कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काेराेनाका कारण सुस्ताए चिनियाँ जिम्माका आयोजना

नयाँ वर्ष मनाउन चीन गएका कामदार नफर्किंदा आयोजनाहरूको कामले गति लिन नसकेको हो
विमल खतिवडा

काठमाडौँ — चिनियाँ कम्पनीले जिम्मा लिएर निर्माणाधीन सडक र जलविद्युत् आयोजनामा कामदार अभावले निर्माणको काम प्रभावित बनेको छ । नयाँ वर्ष मनाउन चीन गएका कामदार नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण अहिलेसम्म फर्कन सकेका छैनन् । उनीहरू नआएपछि आयोजनाहरूको काम ठप्पप्रायः छ ।

काेराेनाका कारण सुस्ताए चिनियाँ जिम्माका आयोजना

यसको सबैभन्दा बढी समस्या नारायणगढ–बुटवल सडकखण्डमा देखिएको छ । गत चैतबाट निर्माण सुरु भएको यो आयोजना दुई प्याकेजमा काम भइरहेको छ । दुवैतिर गरी ४० जना चिनियाँ काम गरिरहेका छन् । तीमध्ये १५ जना दुई महिनादेखि चीनमै रोकिएका छन् । दुवै ठेक्काका इन्चार्ज उतै बसेपछि काममा समस्या भएको आयोजनाले जनाएको छ । जनवरीमा नयाँ वर्ष मनाउन टोली चीन गएको र त्यही बेला कोभिड–१९ देखिएपछि समस्या भएको नारायणगढ–दाउन्ने सडकखण्डका प्रमुख सुजन अधिकारीले बताए ।


दुवै खण्डका इन्चार्ज मिस्टर लिन हुङ ताओ चीनमै छन् । ‘निर्णय गर्ने तहका व्यक्ति नहुँदा समस्या भएको हो,’ अधिकारीले भने, ‘जसले गर्दा काम प्रभावित बनेको छ ।’ कामै भने नरोकिएको उनले दाबी गरे । ‘अहिले रुख काट्ने काम भइरहेको छ,’ उनले भने, ‘यसमा त्यति प्रभाव परेको छैन । माटो भर्ने, कल्भर्ट बनाउने, पुल र अन्य संरचना निर्माण गर्ने काम भने प्रभावित छ ।’ काम भए पनि जुन गतिमा हुनुपर्ने थियो, त्यो गतिमा हुन सकेको छैन । ‘यो कामले गति लिनुपर्ने समय हो,’ अधिकारीले भने । १५ जनामध्ये इन्चार्जसहित पाँच जना नेपाल आउने तयारीमा रहेको अधिकारीले बताए ।


‘उनीहरूलाई ल्याउन के गर्न सकिन्छ भनेर स्वास्थ्य मन्त्रालयसँग आग्रह गर्‍यौं,’ उनले भने, ‘यसबारे उनीहरू आफैं पनि सचेत छन् ।’ नेपाल आउने तयारी गरेका उनीहरू आएर १४ दिन ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नेछन् । ‘अपार्टमेन्टमा छुट्टै बस्ने तयारी गरेका छन्,’ उनले भने । सडक विभागअन्तर्गतको एसियाली विकास बैंक (एडीबी) सडक निर्देशनालयले चाइना स्टेट कन्स्ट्रक्सनसँग माघ २४ मा ठेक्का सम्झौता गरेको थियो । ३२ वर्षका लागि एडीबीको ऋण सहयोगमा सडक निर्माण सुरु भएको हो । निर्माणको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९५ हजार रुपैयाँ छ । यसमा ८५ प्रतिशत रकम १ दशमलव ५ प्रतिशत ब्याजदरमा एडीबीले ऋण दिएको हो । थप खर्च नेपाल सरकारकै हुनेछ । सडक चार लेनको हुनेछ । यसको लम्बाइ १ सय १३ किमि छ ।


चीन सरकारको अनुदानमा निर्माणाधीन १६ किमि रसुवागढी–स्याफ्रुबेंसी सडक निर्माणमा पनि समस्या परेको सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए । ‘नयाँ वर्ष मनाउन गएका चिनियाँ कन्ट्र्याक्टर फर्किएका छैनन्,’ उनले भने । काठमाडौं चक्रपथको पूर्वसम्भाव्यता अध्ययन (डीपीआर) का लागि चिनियाँ टोली नआउँदा पनि काम नभएको उनको भनाइ छ । ‘उनीहरूले पहिला साइट क्लियर गर्न भनेका छन्, त्यो काम भने भइरहेको छ,’ सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले भने । कोरोनाले गर्दा आउन नसकेको भन्दै उनीहरूले म्यासेज पठाउने गरेको विभागले जनाएको छ ।


चिनियाँ कामदार आउन नसक्दा विद्युत् आयोजनाको काम प्रायः ठप्प छ । दोलखा र रामेछापको सीमामा निर्माणाधीन ४८.२ मेगावाटको खिम्ती–२ तथा रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाको काम चिनियाँ कामदार नआउँदा रोकिएको छ । खिम्ती–२ पिपल्स इनर्जी लिमिटेड र लाङटाङ मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेका छन् । दुवै आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना वाटर टर्बाइन वर्क्स (सीडब्लूटीडब्लू) ले लिएको छ । चीनबाट कामदार नफर्किएकै कारण यी दुवै आयोजनाका काम अघि बढ्न नसकेको कम्पनी म्यानेजर रामहरि शर्माले बताए । ‘ठेकेदार कम्पनी सम्पर्कमै छन्,’ शर्माले भने ।


मुलुकभर निर्माणाधीन आयोजनामध्ये चीनले निर्माण गरिरहेकामा बढी असर परेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताए ।



प्रकाशित : फाल्गुन १६, २०७६ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?