कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१० लाख लिएर हुन्डी कारोबारी छाड्ने प्रहरी पक्राउ

भूषण यादव

वीरगन्ज — दश लाख रुपैयाँ लिएर भारतीय हुन्डी कारोबारीलाई छाड्‍ने एक प्रहरी सहायक निरीक्षक (असई) सहित दुई जना प्रहरीलाई पक्राउ गरी पर्सा प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ । 

१० लाख लिएर हुन्डी कारोबारी छाड्ने प्रहरी पक्राउ

वीरगन्ज महानगरपालिका १६ इनर्वा चौकीका प्रमुख असई पूर्ण बहादुर तमाङ, प्रहरी हवल्दार विष्णुदयाल चौधरी र सिपाही राजकुमार गुरुङलाई प्रहरीले बिहीबार थप अनुसन्धानका लागि अख्तियारको टोलीलाई बुझाएको हो । सूचना दिने प्रहरी जवान अवधेश रायलाई समेत अख्तियारको टोलीले सोधपुछका लागि हेटौंडा लगेको छ । राय लागुऔषध विभागमा कार्यरत छन् ।


गत फागुन ८ मा सीमावर्ती भारतीय बजार रक्सौलबाट २० लाख रुपैयाँ लिएर वीरगन्जतर्फ आइरहेका दुई जना भारतीयलाई सूचनाको आधारमा प्रहरी हवल्दार विष्णुदयाल चौधरीले वीरगन्जको नगवा क्षेत्रबाट नियन्त्रणमा लिएका थिए । चौधरीले तत्काल चौकी प्रमुख असई पूर्णबहादुर तमाङलाई अवैध रकम २० लाखसहित दुई जनालाई नियन्त्रणमा लिएको जाहेर गरे । असई तमाङले उनलाई कार्यालयमा नबोलाई चौकीको पूर्वपट्टि इनर्वा गाउँबाहिर रहेको भुटनदेवी मन्दिरमा बोलाए । हवल्दार चौधरी असईले बोलाएको ठाउँमा पुगेपछि असईले हुन्डीबारे कसैलाई जानकारी नगराउन आदेश दिए । प्रहरी स्रोतका अनुसार असई तमाङले बिदामा बसेका प्रहरी जवान राजकुमार गुरुङलाई फोन गरी हुन्डीको रकमसहित दुईजना पक्राउ परेकाले यसलाई कसरी ‘डिल’ गर्ने विषयमा सल्लाह गरेका थिए । प्रहरी जवान गुरुङले भुटनदेवी मन्दिरमा एकजना ‘मिडियटर’ पठाइदिए । त्यसबेलासम्म रकमसहित पक्राउ परेका भारतीयलाई प्रहरीले बाँधेर खेतमा राखेको थियो ।


‘मिडिएटर’ले कुरा मिलाएपछि असई तमाङले भारतीय हुन्डी कारोबारीलाई पैसासहित छाडिदिए । ‘२० लाख रुपैयाँमध्ये १० लाख असईको टोलीले राख्ने र बाँकी हुन्डी कारोबारीलाई दिएर छाडिदिनेमा सहमति भएको देखिन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक प्रहरी अधिकृतले भने । यो सबै दृश्य प्रहरी जवान अवधेश रायले समेत देखिरहेका थिए । रायलाई चुप लगाउन असई तमाङले १ लाख २५ हजार रुपैयाँ दिएका थिए । ५ दिनपछि राय उक्त पैसा लिएर लिखित निवेदनसहित जिल्ला प्रहरी कार्यालय पुगे । ‘असई साहेबले मलाई के कारणले यति धेरै पैसा दिनुभयो ? मलाई थाहा छैन् । यसबारे अनुसन्धान गरी पाउँ,’ भन्ने व्यहोराको निवेदन आएपछि प्रहरीले हुन्डी कारोबारी नियन्त्रणमा लिने प्रहरी हवल्दार विष्णु दयाल चौधरीसँग बयान लियो । ‘मैले २० लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएर असई साहेबलाई बुझाएको हुँ,’ चौधरीको बयान उद्धृत गर्दै अनुसन्धान अधिकृतले भने, ‘त्यही साँझ असई साहेबले मलाई एक लाख १० हजार रुपैयाँ दिएका थिए ।’


त्यसपछि जिल्ला प्रहरीको टोलीले असई तमाङसँग बयान लिएको थियो । अनुसन्धानको क्रममा असई तमाङले पैसा लिएको स्वीकारेका छन् । ‘असई तमाङले दिएको बयानकै आधारमा मुरली चोकमा रहेको उनको कोठाबाट ४ लाख रुपैयाँ बरामद भएको थियो,’ ती प्रहरी अधिकृत भन्छन्, ‘१० लाख रुपैयाँ लिएर दुई जनालाई छाडिएको उनले स्वीकारेका छन् ।’ असई तमाङले १० लाख रुपैयाँ लिएको बयान दिए पनि प्रहरी अधिकृतले २० लाख रुपैयाँ नै लिएको हुन सक्ने आशंका गरेका छन् । जानकारका अनुसार अवैध २० लाख रुपैयाँसहित मुद्दा चलाउँदा भारतीय नागरिकको हकमा अदालतले प्रायः धरौटी खोल्दैन । ‘धरोटी खोले पनि बरामद रकमको दोब्बर धरौटी माग गर्छ,’ मुद्दा फाँटका एक प्रहरीले भने, ‘थुनछेक बहसमा धरौटी बुझाउन नसकेपछि पुर्पक्षका लागि कारागार बस्नुपर्छ । १५/१६ दिन प्रहरीको थुनुवामा र रिहा हुनका लागि थप ३५/४० लाख रुपैयाँको जोहो गर्नुपर्ने भएकाले हुन्डी कारोबारीले घटनास्थलमा बरामद भएका रकम दिएर छुटकारा पाउन प्रयास गर्छन् ।’


प्रहरी प्रवक्ता डीएसपी विरेन्द्रबहादुर शाहीले भ्रष्टचारजन्य कारोबार गरेको देखिएपछि थप अनुसन्धानका लागि असई, प्रहरी हवल्दार, प्रहरी जवानद्वयलाई हेटौंडास्थित अख्तियारको कार्यालयमा पठाएको बताए । ‘प्रहरीको लागुऔषध विभागमा कार्यरत प्रहरी जवानले दिएको निवेदनको आधारमा छानबिन गर्दा हुन्डी कारोबारीलाई छाड्न असईको टोलीले पैसा लिएको देखियो,’ डीएसपी शाहीले भने, ‘थप कारबाही र अनुसन्धानका लागि अख्तियार पठाएका छौँ ।’


असई पूर्णबहादुर तमाङ र प्रहरी जवान राजकुमार गुरुङ यसअघि पर्सा प्रहरीको क्राइम ब्रान्च टोलीमा थिए । तत्कालीन प्रहरी उपरीक्षक सोमेन्द सिंह राठौरको गत माघ अन्तिम साता पर्साबाट सरुवा भएपछि उनले माघ २३ मा असई तमाङ र प्रहरी जवान गुरुङलाई इनर्वा चौकीमा सरुवा गरेका थिए ।


जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्‍च प्रहरी निरीक्षकको नेतृत्वमा रहँदै आएकोमा एसपी राठौरले ८ महिने कार्यकालमा आफ्ना विश्वासपात्र प्रहरी नायब निरीक्षक (सई) विदुर सिवाकोटीलाई क्राइम ब्रान्‍च प्रमुख बनाएका थिए । काजमा यहाँ आएका सई सिवाकोटी विवादास्पद बन्दै गएपछि माघ ३ गते उनको काज फिर्ता भएको थियो । प्रहरी स्रोतका अनुसार क्राइम ब्रान्‍चमा रहँदा असई तमाङले अवैध कारोबारीसँगको ‘नेक्सस’मा आइसकेका थिए । त्यसैको फाइदा उठाएर उनले १० लाख रुपैयाँको मिलेमतोमा हुन्डी कारोबारीलाई छाडे । असई तमाङले बयानको क्रममा क्राइम ब्रान्चमा सई सिवाकोटी हुँदा वीरगन्जको एक पेट्रोल पम्पबाट चरेससहित पक्राउ परेका कारोबारीलाई कार्यालयमा ल्याएर १७ लाख रुपैयाँको डिलपछि छाडिएको खुलाएका छन् ।

प्रकाशित : फाल्गुन १६, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?