कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रचण्ड र ओलीसँग भेट भएकै छैन : देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाका दुई अध्यक्षसँग हालसालै भेटघाट नभएको बताएका छन् । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग हालै भेट भएको भनी प्रचार भएका विषयमा आफ्नै समूहका नेताहरूले जिज्ञासा राख्दा देउवाले अस्वीकार गरेका हुन् । 

प्रचण्ड र ओलीसँग भेट भएकै छैन : देउवा

‘उहाँ (देउवा) ले धेरै कुरा भन्न चाहनुभएन तर केही दिनयता दाहाल र ओली दुवैसँग भेट नभएको बताउनुभयो,’ देउवा निकट स्रोतले भन्यो । देउवाले शुक्रबार पार्टीको केन्द्रीय विभाग गठनका सम्बन्धमा छलफल गर्न आफ्नै निवास बूढानीलकण्ठमा संस्थापन पक्षीय नेताको बैठक बोलाएका थिए । बैठकमा नेकपाको आन्तरिक कलह र देउवा–दाहाल भेटघाट भएनभएका विषयमा चर्चा भएको थियो ।


प्रधानमन्त्री ओलीले बिहीबार कांग्रेस नेता शेखर कोइरालासँग देउवालाई भेटेको खुलासा गरेका थिए । आफूसँगको भेटघाटअघि दाहाल र देउवाबीच भेट भएको जानकारी आफूलाई प्राप्त भएको ओलीले कोइरालासँग बताएका थिए । कांग्रेस सांसद विनोद चौधरीको समन्वयमा उनकै निवासमा चार जना उद्योग–व्यापारीसहित दाहाल–देउवा भेट भएको चर्चा बाहिरिएपछि देउवासँग निकटस्थ नेताले जिज्ञासा राखेका हुन् । देउवाले केही साताअघि सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका सन्दर्भमा दाहालसँग भेट भएको र त्यसपछि नभएको बताएका थिए ।


नेकपा अध्यक्ष दाहालले पनि शुक्रबारै राजधानीबाहिरको कार्यक्रममा देउवासँग हालै भेट नभएको दाबी गरेका छन् । नेकपाको आन्तरिक द्वन्द्वमा ‘खेल्ने’ गरी भेट्न नहुने सुझाव देउवालाई उनी निकट सदस्यहरूले दिएका थिए । ‘यसले कांग्रेसलाई होइन, नेकपालाई लाभ मिल्छ,’ एक नेताको भनाइ थियो ।


विभाग गठनको तयारी

पार्टीको केन्द्रीय विभाग गठनमा संस्थापनइतर पक्षले सहयोग नगर्ने भएपछि आफ्नो समूहका सदस्य मात्रै राखेर भए पनि गठन गर्ने मनस्थितिमा देउवा पुगेका छन् । संस्थापनइतर पक्षले कार्यकाल सकिएपछि विभाग गठनको औचित्य नभएको र महाधिवेशनलाई प्रभावित पार्ने मात्रै योजना रहेको तर्क गर्दै आएका छन् । ‘अहिले विभाग गठन गर्नुका पछाडि महाधिवेशन प्रभावित पार्ने उद्देश्य देखिन्छ,’ वरिष्ठ नेता रामचन्द्र पौडेलले कान्तिपुरसित भने, ‘यो कुरा हामीलाई स्वीकार्य छैन ।’


केही दिनअघि महामन्त्री शशांक कोइरालाले कार्यकाल सकिएर काम चलाउ हैसियतमा पुगिसकेका देउवाले विभाग गठन गर्न नहुने बताएका थिए । ‘अब महाधिवेशनको तयारीमा जानुपर्छ, विभाग गठन गरेर महाधिवेशनलाई अल्झाउनेतिर लाग्न हुन्न,’ उनले कान्तिपुरसित भनेका थिए, ‘आचारसंहिताले पनि शेरबहादुरजीलाई विभाग गठन गर्न दिँदैन ।’


देउवाले अधिकतर केन्द्रीय सदस्यलाई व्यवस्थापन गर्ने नाममा विभागको संख्यासमेत बढाएका छन् । विधानमा २८ विभागको व्यवस्था भए पनि पुस ११ मा संस्थापनइतर पक्षीय नेताको बहिष्कारबीच बसेको केन्द्रीय कार्यसमिति बैठकले संख्या थपेर ४७ पुर्‍याएको थियो ।

प्रकाशित : फाल्गुन १७, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?