कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटा खुट्टाको कत्थक

घनश्याम खड्का

काठमाडौँ — खुसी र सफलताको त्यस्तो कुनै सूत्र छ ? ‘किन नहुनु ?’ सीता सुवेदी भन्छिन्, ‘मनले रुचाएको काम गर्नुस्, खुसी पनि मिल्छ र सफलता पनि ।’यो उनले कुनै पुस्तकबाट घोकेर वा कसैको भनाइ सुनेर बोलेको वाक्य होइन बरु आफ्नै जीवनबाट सिकेको पाठ हो । 

एउटा खुट्टाको कत्थक

एकखुट्टे नृत्याङ्गना भनेर चिनिएकी सीता दुःखको अक्करे भीर छिचोल्दै यति भन्न सक्ने अवस्थामा आइपुग्न हृदयले देखाएको बाटो हिँडेर मात्रै सम्भव भएको हो । त्यसैले उनको कथनमा सिद्धान्तको काल्पनिक जलप होइन, अनुभवको ताजा ओज छ ।


कोरोना भाइरसले सुनसान हुनुअघि दक्षिण कोरियामा भर्खरै बितेको हिउँदका दिनमा सीताको एकखुट्टे कत्थकले दर्शकको भारी तारिफ बटुल्यो । ‘वन वर्ल्ड वन फेमिली’ नामको अन्तर्राष्ट्रिय कार्यक्रममा नाच्न कोरियाका ह्वीलचियर नर्तक किमको निम्तो मानेर त्यहाँ पुगेकी सीताको नृत्य यति लोकप्रिय भयो कि उनी थप अढाई महिना त्यहाँ बस्नुपर्‍यो र लगालग त्यस्तो १३ कार्यक्रममा नाच्ने अवसर पनि जुर्‍यो ।


संगीतमा स्नातकोत्तर गर्दै गरेकी सीतालाई उत्प्रेरणाको स्रोत मानेर मञ्चमा बोलाउनेहरू देशमै पनि धेरै हुन थालेका छन् । शास्त्रीय, लोक र आधुनिक सबै खाले नृत्य एउटै खुट्टाले गर्नमा पोख्त ३१ वर्षीया सीता यो अवस्थामा आइपुग्न भने चानचुने साहस र मिहिनेतले पुगेको थिएन ।


सीता सानैदेखि नाच्न उधुमै मन गर्थिन् र नाच्थिन् पनि । तर उनका गोडा अचानकसँग थामिन पुगे एक दिन । पखेटा काटिएको पन्छी जसरी लडखडाउँछ र उड्न नपाएको सुर्ताले झोक्राउँछ, त्यसरी नै उनी विषादले गल्नुसम्म गलिन् किनभने १२ वर्षको कलिलो उमेरमा उनको देब्रे गोडालाई क्यान्सरले छोयो र तिघ्राभन्दा मुनिबाट त्यो काट्नुपर्ने भयो ।


भरतपुर क्यान्सर अस्पतालका डाक्टरले जब यो सुनाए तब सीतालाई लाग्यो, एउटा खुट्टा लिएर पनि के बाँच्नु । ‘खुट्टा नभएको जीवन पनि बाँचेर हेर न एक फेर,’ उनका सानोबुबा यमप्रसाद लामिछानेले सुर्तामा डुबेकी सीतालाई प्राणघातभन्दा एक अंगै गुमाएर जीवन बचाउनु बेस भनेर सुझाए ।


यो थियो २०५७ सालको कुरा, जतिबेला उनी ७ कक्षामा पढ्थिन् । परीक्षण प्रसारणका क्रममा रहेको कालिका एफएममा लगातार गीतहरू बजिरहन्थे । खुट्टा काट्ने अप्रेसनमा जानुअघि सीता त्यही गीतमा छमछमी नाचिन् ।

‘मलाई लाग्यो, अब नाच्न कहिल्यै पाइँदैन,’ उनी भन्छिन्, ‘त्यसैले जुरुक्क उठेर मन लागुन्जेल नाचें र खुट्टा कटाउन गएँ ।’


त्यसपछिका दिन कष्टकर त हुने नै भए । छोरीलाई बैसाखीमा देख्न नसकेर अत्तालिएका बुबा बालकृष्णको विषादले सीतालाई थप तड्पन दियो ।


त्यसलाई कम गर्न उनले काठमाडौं आएर भृकुटीमण्डपको अर्थोपेडिक अप्लाइन्स सेन्टरमा काठको खुट्टा बनाइन् । केमो थेरापीले गालेको उनलाई दुई वर्षसम्म अस्पताल धाइरहनुपर्‍यो ।


सीता यति गलेकी थिइन् कि डाक्टरले नै उनको मिति तोकिदिएका थिए चार–चार पटक । ‘छोरी, आज तँ मर्छेस् पो भन्छन् त डाक्टरले,’ मिति पुगेको दिन आमा बरबराउँथिन् । ‘मलाई भने मर्छुजस्तो कहिल्यै लागेन, त्यसैले होला काल पनि हारेर गयो,’ उनी भन्छिन् ।


यस्तो दुःखपूर्ण अवस्थामा पनि सीताले पढाइ भने जारी राखिन् । कक्षाबाट एसएलसी दिने ७० जनामध्ये जम्मा ६ जनाले ‘फलामे ढोका’ पार गरे । उत्तीर्ण हुनेको सूचीमा उनको नाम पनि थियो ।


‘त्यस दिन म जीवनमै धेरै खुसी भएँ, खुट्टा छैन भन्ने पीर पनि भुलें,’ सीता भन्छिन्, ‘मलाई एक किसिमको भरोसा भयो आफैंमाथि ।’


नर्सिङ पढ्ने भए लागेजति सबै खर्च हालिदिन उनका एक आफन्त तयार पनि भए तर सीतालाई एकै खुट्टाले भए पनि नाच्नु थियो, संगीत पढ्नु थियो । सीताको कुरा ती आफन्तलाई चित्त बुझेन, आफन्तको प्रस्ताव सीताको मनले खाएन ।


त्यसपछि उनी मेघौलीबाट भरतपुर आइन् र वीरेन्द्र क्याम्पसमा पढ्न थालिन् । छोरीका लागि भनेर उनकी आमा पनि डेरामा आइन् । खर्च जुटाउन भनेर तरकारी बेच्ने काम थालिन् । आमाको यो साथले उनमा थप आशा जाग्यो । आईए पढ्दै गर्दा उनी भरतपुरमा कहलिएको नारायणी कला मन्दिरमा नृत्य प्रशिक्षार्थीका रूपमा भर्ना भइन् । ‘तर मलाई त्यहाँबाट पन्ध्रै दिनमा निकालियो,’ सीता सम्झिन्छिन्, ‘एक खुट्टाले पनि नाच्न सकिन्छ कहीं भनेर फर्काइयो ।’


त्यतिबेला उनलाई लाग्यो, नाच्ने इच्छा यो जुनीमा पूरा नहुने भयो । गाउनमा पनि उनको लगाव थियो । नाच्न नपाए गाउनै सही भनेर उनी चितवनका संगीत शिक्षक किशोर तिवारीकहाँ सिक्न गइन् ।


त्यसैबेला काठमाडौंमा कम्प्युटर सिक्ने अवसर पाइन् उनले । सिकेलगत्तै एक ट्राभल एजेन्सीमा काम पनि मिल्यो । बिस्तारै उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय दुवैथरी टिकेटिङ सिस्टम सिकिन् र एक प्रतिष्ठित कम्पनीमा प्रबन्धकको तहसम्म पुगिन् । त्यसै समय उनले भाइ र बहिनीलाई काठमाडौं झिकाएर पढाउन पनि थालिन् ।


यसरी दिन राम्रै चलिरहेका बेला माथिल्लो पदमा पुग्ने बेलामा उनलाई खुट्टा नभएकाले छानिएन । ‘त्यो विभेद सहन नसकेर मैले जागिर छाडें र एकपटक फेरि प्रयास गर्छॅ भनेर डान्स सिक्ने निधो गरें ।’


नेपालीमा स्नातकोत्तर गर्दैगर्दा ललितपुरको कलानिधि संगीत महाविद्यालयमा उनले संगीतमा स्नातक पढ्ने अवसर पाइन् । त्यहाँका नृत्य गुरु रवि रानामगर भने सीताको साहस देखेर प्रसन्न हुन पुगेछन् । उनले सजिलै सीतालाई शिष्यका रूपमा स्वीकार गरे ।


अनि सुरु भयो उनको जिन्दगीको नयाँ अध्याय । वर्षौंदेखि थाती रहेको नाच्ने रहर तत्कार भनिने कत्थकको ‘ता थै ता’ मा चाल मिलाउन पाउँदा उनलाई आफ्नो खुट्टा छैन भन्ने नै हेक्का रहेन । त्यसैले, दुई खुट्टा हुनेले पनि हम्मेसी नाच्न नसक्ने कठिन शास्त्रीय नृत्यलाई उनले एउटै खुट्टाले नाच्न सिकिन् एक/डेढ वर्षमै । कत्थक भनेको दुई खुट्टाका चाल शास्त्रीयतापूर्वक मिलाएर गर्ने नृत्य हो । यस्तो नृत्य एक खुट्टा भएको मानिसलाई सिकाएको भनेर उनका गुरु रविलाई शास्त्रीय पण्डितहरूले उडाउने काम पनि भयो तर रविले उनलाई सिकाउन छाड्नन्, सीताले पनि सिक्न छाडिनन् ।


पहिलोपटक महाविद्यालयकै वार्षिकोत्सवमा सार्वजनिक रूपमा उनले कत्थक देखाएकी थिइन् तीन वर्षअघि । त्यतिबेला सीताले जीवनमै सबभन्दा बढी ताली पाइन् ।


बिस्तारै उनलाई प्रशंसा गर्नेहरू मिले । नाच्न बोलाउने भेटिन थाले । विभिन्न महोत्सवबाट निम्तो आउन थाल्यो । हुँदाहुँदा एक दिन यस्तो आयो कि सीतालाई नाच्ने तालिका मिलाउनै हम्मे पर्न थाल्यो । यही मेसोमा उनी कोरिया पनि पुगेर आइन् ।


हेर्दाहेर्दै बिचरी भनिएकी सीता मानिसका लागि प्रेरणा पो बन्न पुगिन् । उनीकहाँ अन्तर्वार्ता लिन भनेर क्यामेरा तेर्सिन पनि थाले । मनले खाएको काम गर्न पाएकामा उनको पहिलेको लघुताभास पनि हराएर गएको छ ।


‘नाच्न थालेदेखि मलाई आफैंमाथि भरोसा जाग्न थालेको छ,’ उनी भन्छिन्, ‘अझ धेरै गर्न सक्छु भन्ने आँट पनि आएको छ किनभने मनले खाएको काम गर्दा जति हन्डर मिले पनि त्यो केही जस्तो लाग्दो रहेनछ ।’


उमेर बढ्दै जाँदा शारीरिक कमजोरी पनि बढ्ने र नाच्ने काममा बिस्तारै शिथिलता आउने तथ्यप्रति सीता सजग छिन् । त्यसैले उनी संगीतको आफ्नो रुचि गायनमा पनि तिखार्दैछिन् । त्यसको सुरुवात केही पछि लाग्ने संगीतको उनको स्‍नातकोत्तरको कक्षाबाट हुनेछ ।


पहिले पनि गीत गाएकी र लेखेकी पनि छिन् सीताले जसको एउटा टुक्रा यस्तो छ–

‘एउटा एउटा चट्टान फोडेर मर्न मन छ

आफ्नै कान्ला अनि बारी गोडेर मर्न मन छ

हे युवा, तिमीहरू विश्वभर भौंतारिएको देख्दा

मलाई नेपाल लेखेको च्यादर ओढेर मर्न मन छ’


प्रकाशित : फाल्गुन २५, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?