१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४०९

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आज

नयाँ मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको छ
अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्न सबै तयारी पूरा भएको छ । उनको मंगलबार ‘डायलसिस’ गरिएको छ भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको छ । शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको छ । यसअघि मुटुलगायतका परीक्षण भइसकेका उनको फोक्सोको स्थितिसमेत राम्रो देखिएको चिकित्सकले बताएका छन् । 

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आज

त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रत्यारोपणका लागि आवश्यक सबै तयारी गरिएको छ । ओलीको स्वास्थ्य अवस्था अहिले जस्तै सामान्य रहे बुधबार बिहान ९ बजे शल्यक्रिया सुरु हुने जानकारी उनले दिए ।


ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा.डा. उत्तम शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारसमेत हुनेछन् ।


डा. खड्गाका अनुसार मंगलबार राति भारतीय र नेपाली चिकित्सक बीच कसले के गर्नेलगायत विभिन्न पक्ष समावेश हुने गरी प्रत्यारोपणको योजना तय हुनेछ । हाल दिल्लीको म्याक्स हेल्थ केयरका युरोलजी रेनल ट्रान्सप्लान्ट एन्ड रोबोटिक्स विभागका अध्यक्ष डा. अनन्त कुमार १३ वर्षअघि भारतको अपोलो अस्पतालमा भएको ओलीको पहिलो प्रत्यारोपणमा समेत सरिक थिए ।


नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीका अनुसार डा. अनन्त कुमारलाई मंगलबार ६ दिनका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति दिइएको छ । उनले त्यसका लागि सोमबार काउन्सिलमा निवेदन दिएका थिए ।


‘डा. अनन्तले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा मुख्य भूमिका खेल्ने भएकाले नै उनीबारे भविष्यमा विवाद नहोस् भनेर शल्यक्रियामा सहभागी हुन अनुमति लिएका हुन्,’ प्रधानमन्त्रीको शल्यक्रियामा संलग्न हुने एक चिकित्सकले भने, ‘थुप्रै प्रत्यारोपण गरिसकेका डा. अनन्त कुमारसँग केही महिनादेखि प्रधानमन्त्रीको प्रत्यारोपणको विषयमा निरन्तर सम्पर्क भइरहेको थियो ।’


ओलीलाई आफ्नो मुलुकमा मिर्गौला प्रत्यारोपण गराउन विभिन्न सम्पर्क सूत्रमार्फत भारत र चीनले समेत निम्तो गरेका थिए । प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा सघाउन भारतबाट आएका दुई जनामध्ये अर्का नेफ्रोलजिस्टले

भने काउन्सिलबाट उपचार प्रक्रियामा सरिक हुने अनुमति लिएका छैनन् ।


‘अब्जरभेसन’ मा रहने भन्दै अर्का भारतीय चिकित्सकले विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति नलिएको डा. अधिकारीले बताए । उनका अनुसार अब्जरभेसनमा बस्नका लागि दर्ता स्वीकृति आवश्यक छैन ।


सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालबाट गत भदौमा सात पटक प्लाज्मा फेरेसिस गराएर फर्केपछि समेत मिर्गौलाले राम्ररी काम नगर्दा प्रधानमन्त्री ओली नियमित डायलसिसमा थिए । मिर्गौला प्रत्यारोपणअघि गर्नुपर्ने नियमित प्रक्रियाअन्तर्गत मंगलबार उनको डायलसिस गरिएको हो । यसैबीच नेपाल चिकित्सक संघले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । प्रधानमन्त्रीले मुलुकमै नेपाली चिकित्सकबाट आफ्नो उपचार गराउने निर्णयप्रति समेत उच्च सम्मान प्रकट गर्दै सबै उच्च ओहोदामा रहेकाहरूलाई स्वदेशमै उपचार गराउनसमेत संघले आग्रह गरेको छ ।


नेपाल ट्रान्सप्लान्ट सोसाइटीका अध्यक्ष प्रा.डा. भोलाराज जोशीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले मुलुकमै प्रत्यारोपण गर्ने निर्णय गरेर सबै नेपाली चिकित्सकको हौसला बढाएकामा आभार व्यक्त गरेका छन् ।

प्रकाशित : फाल्गुन २१, २०७६ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?