपमा भएको देखिन्छ । ३० वर्षे पञ्चायतीमा सत्तामा रजगज चलाएका पञ्‍च नेताहरु मिलेर २०४६ सालको जनआन्दोलन सफल भएपछि २०४७ जेठ १५ गते राप्रपा स्थापना गरेका थिए। पार्टीमा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द नेतृत्वका दुई समूह थिए । यी दुवै पञ्‍चायतकालमा प्रधानमन्त्री भइसकेका नेता थिए, जो बहुदल र तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा पनि प्रधानमन्त्री भए ।

२०४८ सालकाे संसदीय निर्वाचनमा यी दुई समूह दुई पार्टीका रुपमा मैदानमा उत्रिए । राप्रपा (थापा) ले १ र राप्रपा (चन्द)ले ३ सिट जिते। २०४९ माघ २४ गते दुई समूहबीच एकीकरण भयो । नयाँ राप्रपामा सूर्यबहादुर थापा अध्यक्ष भए ।

एकीकृत पार्टीले २०५१ सालमा भएको मध्यावधी निर्वाचनमा २० सिट जित्यो । कुनै दलले पनि स्पष्ट बहुमत नल्याएको यो संसदीय समीकरणको राप्रपालाई निकै फाइदा भयो । हातमा निकै थोरै सिट भएर पनि थापा र चन्द दुवै प्रधानमन्त्री भए । एक-अर्काको प्रतिस्पर्धामा ठूला दल कांग्रेस र एमालेले दुवैलाई पालैपालो प्रधानमन्त्री बनाए ।

यही समयकालमा आपसमा तिक्तता बढेपछि २०५४ जेठ १६ मा राप्रपा फेरि फुट्यो । चन्दले राप्रपा राष्टवादी नामक पार्टी खोले। तर, २०५६ सालको निर्वाचनअघि चन्द पुनः राप्रपामै मिल्न आए । उनले खोलेको राप्रपा राष्टवादी नामक पार्टी राजेश्वर देवकोटालगायतले चलाइरहे ।


२०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले गरेको 'कु' लाई हेर्ने दृष्टिकोणमा राप्रपा नेताहरुबीच भिन्नता देखियो। त्यसैक्रममै २०५९ असोज २५ गते ज्ञानेन्द्रले माओवादी द्वन्द्वलाई वार्ताको माध्यमबाट समाधान गर्ने म्याण्डेट दिएर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए । लोकेन्द्र नेतृत्वको सरकारले माओवादीसँग वार्ता त गर्‍यो, सफल हुन सकेन ।

२०५९ कै मंसिरमा पोखरामा पार्टीको महाधिवेशन भयो । पशुपति शमशेर राणा अध्यक्ष चुनिए । अध्यक्ष भएपछि राणा संसदीय व्यवस्थालाई यथावत राख्नुपर्छ भनेर बोलिरहेका थिए। उता चन्दले प्रधानमन्त्रीका रुपमा माओवादी द्वन्द्वलाई सफल अवतरण गराउन सकेका थिएनन् ।

२०६० बैशाख २५ गते ज्ञानेन्द्रले चन्दलाई अपदस्त गरेर सूर्यबहादुर थापालाई प्रधानमन्त्री नियुक्त गरे । त्यो नियुक्तिको विरुद्धमा राणाको नेतृत्वमा राप्रपा सडकमा आयो । थापा नेतृत्वको मन्त्रीमण्डलमा कमल थापा र प्रकाशचन्द्र लोहनीलगायत नेता मन्त्री थिए । त्यहीबेला माओवादीसँग दाङको हापुरेमा वार्ता भयो । यो वार्ता पनि सफल हुन सकेन ।

थापा सरकार बर्खास्त गरी ज्ञानेन्द्रले २०६१ असार १९ गते फेरि शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरे । थापाले बृहद राजनीतिक सम्मेलन आयोजक समिति गठन गरे । सो राजनीतिक सम्मेलनबाट निर्णय गरी ३० फागुन ०६१ मा ‘राष्टिय जनशक्ति पार्टी’ गठन गरेको घोषणा गरे । सम्मेलनको संयोजक थापा स्वयं र सहसंयोजक लोहनीलाई बनाए ।

त्यतिञ्‍जेलमा कमल थापा पशुपति शमशेरको पक्षमा लागेर राप्रपाको महामन्त्री बनिसकेका थिए । अध्यक्ष पशुपति सडकमै रहेका बेला २०६२ मंसिर २२ गते कमल थापा राजा अध्यक्ष रहेको मन्त्रीपरिषदमा गृहमन्त्री बने । उनी गृहमन्त्री भएपछि पशुपति र उनका बीच विवाद पैदा भयो । २०६२ पुस २६ र २७ गते नयाँ बानेश्वरस्थित तत्कालीन वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र (अहिलेको संसद भवन)मा सम्मेलन गरी कमल थापाले ‘राप्रपा नेपाल’ नामक पार्टी गठन गरे ।

पहिलो संविधानसभा निर्वाचनमा नराम्रो पराजय व्यहोरेपछि राजावादीहरुले सबै पार्टी एकीकरण गरी एउटा पार्टी बनाउने प्रयास लामो समयसम्म चलाए । तर, पार्टीको कार्यदिशा के हुने भन्नेमा कुरा नमिलेपछि कमल थापा नेतृत्वको राप्रपा नेपाल २०७० जेठ ४ गतेबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनमा सहभागि भएन । पशुपति समशेर राणा नेतृत्वको राप्रपा तथा सूर्यबहादुर थापा नेतृत्वको राष्टिय जनशक्ति पार्टीबीच एकीकरण भयो र २०७० जेठ १५ मा राप्रपा बन्यो ।

पार्टी मिल्दा अध्यक्ष को बन्ने भन्नेमा विवाद भएपछि चक्रीय प्रणालीमा चार नेता पालैपालो एक एक बर्ष अध्यक्ष बन्ने सहमति भएको थियो । सबैभन्दा पहिले सूर्यबहादुर थापा अध्यक्ष बन्ने सहमति भयो । थापा पार्टी अध्यक्ष रहेकै बेला २०७१ जेठ १९ गते लोकेन्द्रबहादुर चन्दले एक वर्षअघि भएको सहमति अनुसार आलोपालो चक्रीय प्रणाली अन्तर्गत आफू अध्यक्ष हुनुपर्ने जिकिर गर्दै आफू राप्रपा अध्यक्ष भएको घोषणा गरे । त्यसको ६ दिनपछि थापाले अध्यक्ष पदबाट राजीनामा दिए र केन्द्रीय कार्यसमितिको बहुमतले पशुपतिशमशेर राणालाई अध्यक्ष चयन गर्यो । निर्वाचन आयोगले पनि राणा नै राप्रपाका अध्यक्ष भएको निर्णयलाई वैधानिकता दियो ।

चन्द र लोहनीले त्यसलाई स्वीकारेनन् । पार्टी फोरेर नयाँ पार्टी पनि बनाएनन् । त्यही समयमा कमल थापा नेतृत्वको राप्रपा नेपालमा पनि भाडभैलो चलिरहेको थियो । २०७० पुस १६ गते थापा नेतृत्वको ४५ केन्द्रीय सदस्य रहेको राप्रपा नेपाल विभाजित भयो । २० केन्द्रीय सदस्यले नयाँ पार्टी ‘नेपाली राप्रपा’ दर्ता गरे । समानुपातिक सभासद चयनका विषयमा असन्तुष्टि जनाउँदै उनीहरुले नयाँ पार्टी दर्ता गरेका थिए । तर, निर्वाचन आयोगले यो पार्टीलाई मान्यता दिएन । २०७१ मंसिर ८ गते पार्टी विधान विपरित भेला गरेको भन्दै राप्रपा नेपालको कार्य सम्पादन समितिले सहअध्यक्ष पदमसुन्दर लावती र केन्द्रीय सदस्य सगुनसुन्दर लावतीलाई पार्टीको साधारण सदस्यबाट समेत निस्काशन गर्‍यो ।

आफू अनुकुल बनाउन बहुमत पुर्‍याउने र निकाल्ने श्रृङ्खला चलिरहेको बेला राप्रपाका सबै गुटबीच २०७३ मंसिर ६ गते एकीकरण भयो । त्यसको ३ महिनापछि काठमाडौंमा एकता महाधिवेशन पनि भयो । तर, एकता महाधिवेशन सम्पन्न भएको दुई महिना नबित्दै लोहनीले चैत ३० गते पार्टी परित्याग गरे । त्यसको केही समयपछि उनले एकीकृत राप्रपा (राष्ट्रवादी) नामक पार्टी दर्ता गरे । त्यही पार्टीबाट २०७४ सालका तीन तहका निर्वाचनमा सो पार्टीले प्रतिष्पर्धा गर्‍यो ।

लोहनीले परित्याग गरेको चार महिना बित्न नपाउँदै राणाले विधानतः केन्द्रीय कार्यसमिति र संसदमा ४० प्रतिशत पुर्‍याउँदै २०७४ साउन २२ गते राप्रपा (प्रजातान्त्रिक) पार्टी गठन गरे । सो पार्टी त्यही महिनाको २९ गते निर्वाचन आयोगमा दर्ता भयो । र, २०७४ को तीन तहका निर्वाचनमा प्रतिष्पर्धामा जाँदा नराम्रो पराजय व्यहोर्‍यो ।

त्यसपछि पुनः एक भएर बलियो शक्ति बनाउने अभियानमा लागेको राप्रपाका समूहहरु अहिले सहमतिमा पुगेका हुन् । ‘लामो प्रयासपछि एकता गर्ने सहमति बनेको छ,’ नेता बुद्धिमान तामाङले भने, ‘अब हामी बलियो राष्ट्रवादी शक्ति बनाउने अभियानमा लाग्छौ ।’

राप्रपा र राप्रपा संयुक्तबीच यसअघि २०७५ कात्तिक २६ गते नै एकता घोषणा गर्ने तयारी भएको थियो । राष्ट्रिय सभागृहको हल बुक गरेर पनि अन्तिम समयमा आएर घोषणा भएको थिएन । राप्रपा संयुक्तले एकीकरणपछि ३ अध्यक्ष मागेकाले त्यसबेला एकता हुन नसकेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए । २०७५ माघ १७, १८ र १९ गते एकीकरण गर्ने तयारी भए पनि चुनाव चिन्हमा कुरा मिल्न सकेको थिएन । त्यसपछि राणा नेतृत्वको राप्रपा प्रजातान्त्तिक र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी मिलेर राप्रपा संयुक्त बनेको थियो ।

यसपालि एकताको सहमति भए पनि चुनाव चिन्हका विषयमा सहमति जुटेको छैन । थापा, राणा र लोहनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ६ महिनाभित्र चुनावचिन्ह टुंगो लगाइने उल्लेख छ ।

दुवै पार्टीले एकिकरणबारे जानकारी दिन मंगलबार केन्द्रीय कार्यसमिति र जिल्ला सभापतिहरुको संयुक्त बैठक बोलाएका छन् ।

प्रकाशित : फाल्गुन २५, २०७६ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?