कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मास्कमा मनपरी गर्नेलाई छैन नियमन

खुद्रामा प्रतिगोटा ५ र १० रुपैयाँमा पाइने साधारण मास्क अहिले उपभोक्ताले २५ र ३० रुपैयाँमा खरिद गरिरहेका छन्
नुमा थाम्सुहाङ

काठमाडौँ — बालाजु काभ्रेस्थलीकी कमला थापाले आठ थान साधारण पेपर मास्क किनिन् । यसका लागि उनले २ सय रुपैयाँ तिरिन् ।

मास्कमा मनपरी गर्नेलाई छैन नियमन

तर करिब एक महिनाअघि भने उनले त्यति नै परिमाणको मास्क ४० रुपैयाँमा किनेकी थिइन् । अहिले उनले प्रतिगोटा २० रुपैयाँ बढी तिर्नुपर्‍यो । फार्मेसीमा पेपर मास्क नपाएपछि फुटपाथ पसलबाट किनेको उनको भनाइ छ ।


‘अरू बेला प्रतिगोटा ५ रुपैयाँमा मास्क किनिन्थ्यो । अहिले त्यसलाई २५ रुपैयाँ तिर्नुपर्‍यो,’ उनले भनिन् । खुद्रामा प्रतिगोटा ५ र १० रुपैयाँमा पाइने साधरण मास्क अहिले उपभोक्ताले २५ देखि ३० रुपैयाँसम्म तिर्नुपरेको छ । मास्कको सटेज हुन थालेदेखि केही फार्मेसीले बिक्री नगरेको र केहीले थोक मूल्य नै बढेर आएपछि त्यहीअनुसार बिक्री गरेको बताएका छन् । महिना दिनदेखि मास्क बेच्न छोडिसकेको न्युरोड गेटस्थित न्युरोड फार्मेसीका सञ्चालक मन्दिर श्रेष्ठले बताए । अहिले पेपर मास्क छाडी कपडाको मास्क बिक्री गरिरहेको उनले सुनाए ।


‘नेपाली उद्योगले बनाएका कपडाको कटन मास्क प्रतिगोटा १ सय रुपैयाँमा बिक्री गर्दै छौं,’ उनी भन्छन्, ‘पहिला तीन तहको फिल्टर भएको मास्क ५ रुपैयाँ र ४ तहको फिल्ट र भएको १० रुपैयाँमा बिक्री गर्थ्यौं ।’ कोरोना भाइरसको संक्रमणले मास्क सटेज हुन थालेयता माग बढे पनि महँगोमा बिक्री नगरेको उनको भनाइ छ । अहिले दिनमा एक सयभन्दा बढी ग्राहक मास्क किन्न आउने गरेको उनले बताए ।


त्रिपुरेश्वरमा सर्जिकल स्टोर सञ्चालन गरिरहेका व्यवसायीले होलसेलमै १ डब्बा मास्कको मूल्य नै १७ सय रुपैयाँ पर्ने बताए । ‘एक डब्बामा ५० थान मास्क हुन्छ, हामीलाई त्यसको १७ सयदेखि २ हजार रुपैयाँसम्म पर्छ । त्यसैले खुलामा ३० रुपैयाँमा बिक्री गरिरहेका छौं । मास्क सटेज हुनुअघि एक डब्बाको १ सय २० देखि १ सय ४० रुपैयाँ पर्थ्यो । अहिले लगभग १४ गुना बढेको छ ।’


स्थानीय बजारमा मास्कको सटेज रहेको उनलेल बताए । पहिला चिनियाँले मास्क उठाएर लगे अहिले हामीलाई उनीहरूले नै दोब्बर नाफा राखेर बिक्री गरिरहेका छन् । हामीले पनि त्यति बेला प्रतिडब्बा ६ सय रुपैयाँमा बिक्री गर्‍यौं । अहिले त्यसको परिणामा देखिएको छ । चीनमा देखिएको कोरोना भाइरस कारण दुई महिनायता नेपाली बजारमा ‘एन्टी फिल्टर मास्क’ को माग बढ्दो छ ।

नेपाली बजारमा भाइरस फिल्टर गर्ने मास्क ‘एन–९५’ मास्क २ महिनाअघि नै सटेज भएको केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसनका अध्यक्ष सुरेश घिमिरले बताएका थिए । तर अहिले बजारमा साधारण मास्कसमेत सजिलै पाइँदैन ।


बाहिर बजारमा फुटपाथमा मास्क बिक्री गरिरहेका र फार्मेसीले बिक्री गर्ने एउटै मास्कको मूल्य भिन्नाभिन्नै भेटिएको छ । सुन्धाराको फुटपाथमा मास्क बिक्री गर्ने एक व्यापारीले भने १० थान भएको मास्कको प्याकेटकै २ सय ४० रुपैयाँ पर्ने बताइन् । त्यसैले २५ रुपैयाँमा बिक्री गर्नुपरेको उनको भनाइ छ । त्यही मास्क न्युरोडको एक फार्मेसीले भने प्रतिगोटा ३० रुपैयाँ र प्याकेटको ३ सय रुपैयाँमा बेचिरहेको जनाएको छ ।


मेडिकल संघका अध्यक्ष सुरेश घिमिरेले पनि लागत महँगो पर्न गएकाले व्यवसायीले त्यहीअनुसार बिक्री गरेको बताए । ‘बाहिर फुटपाथमा कतिमा बिक्री गर्छन्, थाहा भएन,’ उनले भने, ‘सर्जिकल र मेडिकल व्यवसायीले भने पहिलाको मार्जिन राखेर नै बिक्री गरिरहेका छन् । लागत बढी भएर मात्र बिक्री मूल्य बढेको हो ।’ बाहिर बजारमा मास्कको मूल्यमा देखिएको भिन्नताबारे सरकारले अनुगमन गर्नुपर्ने उपभोक्ता बताउँछन् ।


बजारमा मास्क अभाव देखिएपछि मेडिकल स्टोरमा अनुगमन गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । ‘क्षेत्रपाटी, बालाजु र त्रिपुरेश्वरका ३० मेडिकल स्टोरमा अनुगमन गरेका थियौं,’ उनले भने, ‘त्यसमा मास्कको मूल्य २/३ थरी पायौं ।’ खरिद र बिक्री मूल्यको अन्तर देखिएपछि केहीलाई कारबाहीसमेत गरिएको उनले दाबी गरे ।


खरिदबिक्रीको विवरण नभेटिएकालाई १ लाख रुपैयाँ नगद जरिवाना गरिएको उनको भनाइ छ । मास्कसम्बन्धी अनिमियतता देखिएको छ । अब फेरि अनुगमन गर्ने तयारीमा रहेको उनले जानकारी दिएका छन् ।

प्रकाशित : फाल्गुन १५, २०७६ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×