२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

हाब्रेका दुई प्रजाति भएको पुष्टि

गोविन्द पोखरेल

काठमाडौँ — दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) का दुईवटा प्रजाति रहेको पुष्टि भएको छ । चाइनिज एकेडेमी अफ साइन्सका १० चिनियाँ र एक नेपाली अनुसन्धानकर्ताले गरेको अनुसन्धानले हिमालयन रेडपान्डा (अयालुरस फलगन्स) र चिनियाँ रेड पान्डा (अयालुरस स्ट्यानी) फरक–फरक प्रजाति भएको पुष्टि गरेको हो ।

हाब्रेका दुई प्रजाति भएको पुष्टि

यसअघि पर्याप्त वैज्ञानिक कारण र कुनै जेनेटिक प्रमाण नहुँदा यो विषय विवादित थियो । यी दुई प्रजातिलाई यिनको बाहिरी आवरण (मर्फोलोजिकल) लाई आधार मानेर दुईवटा भन्ने गरिन्थ्यो ।


यी दुई प्रजाति एउटै हुन् कि होइनन् भनेर आनुवंशिक अध्ययनका लागि अनुसन्धानकर्ताहरूले रेड पान्डा पाइने विभिन्न भौगोलिक क्षेत्रबाट ६५ वटा स्याम्पल (रगत, छाला, रौं) लिएका थिए । ती स्याम्पलको ‘होल जेनोम स्वीकेन्सिङ’ गरेका थिए । यस्तै, ४९ वटा ‘वाई–क्रोमोजोम’ र ‘माइटोक्रोन्ड्रियल जेनोम’ को तथ्यांक लिइएको थियो । तिनको अध्ययनबाट आनुवंशिकी (जिन) फरक देखिएको थियो ।


‘साइन्स एड्भान्स जर्नल’ मा प्रकाशित यो अनुसन्धानमा दुवै प्रजातिलाई चीनको यार्लुङ जाङबु (ब्रह्मपुत्र) नदीले भौगोलिक रूपमा छुट्याउने उल्लेख छ । अनुसन्धानमा संलग्न नेपाली अनुसन्धानकर्ता एवं रेडपान्डामा विद्यावारिधि गरेका अर्जुन थापाले भने, ‘यसअघि चीनको नुजियाङ नदीको पूर्वतिर पाइनेलाई चिनियाँ र पश्चिमतिर पाइनेलाई हिमालयन रेडपान्डा भन्ने गरिएको थियो । अब त्यो रहेन । यार्लुङ ज्याङ्बु (ब्रह्मपुत्र) नदीपूर्व म्यानमार, चीनको सिचुवान र युनानमा पाइने चिनियाँ रेडपान्डा हुन्, बाँकी क्षेत्रमा पाइने हिमालयन हुन् ।’


कसरी बने फरक प्रजाति ?

कुनै समय रेड पान्डा एसिया र युरोप (युरेसिया) मा पाइन्थे । हाल यो नेपाल, भारत, चीन, भुटान र म्यानमार गरी ५ वटा देशमा मात्रै पाइन्छ । करिब २ लाख ५० हजार वर्षअघि यिनीहरु फरक फरक प्रजातिमा विकासित भएको अनुसन्धानले उल्लेख गरेको छ । यसका लागि पृथ्वीमा आएको हिम युग(ग्लेसियल पिरियड)लाई कारण मानिएको छ । त्यसबेला पृथ्वीको वातवरणीय अवस्थामा धेरै नै परिवर्तन आउँदा यी प्रजातिहरुले आफूलाई त्यहाको वातवरणमा अनुकूल बनाउँदै लैजाने क्रममा फरक विशेषता निर्माण गरेको अनुसन्धानमा उल्लेख छ । नदीले यी दुई प्रजातिलाई छुट्याएपछि पछि विकासित हुने क्रममा फरक फरक र नयाँ वातवरणमा अनुकुलन हुँदै जाँदा नयाँ प्रजातिमा विकासित हुँदै गएको अनुसन्धानले देखाएको छ ।


चिनियाँ रेड पान्डामा विभिन्न कालखण्डमा दुई पटक ‘बोटलनेक’ (वातावरणमा आउने परिवर्तनका कारण प्रजातिमा हुने परिवर्तन वा उतारचढाव) भएको थियो भने हिमालयन रेड पान्डामा तीन वटा । ९० हजार वर्षअघि आएको वातवरणीय परिवर्तन (लास्ट ग्लेसियल म्याक्सिमम)का कारण हिमालय रेड पान्डाको आनुवंशिक विविधतामा चिनियाँ रेड पान्डाको तुलानामा ३५ प्रतिशतले कम भएको अनुसन्धानकर्ता थापाले बताए ।


हिमालयन र चिनियाँ रेड पान्डामा के फरक छ ?

हिमालयन रेड पान्डाको अनुहार चिनियाँको तुलानामा केही सेतो हुन्छ । चिनियाँ रेड पान्डा केही रातो हुन्छ । यस्तै,चिनियाँ रेड पान्डाको पुच्छर गाढा रातो हुने गर्छ भने हिमालयन रेड पान्डाको केही सेतो हुने गर्दछ । यस्तै,पुच्छरको टाटा पनि चिनियाँको केही गाढा हुने गर्छ ।


अनुसन्धानकर्ता थापाले भने,‘हिमालयन रेड पान्डाको अनुवांशिक विविधता निकै कमजोर र कम छ । यसको विविधता हराउन सक्छ । तसर्थ यिनीहरुबीच इनब्रिडिङ रोक्नुपर्छ ।’ युरोप,अमेरिकाका चिडियाघरहरमा हिमालयन रेड पान्डाको संख्या धेरै भएकाले यिनीहरुबीच इनब्रिडिङलाई कम गराउनुपर्ने उनले बताए । यसको गर्दा अनुवांशिक विविधतालाई संरक्षण गर्न सकिन्छ ।


रेड पान्डा पाइने स्थान र दुई प्रजाति छुट्याउने यार्लुङ जाङबु (ब्रहृमपुत्र)नदी । फोटोः साइन्स एड्भान्स जर्नल ।

थापाले हिमालयन रेड पान्डाको संख्या कम भएकाले संरक्षणका लागि छुटै गुरुयोजना बनाउन सकिने बताए । उनले भने,‘चीनमा पाइने जायन्ट पान्डालाई अन्य मुलुकका चिडियाखानामा लैंजादा त्यसको अधिकार आफैंसँग हुने कानुन निर्माण गरेको छ । चिडियाघरबाट आम्दानी पनि लिन्छ अनि जन्माएको बच्चा पनि चीनकै हुने प्रावधान छ । अब हिमालयन रेड पान्डासम्बन्धी पनि यस्तै प्रकारको कानुन निर्माण गर्नुपर्छ । ’


स्तनधारी जीवको ‘एलुरिडे’ समूहमा अब बाँकी रहेको एकमात्र जीव रेड पान्डा रहेकाले यसलाई ‘ लिभिङ फोसिल’ समेत भन्ने गरिएको छ ।


अघिल्लो महिना थाप लगायतका अन्य वैज्ञानिकहरु सम्मिलित अर्को एक अनुसन्धानले रेड पाण्डका लागि पूर्वी क्षेत्र उपयुक्त बासस्थान भएको निष्कर्ष निकालेको थियो । नेपालको कूल भूभागको १४ दशमलव २३ प्रतिशत क्षेत्र रेड पाण्डाका लागि उपयुक्त बासस्थानको भएको समेत सो अनुसन्धानले देखाएका छ ।


आईयूसीएनले लोपोन्मुख सूचीमा राखेको यो जीव साईटिस महासन्धिअन्तर्गतको अनुसूची १ मा राखिएको छ । बाँसका पातहरुहरु खाने यो जीवले स-साना किरा र अन्डा पनि खाने गरेको अनुसन्धानहरुले देखाएको छ ।

एक्लै बस्न रुचाउने यो जीवको स्वभाव लजालु हुन्छ । रुखमा अधिकांश समय बिताउने हाब्रे रातको समयमा खानाको खोजीमा सक्रिय हुन्छ । मान्छेले जसरी हातले खाना खाने हाब्रे, बिरालाेले जस्तै आफूलाई सफा राख्ने र आफ्नो क्षेत्र निर्धारण गर्ने स्वभावको हुने गरेको अनुसन्धानहरुले देखाएका छन् ।

प्रकाशित : फाल्गुन २४, २०७६ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?