कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५५ अर्बका लागि राष्ट्रहितविपरीत सम्झौता हुँदैन : दाहाल

अनिश तिवारी

सिन्धुपाल्चोक — नेकपा अध्यक्ष पुष्पकमल दाहालले ५५ अर्बका लागि राष्ट्रहितविपरीत सम्झौता नगर्ने बताएका छन् । प्रथम सुकुटे महोत्सव २०७६ को उद्‍घाटन गर्न सुकुटे आएका दाहालले शनिबार बिहान पत्रकारहरुसँग अमेरिकासँग साझेदार, मित्रता कायम राखेर आवश्यक सहयोग लिन तयार भए पनि एमसीसीको विषयमा कार्यदलको सुझाव लिएर मात्रै अगाडि बढ्ने बताए ।

५५ अर्बका लागि राष्ट्रहितविपरीत सम्झौता हुँदैन : दाहाल

‘५५ अर्बको लागि राष्ट्रविपरीत सम्झौता हुनै सक्दैन, कार्यदलको सुझाव लिएर मात्रै अगाडि बढ्छौं,’ दाहालले भने ।


एमसीसी श्रीलंकाली संसदले अस्वीकृत गरेको उदाहरण दिँदै दाहालले देशको स्वाधिनतालाई उचो राख्न सम्पूर्ण बुँदा हेरेरमात्रै अगाडि बढ्न अमेरिकासँग घनिभूत छलफल भइरहेको बताए । ‘अमेरिकाले एमसीसी संशोधन गर्न कठिन भनेको छ, तर यो कुनै बाइबल होइन, संशोधन गरेमात्रै अगाडि बढ्छौं,’ दाहालले भने । जिल्लादेखि केन्द्रसम्म नेकपा अब एउटै पार्टी भइसकेको र यो फुट्छ भन्नु भ्रमपूर्ण कुरा मात्रै भएको दाहालले बताए ।


पार्टीभित्र विवाद बढिरहेका बेला चितवनबाट शुक्रबार सिँधै पर्यटकीय 'हब' सुकुटे आइपुगेका दाहालले पार्टीभित्र फरक विचार देखिए पनि नेकपा एकताबद्ध रहेको बताए । ‘नेकपा टुक्रिन्छ भन्नु एउटा भ्रम हो, कसैले फरक विचार राख्दैमा पार्टी फुट्छ र ?,’ उनले प्रश्न गरे । जिल्लादेखि केन्द्रसम्म पूर्वमाओवादी केन्द्र र पूर्वएमालेका नेता कार्यकर्ता एउटै पार्टीमा गोलबद्ध भएकाले एक भएर अगाडि बढ्ने दाबी उनको थियो ।


राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा उच्च छवि बनाइसकेको हुनाले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टीले निर्णय गरेको बताउँदै दाहालले यसबारे कसैले केही भन्दैमा निर्णय परिर्वतन नहुने बताए । ‘पार्टीको निर्णयअनुरुप सबै कुरा हुनेछ,’ उनले भने ।


दाहाल शुक्रबार पत्नी सिता, छोरी गंगा दाहालसहित चौतारा साँगाचोकगढी नगर क्षेत्रको पर्यटकीय हब सुकुटेमा आइपुगेका थिए । दाहालले बिहान भोटेकोसी बीचमा ‘एडभेन्चरको र्‍याफ्टिङ’को आनन्द लिए ।

प्रकाशित : फाल्गुन १७, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?